-जय प्रकाश गुरागाईं
कान्तिपुरको एक हप्ताको सनातन संस्कृति माथिको मनगढन्ते विरोधका लेखहरू पढ्दा प्रतिक्रिया नलेखीरहन सकिएन । यो लेख त्यही रोइलोमाथिको असहमती हो ।
असार २२, मृत्युसंस्कारमा परिस्कार । लेखिका रामेश्वरी पन्त । ‘किरिया बस्ता जवर्जस्ती घिउ र भात खानुपर्ने, किरिया बस्न सक्दिन भन्न नपाइने’ ।
यो आरोपमा आरोप मात्र हो । टन्न फलफूल खाए हुन्छ, सादा तरकारी पनि खानेहरू छन् , जवर्जस्ती घिउ कसले खुवायो? रोगी र असक्तहरूले जबर्जस्ति किरिया बस्नै मिल्दैन ।
‘पास्कर गुह्यसूत्रमा पनि पिण्डदान तीन दिन मात्र हुने उल्लेख पाइन्छ’ – पास्कर गुह्यसूत्र नामको कुनै ग्रन्थ छैन । भएको पारस्कर गृहसूत्र हो । उल्लेख पाउनेले सूत्र उल्लेख गर्न पर्दैन?
‘कुनै शास्त्रले पनि छोरिलाई किरिया गर्न रोकेको छैन ।’
हो रोकेको नहोला तर छोरीलाई किरियागर्न हुन्छ भन्ने उल्लेख कतै छ? अनि कठोर र तेह्रदिन लामो भो भनिसकेपछी छोरीलाई त्यो दण्ड किन ? फेरि ‘उनीहरुले कुनै नौलो काम गएका होइनन्’ भनेपछि ‘संस्कारलाई सरक्क पञ्छाएर’ भन्दा आफ्नै तर्कले धोती लगाएन ?
‘स्वर्गको ढोकाको चर्चा हुने भए पनि आजसम्म कसैले देखेको छैन’ – भन्नाले गरिएका कर्मको परिमाणमा पटक्कै विश्वास छैन । अनि तेह्र दिन भएन । घिउ खान भएन भन्नुको अर्थ रह्यो? नजाने गाउँको बाटोको सोधिखोजी जस्तो भएन र ? ‘ हिन्दु धर्म बैज्ञानिक हुँदाहुँदै कठोर छ’ बैज्ञानिक भए त्यो कठोरतामा धर्मको के दोष ?
समग्रमा हेर्दा लेख संस्कार जोगाउने नियतलेे भन्दा पनि कथित क्रान्तिकारी या आधुनिक देखिने रहरले लेखिएको मात्र देखिञ्छ ।
असार २३, राज्यव्यवस्था हिन्दुधर्म र दलित । लेखक रोहित खपांगी ।लेखकको आसय ‘हिन्दुधर्म भित्र मात्र शुद्र व्यवस्था छ, हिन्दु भएकैले दलित हुनुपरेको हो’ तर यथार्थमा दलित शब्द दलितकै मसिहा मानिने अम्बेड्करको हो, हिन्दु शास्त्रको होइन । शुद्र हिन्दु व्यवस्थामा मात्र हुञ्छ तर जातीव्यवस्था युरोपमा पनि थियो र छ( हेर्नुस असहमति, सौरभ)
‘दलितले हिन्दु धर्म चटक्कै त्याग्नुपर्छ’ । यहाँनेर लेखकीय आसय छर्लङ्ग हुञ्छ । लेखक आफैमा फिरङ्गीको कारिन्दा भएको र डलरकोलागि लेखेको प्रष्ट हुञ्छ ।
आत्मघाती दलित आन्दोलन जस्तै मन्दिर प्रवेश, जनै धारण र गुरुकुलमा संस्कृत पढ्न पाउनुपर्ने माग त्याग्नुपर्छ’ दलितहरूले यथार्थ ज्ञान नपाउन् र इसाई बनाउन सजिलो होस् भन्ने मनसाय देखिन्न ?
‘काभ्रेकि लक्ष्मी परियारलाई बोक्सी बनाई हत्या गरियो’ लेखाई अनुसार बोक्सी भनेर मारियो न कि दलित । यो बोक्सी बनाउने कुनै सनातन( हिन्दु, बौद्ध, जैन, किरात, बोन आदि)को प्रथा होइन ।यो युरोपमा चर्चको प्रथा भारतमा अङ्ग्रेजसंगै आयो र नेपाल भित्रियो ।
‘हिन्दुको बिरोध गरेकोले भारतमा गौरी लङ्केश हिन्दुहरूबाट मारिनुभयो’ भारतीय प्रतिवेदन भन्दा पनि अघि बढेर हिन्दुले मारेको भनिदिने? अनि मारिनै पर्ने गरि हिन्दुको बिरोध चै किन गर्नु पर्या? बताउनुपर्दैन ?
‘दलितको दुश्मन अरू होइन हिन्दु धर्म हो’ । यति भनेपछि लेखक खाँट्टि ईसाई भएको खुल्छ तर यतिबिध्न घृणाले भरिएको लेख छपाउनु पर्ने कान्तिपुरको बाध्यता के हो ?
असार ३१, नमस्कारको संस्कार । लेखिका प्रभा कैनी ।
‘ हवाई जाँदा मैले सिकें’ – समस्या नै त्यहीँ छ । बाहिर सिकेको नेपालमा लागू हुनै पर्छ । नेपालमा केही सिक्नु पर्दैन ? नेपालको संस्कारको बारेमा निष्पट्ट भएर हुञ्छ ?
‘ केही वर्ष पहिले ससुराको देहान्त हुँदा मैले आगन्तुकलाई नमस्कार भनेर स्वागत गर्ने चेष्टा गरें’ – जे गर्नु’ भो ठिक गर्नुभएन । ती आगन्तुक तपाईका अतिथी थिएनन् स्वागत गर्नुपर्ने । तपाईलाई समवेदना दिन आएका ।स्वागत गरि गरि समवेदना लिनखोज्नु तपाईंको गल्ती थिएन ?
नमस्कार भन्ने कुरा होइन, गुडमर्निङ जस्तो । यो गर्ने कुरा हो । नमस्ते अर्थात उ भित्रको आत्माको नमन अझ भनौं भावनात्मक पूजन । आसौचमा त्यो पनि सवैभन्दा नजिकको आफन्तको मृत्युहुँदा मनै देखि खुसी हुन सक्किन्न त्यसैले औपचारिकताको लागि मात्र नमस्कार किन गर्ने ?
‘डा. मधु र उनका छोरीहरू डसनामा सुतेका छन् , अरुले पकाएको खाएका छन् , अरुलाई छोएका छन्, त्यो देखेर खुसी लाग्यो’ । तपाईलाई जरूर खुसी लाग्यो होला प्रभाजी तर तपाईको चाहना, आसय र संस्कारप्रतिको धारणा देख्ता दु:ख लाग्यो ।
तपाईं जेएनयुको प्रोडक्ट हो भने थाहै छ । तपाईबाट समाजले पाउने भनेकै विवाद, संस्कृतिको अपमान र पश्चिमा प्रतिमान हो । बाबुराम, हरि रोक्का आदिले तपाईको अभाव पुर्ती गरेकै थिए ।
यो त प्रतिनिधि लेखहरूको समिक्षा मात्र हो । लगातारको हमला त गनिसाध्य छैन ।