-स्वयम्भुनाथ कार्की
वेलावेलामा नेपालका राजावादीहरुलाई ज्वरो आउने गर्दछ । यस्तो ज्वरो मौसमी नै हुने गर्दछ । यसका निमित्त पाखा लगाईएका राजाको केही गतिविधि देखिनु पर्दछ वा अन्य कुनै छनकले राजसंस्थाको संभावना देखिनु पर्दछ ।
उनको स्वदेश भ्रमण होस वा विदेश संभावनाको आशामा राजावादीहरुको तापाक्रम बढने गर्दछ । अझ कुनै विदेशी वा स्वदेशी गणतन्त्रे नेताले नेपालमा राजसंस्थाको उल्लेख मात्र गरिदिनु पर्दछ , एकाएक मुलफुटे झै ह्वालह्वाल्ती राजभक्ति निस्कन थाल्छ ।
अनि त्यसले अरु अवस्थामा प्रयत्नपुर्वक कायम राखेको राष्ट्रवादी एकतामा नै प्रहार गर्दछ । त्यो पनि एकताको नाममा , “अहिले नभए कहिले” ,” देशले रगत मागेको छ” ,” क्रान्ति चाहिएको छ” आदि भन्दै ।
राजाको नेतृत्वमा कामगर्ने बानी भएका पुरानाहरु बिजुली काटिएका तार झै अआफ्नो स्थानमा छन । कुनै न कुनै वेला बिजुली पुन आउने आशामा । यस्तोमा युवा जोशको दुहाई दिदै उग्रकुरा गर्दै आउनेहरु मार्फत नै त्यो धार आयो की भनेर झुम्मिन्छन ।
अरु सबैलाई गाली गर्दै आफैमात्र योग्य हौ भनेर उग्र कुरा गर्नेहरुसंग गुदी भने केही हुन्न । न कुनै कार्य योजना न कुनै लगन न संगठन क्षमता नै । उनीहरुले संगठन गर्ने भनेको जो पहिले नै राजसंस्था प्रति समर्पित छन तीनैलाई उग्र कुरा सुनाउने मात्र हो ।
उनीहरुलाई आफ्नो नेतृत्वमा एकपटक १० मिनेट भए पनि सडकमा उतारेर समाचारमा आउने मात्र हो ।
राप्रपा प्रजातीहरुको दल एकता गर्दा सिद्धान्तको कुरो पछि टुँग्याउने भनेका थिए । बिना सिद्धान्त समुह हुन्न भिडमात्र हुन्छ जो अनियंत्रित हुन्छ एकाकार गरेर राख्न संभव हुन्न भनियो तर मानेनन ।
फलतः एकिकरण र टुक्रिकरणको दुष्चक्रमा अल्झेर धुलो चाट्दैछ । अव फेरी उठला नउठला अन्यौल नै छ ।
यो शास्वत सत्य हो तर यो सत्य देख्न नसक्ने राजावादीहरु पहिले संगठित पछि हुन जतापनि लाम लाग्छन भने त्यो दुर्भाग्य हो ।
तिनै केही हजार अनुहारहरु मध्ये कोहीलाई गाली गर्दै कोहीलाई पुच्कार्दै नेपथ्यबाट कोही आँउछ अनि आगो ओकल्ने कुरा गर्दछ । यस्ता कुराले केही भईहाल्ला कि भनेर बन्दै गरेको सहकार्यको वातावरण लत्याएर पछि लग्नु नै भ्यागुताको धार्नी नपुग्नु हो ।
यस्ता मौसमी उपक्रमहरु केही हप्तामा नै शिथिल हुने गर्दछन । उग्रककुरा गर्नेहरु राजासंग दर्शनभेट नपाएको झ्वाकमा सचिवहरु प्रति आक्रमण गर्दछन । पहिले राजाको नजरमा चढेका तर वर्तमानमा त्यो विगत नपाएकाहरु यस्ता उग्रको कुरामा आउने गर्दछन ।
जसरी भए पनि काम गरेको देखियोस भन्ने उनीहरुको सोच नराम्रो पटक्कै होईन ।
तर काम भनेको के हो त ?
घोक्रो फुटुन्जेल गणतन्त्रे नेतालाई गाली गर्नु ?
सडकमा , चोकमा गल्लीमा उग्र भाषण गर्नु ?
कि अर्कौ राष्ट्रवादीको मोरो काढ्नु ?
यो प्रश्नको उत्तर नेपथ्यबाट आएर आफुलाई सुनाएको उग्र कुराले प्रभावित हुने व्यक्तित्वहरुले सोच्नु पर्दछ कि पर्दैन ?
विना सिद्धान्तको समुह , बिना कार्यनीतिको अभियान वा क्रान्ति अनि केवल अर्कालाई गाली चर्को गाली गर्दै आउनेको पछि लाग्नु भन्दा पहिले त्यसको क्षमता त्यसको विगत जान्नु पर्दैन ?
के यस्ता उग्रहरुले समर्थनमा रहेकाहरु मध्येबाट फुटाएर ल्याउन बाहेक अरु कसैलाई जोड्ने ल्याकत राख्छन ?
अर्कालाई गाली गलौज गर्ने नै काम हो भने रत्नपार्कको मुकुन्दे सर्वश्रेष्ट हैन र ?
कुनै वेलामा मुलुकमा महत्वपुर्ण काममा रहेकाहरुलाई पनि यस्तो मौसमी ज्वरोले आक्रन्त पार्छ भने राजाले कस्को भरोसामा कदम चाल्ने ?
राष्ट्रवादीहरु उग्र हुनुहुन्न, असभ्य हुनुहुन्न , हिंसक हुनुहुन्न ।
यो राजा महेन्द्रले प्रतिपादित गरेको कुरा हो ।
राष्ट्रवादीहरु निडर हुनुपर्छ , निर्भिक हुनु पर्छ , व्यक्तिपुजक हैन गुण र दोषको आधारमा मुल्यांकन गर्ने हुनुपर्दछ ।
अनि राष्ट्रवादीले जनता रिझएर शक्ति श्रोत बटुल्नु पर्दछ । यो पनि उनैले प्रयोगमा ल्याएका कुराहरु हुन ।
आफ्नो कुरा मानेन भने मार्न समेत पछि नपर्नेहरुको सिको गरेको नेपाली राजतन्त्रले स्विकार गर्ला ? जो केही जनताको ज्यान जाँदैमा श्रीपेच र गद्धि बुझाउन तैयार भयो ?
त्यसैले नेपथ्यबाट मौसमी ज्वरो लिएर आउनेहरुबाट बिचलित नभई मिल्ने कुराहरुमा सहकार्य गर्नु नै आजको आवश्यकता हो । किनभने राष्ट्रवाद या राजावाद एक दलमा समेट्न सकिने विचार नै हैन । यो त विविधतामा एकता भेटेर काम गर्ने विचार हो । आफ्नो कुरा मानेन भनेर गाली गलौजमा उत्रने , आफ्नो मात्र कुरा सुनाउने अरुको कुरा सुन्न समय नहुने कुनै पनि छलफलले राष्ट्रवादको मान्यता पालन गरेको हुन्न ।
अरु वादका अनुयायीहरुको न्यूनता योग्यता भाषण हो भने राष्ट्रवादको योग्यता जनसम्पर्क हो भाषण जान्नु आवश्यक छैन ।
त्यसै पनि अव जनता भाषणले प्रभावित हुन्नन कामले प्रभावित हुन्छन । जनता रिझाउन समान विचारकाहरु भेला गरेर गोष्ठी गर्न आवश्यक छैन जनताको बीचमा जान आवश्यक छ ।
जो जनतामा नगई छोटोबाटो खोज्छ त्यो नाममात्रको राष्ट्रवादी हो ।
विराटनगर १
२०७५।२।२१
गोरखा एक्सप्रेस