माननीय गगन थापा ज्यु,
जय नेपाल, आफ्नो व्यक्तिगत परिचय खाडीमा काम गर्ने एक श्रमिकको रूपमा हजुरलाई चिनाउन चाहन्छु ।
थाह छ, आजभोलि असल प्रतिपक्षको भुमिका निभाईरहँदा अन्य वर्ष भन्दा व्यस्त हुनुहुन्छ । अन्य वर्षहरुभन्दा क्रान्तिकारी हुनुभएको छ । जसरी नेपाली राजनीतिको चक्रव्यूह नै त्यही वास्तविकताको धरातलमा आजसम्म टिकेको छ । सत्तामा नजाँदा नपुग्दा खाँट्टी क्रान्तिकारी बन्नेहरु सत्तामा पुगिसकेपछि त्यो क्रान्तिकारीतालाई तिलाञ्जली दिनै पर्ने बाध्यता भन्दा बाहिर कम्युनिष्ट र गैर कम्युनिष्ट अथवा क्षेत्रीय राजनीति गरेका दल हुन या पुरातनवादी अहंकार बोकेका राजावादी होउन, सत्ता बाहिर हुँदाका क्रान्तिकारी हुन् भन्ने कुरा इतिहासमा छर्लङ्ग भैसकेको विषय हो ।
माननीय गगन थापा ज्यु,
मैले हजुरलाई चिन्दा तपाईं नेविसंघका सभापति हुनुहुन्थ्यो । तपाईंले नेतृत्व गरेको नेविसंघ देशभरका अधिकांश क्याम्पसमा विजय हासिल गथ्र्यो । काँग्रेस भित्र बामपंथी गुण भएका नेताका रूपमा गिरिजादेखि स्थानीय काँग्रेस कार्यकर्तालेसम्म कसरी कम्युनिष्ट हुने मान्छे काँग्रेस भएछ भन्दथे । तपाईं सशक्त हुँदा राजनैतिक हैसियत गुमाइएला कि भन्ने तनावग्रस्तता तपाईंका नेताहरुमा देखिन्थ्यो भने युवाहरूमा अबको काँग्रेस हाक्ने भनेकै गगन थापाले हो भन्दै तपाईंको पछि लाग्ने युवा कम थिएनन् तर वर्तमान परिस्थिति हेर्दा उनै युवाहरूलाई तपाईं प्रति भ्रम भएको अनुभुती हुन थालेको छ । काँग्रेसको निकै लामो इतिहास भएपनि मैले २०५१ सालको दाङको बिजौरी हत्याकाण्ड भन्दा पहिलाको काँग्रेस खासै भोगीएन । भोगियो त खाली धम्की दिएर गए भन्नुहुन्थ्यो बाबा आमाले भोट हाल्न गैइस भने खबरदार भन्दै २०४९ सालको स्थानीय चुनाव अघि लाठा र भाला लिएर घर घर पस्ने अझै कुनै कम्युनिस्ट भए मर्लास नि, भन्दै थर्काउने गरेको हल्का सम्झना छ । २०५१ मा एमालेले सबैभन्दा ठूलो दल बनेर ओदाने सरकार बनाउदा जनहितका विषयमा निर्णय गर्दा र त्यो कार्यान्वयन हुँदा विरोध गर्ने मुख्य दल नै काँग्रेस थियो इतिहास साक्षी छ । मनमोहन सरकारका जनप्रीय कामको भत्सर्ना गर्दै हिंड्ने दल काँग्रेस थियो । मनमोहन हेलिकप्टर दुर्घटनामा परेको बखत अविश्वासको प्रस्ताव मार्फत अस्पतालको श्ययाबाट राजीनामा गर्न लगाउने पनि काँग्रेस नै थियो हैन र ?
अदालतलाई मुल्यहिन सावित गर्दै तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्यायलाई कानुन विपरित, सत्यता विपरित निर्णय गर्न लगाइएका तत्कालीन नेता गिरिजा होइनन् र ? रोल्पाका जाँड खाएका मगरहरुले सुरु गरेको जनयुद्ध नसा नछोड्दै समाप्त पार्छु भन्ने पनि तत्कालीन गृहमन्त्री होइनन् र ? बहुदलीय व्यवस्था काँग्रेसकै कारण धरापमा परेको कुरा इतिहासले नकार्न सक्दैन । राजाको शासनकालमा सक्रियता देखाएर कम्युनिष्ट यो या त्यो सबै माओवादी भनेर स्थानीय कार्यकर्ताले सेनाका सिआइडी बन्दै हत्या र दु:ख, यातना निहत्था जनतामाथि दिलाएका याद गाउँ गाउँमा ताजै छन् । मेरा आफ्नै आफन्त पर्नेहरुले घरमा गएर यति दिनुस् उहाँ रिहा बनाइदिन्छु भन्नेहरु कोहि दिवंगत भए भने कोहि मानसिक रोगी भएर बाँचेका छन् । त्यो कुरा अब गर्नु उचित पनि छैन । मराउनेले मराए मार्नेले मारे त्यो कालखण्डमा ।
देशका राष्ट्रिय पूँजीका बाहेकका रूपमा रहेका राजाद्वारा निर्मित बहुराष्ट्रिय कम्पनीहरु कौडीको भाउमा बेचेर वा समाप्त पारेर हजारौंलाई बेरोजगार बनाउने सरकार पनि काँग्रेस कै होइन र ? देश घातक सन्धी सम्झौताको नाइके अर्थात् काँग्रेस कै कमान्डमा भएका होइनन् र ? यद्यपि अरुण ३ हेर्न बाँकी छ जो बर्तमान कम्युनिष्ट सरकारले गरेको सम्झौता हो ।
माननीय गगन थापा ज्यु,
तपाईंले नेतृत्व गरेको नेविसंघ न सुस्ता पुगेको थियो न कालापानी, न टनकपुर न महाकाली सन्धी गर्दा चुइक्क बोल्यो, न माथिल्लो कर्णाली सुशील कोइरालाले गोप्य सम्झौता गरेको पर्दाफास हुँदा बोल्यो । काँग्रेस त बोल्दैन कमसेकम तपाईं त हिजोको विद्यार्थी राजनीतिको सभापति भएर मन्त्री सम्म भएको नेता हो, होइन र ? कोसी र गण्डकी पनि तपाईंले पटकपटक भाषण गर्दा लिने कोटेसन अर्थात् बिपि कोइराला र मातृकाप्रसाद कोइरालाकै नेतृत्वमा सन्धी भएका थिए हैन र ? इतिहासमा प्रष्ट छ बिपी कोइरालाले २०१० सालमा नेपालको गृहमन्त्रीको हैसियतले दिल्लीमा गृहमन्त्रालयको बैठक राखेको हजुरलाई पक्कै अवगत होला ।
माननीय ज्यु, तपाईं प्रति युवाहरूको चासो थियो युवाहरु राजनीतिमा प्रवेश गर्दा तपाइँको अभिप्रेरणा हुन्थ्यो । सम्भवत: गणतन्त्रको नारा काँग्रेस भित्रबाट सडकमा पहिलोपटक घन्काउने गगन थापा नै हो । कम्युनिष्ट कै हाराहारीमा बोल्न सक्ने खुवी भएको काँग्रेसका बर्तमान नेता मात्रै एक गगन थापा हुन भन्दा अन्यथा नहोला तर पनि पार्टी र नेतृत्वका गलत प्रवृत्तिहरु विरुद्ध गगनको बिरोध र आलोचना शून्य बराबर हुनु हिजो तपाईंको अभिप्रेरणाले राजनीतिमा लाग्ने युवाहरुले अब सोच्न बाध्य हुने कि नहुने ?
तपाईंको बिरोध न पार्टीका भ्रष्टाचारमा फस्दा भयो न संसदले पेन्सन पाउनुपर्छ भनेर संसद कुर्लदा भयो न कुनै राष्ट्रघाती सम्झौता हुँदा भयो, न सीमा मिचिंदा काँग्रेस र नेतृत्व पुग्यो अनि तपाईंप्रति विश्वास गर्न तपाईंका कटाक्षहरु मात्रै सुनेर बस्ने वा पार्टी भित्रका गलत पहिल्याउन नीति र कार्यक्रम आगामी काँग्रेसको योजनाका बारेमा छलफल गर्ने ? विरोधमाथि विरोध गर्ने काम मात्र हैन आफ्नो दल हिजो कति सजगता अपनाउन सफल रहयो र अहिले कुन हैसियतका साथ हामी बिरोध गर्दै छौं भन्ने हेक्का छ त गगन ज्यु ?
भ्रष्ट नेताहरूलाई कुइन्टले माला लिएर स्वागत गर्न पुग्ने नेता तपाईं हैन र ? रिहाईको दुवाइमा प्रतीक्षारत मध्य तपाईं पनि हैन र ? न्यायाधीश विश्वनाथ देखि गोपाल राज पराजुली जस्ता पार्टीका सिपाही अदालतमा बिराजमान बनाउँदै अदालत जस्तो गरिमामय न्यायपालिकाको सर्वोच्च अंगमा कार्यरत शुशीला नेपाल जस्ता ईमानदार न्यायाधीशलाई महाअभियोग लगाउने काँग्रेस होईन र माननीय ज्यु ? त्यतिबेला च्यात्त बोल्न नसक्ने गगन अहिले नाम झै गगनमा पुग्नुले तपाईंको हाइट कहाँ पुग्ला ? आफ्नो भन्दा अर्काको गाईले दिएको दूध कालो देख्ने प्रवृत्ति कहिलेसम्म माननीय ज्यू ?
आफू र आफ्नाले गरेको गलती कमि कमजोरी औल्याउँदै देखाउदै अघि बढ्न सके मात्रै पार्टी र सङ्गठन बलियो होला कि अन्यथा आफू कमजोर तर कमजोरीपन लुकाउँदै बलिया शक्तिशाली सङ्ग पौठे जोरी खेल्छु भन्दा पछारिएला कि कहिले नउठ्ने गरि या क्षति त पक्कै होला हैन र ?
अन्तमा, शत्रुको विरोध त जनावरले पनि गर्छ हामी त सचेत मानव हौं, आफ्नाको गलती सुधारका लागि पहल गरौं । जब आफू र आफ्ना सहि छन् भने कसैलाई त बेठीक छस् भन्नै जरुरी छैन । भन्नुको मतलब हिजो कोसीको, महाकालीको गण्डक, रामलौटन बाँध, सुस्ता चाँदनी दोधारा, अपरकर्णाली, पन्चेश्वर जस्ता अति संवेदनशील कुरामा यदि तपाईंले पार्टी भित्र बिरोध गरेको भए सायदै आज यो दुर्दशा नेपालीले भोग्नै पर्दैन थियो कि ? आज लम्पसारवाद भन्दै संघीय संसदमा बोल्दा हिजो तपाईं कै पार्टी अध्यक्षले अहिले संशोधन गर्न बहुमत पुगेन हामी पक्कै गर्छौ भनेर भारतका समकक्षी मोदी सामु गुनासो सुनाउँदा तपाईंको विरोध शिशिर कालिन नाग झै किन लुक्यो ?
काँग्रेससँग यी प्रश्न गरे कम्युनिष्टको हार पहिनाइहाल्छन तर तपाईं त सचेत युवा वर्गको नेता हुनुहुन्छ जबाफ दिनुहोला । छातीमा हात राखेर तपाईंका कागजी रेल र कागजी पानीजहाज अब जनताले चढ्दैनन् तसर्थ बिरोध र आलोचना गर्नु स्वाभाविक हो गर्नुपर्छ तर आफ्नो धरातल नबिर्सिएर कहि कतै तपाईं धरातल बिर्सीएर जोशकै आधारमा अधिनायकवाद त भन्दै हुनुहुन्न ? सुधार आफू र आफ्नाबाट गर्नुस् विरोधी दल तपाईं र तपाईंको काँग्रेसलाई घाटा पुग्ला कि ? स्मरण रहोस् अरुण ३ तत्कालीन बिगतको शेर बहादुर देउवाकै पालामा कार्ययोजना तयार भएको थियो र वर्तमान नेकपाको सरकारले सम्झौता गरेको छ तर यसको कहि कतै हजुरको विरोध आएन बरु २५ वर्ष पहिला काँग्रेसले सम्झौता गर्दा विरोध गरिएको थियो भन्दै स्वागत गर्नुभएको थियो संसदमा हैन र ? विराटनगरको काउन्सिलर अफिस काँग्रेस कै सरकार हुँदा बसालिएको थियो त्यसको बिरोधमा एक शब्द खर्च गर्नु भएन त ? यद्यपि बर्तमान सरकारले कुटनैतिक पहलमा हटाइएको छ हैन र ? धेरै लेख्ने मन छ तर उता साहुको मेलो सकिएन भने गणतन्त्रवाला नेपालमा परिवार भोकै मर्छन् तसर्थ विदा चाहे ।
-चिरञ्जीवी आचार्य
हाल:कुवेत
२०७५ जेठ १७ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित