सरकारले बढ्दो आयातका कारण निरन्तर घट्दो विदेशी मुद्रा सञ्चितिको दबाब कम गर्न अतिरिक्त विलासीताका वस्तुहरूको आयातमा एकपछि अर्को गर्दै अङ्कुश लगाइरहेको छ । केही दिन अघि मात्र सुनचाँदीको आयातमा कोटा लगाएर विलासीताका गाडीहरूको आयातमा प्रतितपत्र (एलसी) रोक्न अप्रत्यक्ष रूपमा वाणिज्य बैङ्कहरूलाई दबाब दिएको सरकारले पछिल्लो पटक तोकेरै १० प्रकारका वस्तुको आयातमा पूर्ण बन्देज लगाइदिएको छ ।
यस्तो प्रतिबन्ध मंगलबार राजपत्रमा एक सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयारी फास्टफुड कुरमुरे, लेजदेखि तयारी मदिरा, चुरो तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल, टेलिभिजन सेट, मोटरसाइकल, कार भ्यान लगायतका १० प्रकारका वस्तुहरूको आयातमा पूर्ण रोक लगाएको हो । यस्तो बन्देज चालु आर्थिक वर्षको असार मसान्तसम्म नै कायम रहने समेत मन्त्रालयले सोही सूचनामा बताएको छ । गभर्नर महाप्रसाद अधिकारी अहिलेको बढ्दो तरलता अभावकाबीच बढ्दो आयातलाई नियन्त्रण गर्न र विदेशी मुद्राको सञ्चिति घट्न नदिन पनि यस्तो प्रतिबन्धको खाँचो रहेको बताउँछन् ।
कोभिड–१९ पछि भर्खर भर्खर उठ्दै गरेको मुलुकको अर्थतन्त्रमा तीव्र आयात र सो आयातमा गएको अधिक कर्जाले तरलताको समस्या निम्त्याइरहेको छ । यसैमा गएको ठूलो भुक्तानीले अहिले मुलुकको विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परिरहेको छ । यसलाई रोक्न पनि आयातमा कडाइ गर्नै पर्ने बाध्यता छ’ अहिले सरकारले यहीँ गरेको हो’ गभर्नर अधिकारीले भने, ‘यसैको व्यवस्थापनका लागि राष्ट्र बैङ्कले यसअघि नै सुनचाँदीको आयातमा कोटा तोक्ने देखि घरजग्गा, गाडीमा जाने कर्जामा कडाइ गर्दै आयातमा समेत कडाइ गरेको हो ।’
रुस–युक्रेनको बढ्दो तनावको उदाहरण दिँदै गभर्नर अधिकारीले भने, ‘बिग्रँदो अर्थतन्त्रमा हाम्रा आन्तरिक कारणहरू मात्र जिम्मेवार छैनन् यसमा बाह्य कारणले समेत भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यसँगै अन्य वस्तुहरूको समेत मूल्य वृद्धिले अहिले मुलुकमा समस्या पारिरहेको छ । यद्यपि, अबको केही समय पछि नै समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।