– स्वयम्भुनाथ कार्की
विस्तारै विस्तारै दश बर्षिय जनयुद्ध भनिएको नरसंहारको आतंक तथा जनताको अधिकार भनेर जनताको अधिकार खोसेर दललाई दिने अनि आफु त्यही दलको मेठ भएर जनताको नाममा तानाशाही चलाउनेहरुले फैलाएको हल्लाबाट नेपाली जनता मुक्त हुँदैछन ।
तै पनि केही ससानो दैनिक कार्यसञ्चालनको सफलतामा मख्ख भएर त्यही मायाजालमा छन ।
लगातार २ सय ४० बर्षलाई गाली गरिदै गयो र जनताले पनि पिंजडाको सुगाले “गोपीकृष्ण कहो, राधेश्याम कहो” भनेर दोहोर्याएको शैलीमा त्यही दोहोर्याउदै गए ।
मुक्ति, स्वतन्त्रता, आफ्नो मानमनितो कसलाई पो चाहिन्न र, यही लहै लहैमा साविक भन्दा ठूलो भाग पाईन्छ भन्ने आशामा जसले दिलाई दिन्छु भन्यो त्यसैको पछि लाग्दै गए ।
विभिन्न विदेशी शक्तिहरु अन्तराष्ट्रिय गैर सरकारी संस्थाको रुपमा यस्ता कुरालाई चम्काउन आए ।
सामाजिक क्षेत्रमा काम गर्ने नेपाली संस्थाहरुलाई (जो आफ्नो साधन श्रोतमा आफ्नै लगानीमा काम गर्थे) पछाडी पार्दे धनको ओईरो खन्याएर नेपालमा पनि अनेकौ गैर सरकारी संस्थाहरु बर्सादका च्याउ झै खुलेका थिए ।
जो मध्ये धेरैको लक्ष यही सानो आगोको ज्वालालाई हम्केर विशाल बनाउनु थियो ।
न २ सय ४० बर्षले शाहवंशको कुनै प्रतिनिधित्व गर्छ न यसले राजतन्त्र कै कुनै प्रतिक देखाउछ ।
यसले त अझ गोरखा, लमजुङ्ग, किर्तिपूर, कान्तिपूर, भक्तपूर, ललितपुर, विजयपूर आदी नाम भएका भुखण्डहरु एक भएर नेपाल भन्ने गौरवशाली मुलुक बनेको घटना नेपाल एक वृहत राष्ट्र वनेको गौरव बोकेको छ ।
यो कालखण्ड र नेपालको एकिकरणलाई गाली गर्ने नेपाली नै हुन सक्दैन ।
अब नेपाली बाहेककाले गरेको कुरा नेपालीले मान्नु पर्छ भन्ने कुनै कारण नै छैन । यो कुरा अब नेपालीको मस्तिष्कमा पस्दै गएको छ ।
शाहवंशका हातमा भएको नेपालमा थपना मात्र शाहवंश राखेर कुवरहरुले राणा पदवी लिएर लामो समयसम्म हाली मुहाली चलाए ।
अत्याचार र तानाशाहीको अधिकता भए पनि उनीहरुमा मुलुकै विखण्डन गर्ने कुनै प्रवृति थिएन ।
कल, छल, बल वा अझ कसै कसैको भनाई मान्ने हो भने अंग्रेजलाई खुशी तुल्याएर भए पनि नेपालको स्वतन्त्रता कायमै राखेका थिए ।
यदी त्यो स्वतन्त्रता कायम नराखेको भए आज नेपाल पनि भारतिय महासंघको एउटा प्रशासनिक जिल्ला हुने थियो ।
त्यस पछि जव सरदार पटेलले हैदरावाद, काश्मिर आदि देशलाई भारतिय महासंघको हिस्सा बनाउदै थिए त्यसबेला राजा महेन्द्रको सफल कुटनीतिले नेपाल स्वतन्त्र रहन सफल भयो ।
यो कुरा संभवत नेपालकै कतिपय प्रभावशालीहरुलाई मन नपरेको हुन सक्छ ।
आज सिक्किम विलयको दोष लेण्डुप दोर्जेले बोकी रहँदा त्यहाँका अहिलेका कतिपय मुर्धन्य राजनैतिक नेताहरुले आफ्नै आत्मकथामा सिक्किम भारतमा विलय गराउन आफुले खेलेको भुमिका सगर्व लेख्दैछन ।
भोली नेपाल नरहेको अबस्थामा त्यस्तै आत्मकथा लेख्ने नेताहरु को को हुन सक्छन नेपाली जनताले विचार पुर्याउनै पर्छ ।
नेपालमा कार्यरत हालसालै उम्रेका बहुसंख्यक जातिय संगठनहरुको साधन श्रोतको जोहो यस्तै गैसस वा राजदूतावासहरुले गरेका छन ।
विदेशी राष्ट्रहरुले त नेपाललाई यस्तो मानसिक दास सम्झन थाले की कुनै राजदूतले इन्टरनेटको सामाजिक संजाल मार्फत कसैलाई पनि आदेश दिन सक्छ ।
यस्ता संजालहरुको पहुँच कुनै पनि संचार माध्यमहरु भन्दा छिटो र बृहत हुने गर्दछ ।
कुनै मुलुकले पनि भ्रमणको कुटनिित मार्फत नेपाललाई पैताला मुनी राखेको सन्देश विश्व सामु पुर्याउन धक मान्दैन ।
अर्थात आज नेपाल हाँक्नेहरु नेपालको विखण्डन गर्न लागीपरेका छन ।
आज पृथ्विनारायण शाहलाई आतातायी देख्ने र लिम्बुवान माग्नेहरुलाई ऐतिहासिक लिम्बुवानको साठी प्रतिशत भुभाग भारतिय महासंघमा पर्छ भन्ने कुरा थाहा छैन भनेर मान्न सकिन्न ।
नेपाललाई नेपालको अस्तित्वलाई नै गाली गर्न र नेपाल एकिकरण भएको घटनालाई आतातायी आक्रमण सावित गर्ने यस्ताहरुको कुरा पनि स्वाभिमानी नेपालीले सुन्ने छैन ।
किनकी ” नेपालीहुन पुर्व जन्मको कमाईले पुग्दैन, नेपालीहुन पवित्र मुटु नेपाली चाहिन्छ “।
विराटनगर १
२०७५।२।१३(प६८।१०।१)
साभारः जनआवाज