Tuesday, May 21, 2024
घरविचारधर्म संस्कृतिस्वस्थानी पर्व (सबैले शेयर गरौं)

स्वस्थानी पर्व (सबैले शेयर गरौं)

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने स्वस्थानी पर्व एक महिनासम्म मनाइन्छ। स्वस्थानी परमेश्वरीको व्रत बस्नेहरूले पौष शुक्ल पूर्णिमाका दिनबाट हात-गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर नित्य मध्याह्नकालमा महादेवको पूजा गर्नुपर्दछ। त्यसैगरी प्रत्येक साँझ स्वस्थानी व्रतकथा पाठ एवम् श्रवण गर्नुपर्दछ।

यसरी एक महिनासम्म नित्य महादेवको पूजा र स्वस्थानी पाठ गरिसकेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ कुश, १०८ चामलका रोटी, १०८ अक्षता, विभिन्न थरिका फलफूल, धूप, दीप, नैवेद्य, कस्तूरी, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र भेटी चढाउनुपर्दछ।

उनै देवीसँग ती सबै मनोकामना पूर्ण होऊन् भनेर आफ्ना पतिलाई खान दिनुभए सारै राम्रो हुनेछ। यदि पति नभए छोरालाई, छोरा नभए मितछोरालाई, मितछोरा पनि नभए जुन कामनाले व्रत बस्नुभएको हो त्यो कामना पूर्ण होस् भनी गङ्गामा लगेर बगाइदिनुपर्दछ। सय रोटी चाहिँ आफैले फलाहार गरी रातभर जाग्राम बस्नुपर्दछ र उनै देवीको महिमा सुन्नु, सुनाउनुपर्दछ। त्यसो गरेमा व्रत बस्नेहरूको मनोकाङ्क्षा पूर्ण हुन्छ भन्ने जनविश्वास रहेको छ।

यस प्रकार सबैको मनोकाङ्क्षा पूर्ण गरिदिने स्वस्थानी परमेश्वरीको हिन्दुहरूले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म व्रत बसी पूजा आराधना गर्दछन् र कथा श्रवण गर्दछन्। माघ शुक्ल पूर्णिमाका दिन काठमाडौँको साँखुस्थित शाली नदीमा स्नान गरी व्रत समापन गरिन्छ। उक्त स्थानमा यो पर्वभरि नै मेला लाग्दछ। माघ शुक्ल पूर्णिमाका दिन त त्यहाँ दर्शनार्थीहरूको घुइँचो नै लाग्दछ र खुट्टा राख्ने ठाउँ समेत हुँदैन। शाली नदीमा स्नान गर्न देशविदेशबाट श्रद्धालु भक्तजनको ओइरो लाग्दछ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ। तसर्थ आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। आफू रहेको स्थान छाडी अन्यत्रका देवी-देवताको पूजा गर्नु त्यति राम्रो नमानिए तापनि स्वस्थानी देवीको पूजापाठ र आराधना गर्नाले मनोकामना पूर्ण हुन्छ भन्ने जनविश्वास रहेको छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारिणी, प्रसन्न मुद्रा भएकी, कमलको सिंहासनमा बसेकी, चार हात भएकी भनी स्वस्थानी देवीको वर्णन गरिएको छ। उनले एक हातमा नीलकमल, एक हातमा खड्ग, एक हातमा ढाल र एक हातमा वृषध्वज लिएकी हुन्छिन्।

स्वस्थानीको व्रतकथामा भएबमोजिम विधिपूर्वक व्रत बसी पूजा गरेमा विछोड भएका जोडीहरूको पूर्ण मिलन हुन्छ, रॊग-व्याध लागेका व्यक्तिहरूको रोग निको हुन्छ, पति-पत्नीबीच केही अप्ठ्यारा पक्षहरू छन् भने पति-पत्नीको प्राप्ति र मनोकामना पूर्ण हुन्छ। पार्वतीले महादेवलाई पति पाऊँ भनी स्वस्थानी परमेश्वरीको व्रत बसी पूजा आराधना गरेका कारणले महादेव पति पाएको व्याख्या गरिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -