क्राइमचेक प्रतिनिधि/
वीरगंज/यतिखेर गर्मीले सुख्खा भएको वनजंगलमा पात पतिंगर थुप्रिएको छ । तराईको जिल्लामा वन जंगलमा आगलागी भएका छन् । डढेलो नियन्त्रण गर्न कुनै व्यक्ति संस्था देखा परेको छैन । वन जंगलमा डढेलो लागेका कारण वन्यजन्तु वस्ती छोडेर अन्यत्र भागेका छन् । वनजंगलको भूईंमा डढेलोले हरियो भन्ने केही देखिंदैन । ढलापडा सुकेका रुखहरू खरानी भउका छन् । जडिबुटी सबै डढेका छन् ।
आरक्षित वन जंगलमा पनि डढेलो लागेको छ । नियन्त्रणको प्रयास कतै छैन । प्रत्येक वर्ष डढेलो नियन्त्रणकालागि केही बजेट पनि छुट्याएको हुन्छ तर वास्तवमा डढेलो नियन्त्रण, चिन्ता, चासो, पहल र प्रयास भएकशो पाइंदैन । डढेलो नियन्त्रणका बारेमा कुरा धेरै हुन्छ, नियन्त्रणकालागि कुनै काम हुँदैन । नेपालका वन जंगलको नियति नै डढेलो र मानिसको अतिक्रमणबाट समाप्त हुनु रहेको छ । वन क्षेत्र छ, वृक्षरोपण कार्यक्रम नभएकोले वनजंगल क्षेत्रमा बोट विरुवा छैन । भूईं खाली छ, उजाड छ ।
बचेखुचेको जंगल संरक्षणको अभाव र दुरुपयोगका कारण दिनानुदिन समाप्त हुने अवस्थामा पुगेको छ । आजसम्म वनजंगल संरक्षण र सदुपयोगका नाममा जेजति बजेट छुट्याइए, जेजति कार्यक्रम आए, त्यसको सफलता र प्रभावकारीता शुन्य रहेको छ । वन जंगल नष्ट हुनाको साथै पानीको मुहान पनि सुक्दै गई सुख्खा याममा जताततै मानिस र पशुपंछीले पिउने पानीको हाहाकार हुने गरेको छ ।
जलवायु परिवर्तनका कारण हिम नदिहरूमा पनि पानीको बहाव घट्दै गएको छ ।
(२०७५ जेठ २४ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित)