Monday, January 20, 2025
घरसमाचारअमेरिकामा सत्ता हस्तान्तरणसँग जोडिएका ७ अभ्यास, ट्रम्प के गर्लान् ?  

अमेरिकामा सत्ता हस्तान्तरणसँग जोडिएका ७ अभ्यास, ट्रम्प के गर्लान् ?  

७ पुस, काठमाडौं । सन् १९८० मा अन्तर्वार्ता दिइरहेका ३४ वर्षीय डोनाल्ड ट्रम्पलाई एक अमेरिकी पत्रिकाले अन्तर्वार्ताको क्रममा सोध्यो, ‘तपाईं राजनीतिबारे के सोच्नुहुन्छ ?’

ट्रम्पले जवाफ दिएका थिए, ‘राजनीतिक जीवन निर्दयी हुन्छ। जो सक्षम छन्, उनीहरू व्यवसाय गर्छन्।’

सन् १९८० पछि ४५ वर्ष बितेको छ। ती ट्रम्प अहिले दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिँदैछन् । उनले नेपाली समयअनुसार सोमबार राति सवा १० बजेतिर अमेरिकी संसद क्यापिटल हिलमा शपथ लिनेछन्।

शपथ कस्तो हुनेछ ? ट्रम्प हातमा बाइबल राखेर संविधानको कसम किन खानेछन् ? शपथ ग्रहण समारोह र अमेरिकामा सत्ता हस्तान्तरणसँग जोडिएका ७ महत्वपूर्ण विषयहरू यहाँ प्रस्तुत गरिएको छ ।

१. ट्रम्पको शपथ ग्रहण समारोहमा के-के हुनेछ ?

अमेरिकी संसद क्यापिटल हिलमा करिब ७०० अमेरिकीहरूको उपस्थितिमा डोनाल्ड ट्रम्पले ४७औं राष्ट्रपतिको शपथ लिनेछन्। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्सलाई शपथ गराउनेछन्।

यसक्रममा ट्रम्पको देब्रे हातमा बाइबल हुनेछ जसलाई सामान्यतः राष्ट्रपतिकी पत्नीले समाउने गर्छिन् । ट्रम्पका लागि मेलानिया ट्रम्पले बाइबल समाउनेछिन् ।

बाइबल हातमा लिएर ट्रम्पले भन्नेछन्, ‘म शपथ लिन्छु कि म अमेरिकी राष्ट्रपतिको कार्यालयका सबै जिम्मेवारीहरू इमानदारीपूर्वक निभाउनेछु। म आफ्नो पूर्ण क्षमतासहित अमेरिकी संविधानको रक्षा गर्नेछु ।’

शपथपछि ट्रम्पले सम्बोधन गर्नेछन्। आफ्नो अघिल्लो कार्यकालको शपथ ग्रहण समारोहमा उनले १७ मिनेट बोलेका थिए।

पहिलो कार्यकालमा पदभार ग्रहण गर्दै ट्रम्प

शपथपछि क्यापिटल हिलमा कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् । तर, यस पटक धेरैजसो हलिउड कलाकारहरूले कमला ह्यारिसलाई समर्थन गरेका कारण ट्रम्पका लागि कसले प्रस्तुति दिनेछन् भन्ने स्पष्ट छैन । यद्यपि चर्चित गायिका क्यारी अन्डरउड, भिलेज पिपुल ब्याण्ड लगायतलाई निम्त्याइएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

सांगीतिक प्रस्तुतीपछि ट्रम्प अमेरिकी सांसदहरूसँग क्यापिटल हिलको स्टाच्युरी हलमा लन्च गर्नेछन्। लन्चको खाना सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट ल्याइन्छ। त्यसपछि ट्रम्पले यूएस क्यापिटलबाट ह्वाइट हाउससम्मको र्‍यालीको नेतृत्व गर्नेछन्।

ट्रम्प आफ्ना निकट व्यक्तिहरूसँग पार्टीमा सहभागी हुनेछन्। न्युयोर्क टाइम्सका अनुसार, यो पार्टी मेटाका प्रमुख मार्क जुकरबर्गले आयोजना गर्नेछन्। बाइडेनको कार्यकालमा फेसबुकले ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो। तर अहिले जुकरबर्ग ट्रम्पसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्।

२. बाइबलमा हात राखेर संविधान रक्षा गर्ने शपथ किन लिन्छन् अमेरिकी राष्ट्रपतिहरू ?

बाइबलमा हात राखेर शपथ लिने परम्परा सन् १७८९ मा जर्ज वाशिङ्टनले सुरू गरेका थिए। यद्यपि यसबारे संवैधानिक व्यवस्था भने छैन । अमेरिकी संविधानले राष्ट्रपतिले शपथ लिनुपर्ने विषय मात्र उल्लेख गरेको छ । यसमा कुनै बाइबल वा अरु धार्मिक पुस्तक लिएर शपथ लिनुपर्ने उल्लेख छैन ।

बाइबल छोएर शपथ ग्रहण गर्दै राष्ट्रपति जो बाइडेन

अमेरिका छैटौं राष्ट्रपति जोन क्विन्सी एडम्सले संविधानमा हात राखेर शपथ लिएका थिए। त्यस्तै, थियोडोर रुजबेल्टले कुनै पुस्तकमा हात नराखेरै राष्ट्रपतिको शपथ लिएका थिए।

३. अमेरिकामा किन लामो राखिएको हुन्छ सत्ता हस्तान्तरणको समय ?

बेलायतमा चुनावी नतिजा आउनासाथ पराजित प्रधानमन्त्रीले राजा वा रानीसमक्ष राजीनामा बुझाउँछन् । त्यसपछि तुरुन्त जित्ने उम्मेदवारले सोही दिन शाही परिवारका प्रमुखसँग भेटघाट गर्छन् र प्रधानमन्त्रीको शपथ लिन्छन्। यो सम्पूर्ण प्रक्रिया केही घण्टामै सम्पन्न हुन्छ।

छिमेकी भारतमा नतिजा घोषणा भएको ४ देखि १० दिनभित्रै भएको देखिन्छ । नेपालमा पनि सत्ता हस्तान्तरण प्रक्रिया धेरै लामो छैन ।

तर अमेरिकामा सत्ता हस्तान्तरण प्रक्रिया पूरा हुन ७२ देखि ७८ दिन लाग्छ। यो पटक पनि ७५ दिन लाग्नेछ । यसका पछाडि मुख्य कारण अमेरिकाको विशाल भूगोल हो।

अमेरिकाले सन् १७७६ मा स्वतन्त्रता प्राप्त गर्‍यो। त्यतिबेला अधिकांश जनसंख्या दुर्गम स्थानमा बसोबास गर्थ्यो। यातायात सुविधा दुर्लभ थियो । चुनावपछि मतगणना, इलेक्टर्सको बैठक र मत परिणाम कंग्रेससम्म पुग्न धेरै समय लाग्थ्यो। यही कारण चुनाव र शपथ ग्रहणबीच लामो समय राखियो। यो समय सुरुवाती दिनमा ४ महिनाको थियो ।

सन् १७८९ मा पहिलो राष्ट्रपति जर्ज वाशिङ्टनको कार्यकाल ३० अप्रिलमा सुरु भयो। दोस्रो राष्ट्रपतिको कार्यकाल भने ४ मार्च १७९३ मा सुरु भयो र यो परम्परा बन्यो। नोभेम्बरमा चुनाव हुने र मार्चसम्मको समय व्यवस्थापनका लागि प्रयोग हुन्थ्यो।

यसबीचमा अमेरिकामा सत्ता हस्तान्तरणको समय घटाउने प्रयास पनि भए । सन् १९३३ मा राष्ट्रपति फ्रान्कलिन डी. रुजबेल्टको शपथ अघि २०औं संविधान संशोधनमार्फत नयाँ राष्ट्रपतिको कार्यकाल सुरु हुने मिति २० जनवरी तोकियो।

यो व्यवस्थापछि राष्ट्रपति र नयाँ सरकारलाई छिटो काम थाल्ने केही सहज बन्यो ।

 ४. सत्ता हस्तान्तरणमा केके हुन्छ ?

अमेरिकी नयाँ राष्ट्रपतिले ४ हजारभन्दा बढी राजनीतिक नियुक्ति गर्नुपर्छ। तीमध्ये करिब १ हजारलाई सिनेटको स्वीकृति आवश्यक हुन्छ।

नयाँ कर्मचारीहरूका लागि कार्यालय र इमेल आईडी बनाउनुपर्छ। उनीहरूलाई नयाँ जिम्मेवारीका लागि ब्रिफ गरिन्छ। राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा नीतिको जानकारी दिनुपर्छ। यी सबै कामहरू पूरा गर्न समय लाग्छ। त्यसैले सत्ता हस्तान्तरणका लागि दुई महिना भन्दा बढी समय तोकिएको छ।

सामान्यतया, सत्ता हस्तान्तरणको प्रक्रिया चुनावपछिको नोभेम्बरमै सुरु हुन्छ। तर सन् २०२० मा यो भएन। ट्रम्पले चुनावपछि ३ हप्ता त सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न दिएनन्।

यद्यपि ट्रम्प यसो गर्ने पहिलो राष्ट्रपति भने होइनन्। सन् १९३२ को चुनावमा डेमोक्र्याटिक पार्टीका फ्रान्कलिन डी. रुजबेल्टले रिपब्लिकन पार्टीका हरबर्ट हुभरलाई हराएका थिए। त्यतिबेला अमेरिका आर्थिक मन्दीको चपेटामा थियो। रुजबेल्टले यसबाट निस्कन केही योजना घोषणा गरेका थिए, तर ती योजना हुभरलाई मन परेको थिएन।

रूजबेल्टलाई योजना कार्यान्वयन गर्न रोक्न हुभरले सत्ता हस्तान्तरणमा ढिलाइ गराउने प्रयास गरेका थिए। त्यसबेला सत्ता हस्तान्तरणको समय ४ महिना थियो। यो घटनापछि समय घटाएर अढाइ महिना गरियो।

५. ट्रम्पको शपथ ग्रहण समारोहमा को-को उपस्थित हुनेछन् ?

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा पूर्व राष्ट्रपतिहरू उपस्थित हुने परम्परा छ। तर, अघिल्लो पटक ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग लिएका थिएनन्। उनी अमेरिकाको १५० वर्षको इतिहासमा पहिलो राष्ट्रपति थिए जसले यस्तो गरे। ट्रम्पको अनुपस्थितिमा शपथ ग्रहण समारोहमा तत्कालीन उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपतिको जिम्मेवारी निभाएका थिए।

यसपटक ट्रम्पको शपथ ग्रहण समारोहमा राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहफ, पूर्व राष्ट्रपति बराक ओबामा, जर्ज डब्ल्यु बुश र उनकी पत्नी लौरा बुश, बिल क्लिन्टन र हिलारी क्लिन्टन उपस्थित हुनेछन् । तर, मिशेल ओबामा समारोहमा उपस्थित हुने छैनन्।

६. शपथपछि ट्रम्प कहाँ बस्ने छन् ?

अमेरिकामा  पदभार ग्रहण गरेपछि राष्ट्रपतिले ह्वाइट हाउसमा बस्नैपर्ने हुन्छ। नेपालको शीतल निवास भएजस्तै अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय ह्वाइट हाउस हो।

जर्ज वाशिङ्टन एकमात्र राष्ट्रपति थिए, जसले कहिल्यै ह्वाइट हाउसमा बस्ने मौका पाएनन्। किनभने उनी राष्ट्रपति रहँदा सन् १७९२ मा ह्वाइट हाउस निर्माण सुरु भएको थियो। यसको काम सन् १८०० मा मात्रै पूरा भयो, तबसम्म वाशिङ्टनले पद छोडिसकेका थिए।

जोन एडम्स ह्वाइट हाउसमा बस्ने पहिलो राष्ट्रपति थिए। उनी अमेरिकाको दोस्रो राष्ट्रपति थिए।

सामान्यतया, शपथ ग्रहण कार्यक्रमअघि नै नयाँ राष्ट्रपति ह्वाइट हाउसमा प्रवेश गर्छन् र उतैबाट समारोहमा जान्छन्।

तर सन् २०१७ मा ट्रम्पले यस्तो गरेनन् । उनले शपथपछि मात्रै ह्वाइट हाउसमा प्रवेश गरेका थिए। यसपटक पनि उनी शपथपछि मात्रै ह्वाइट हाउसमा जाने छन्।

७. नयाँ राष्ट्रपतिको स्वागतका लागि ह्वाइट हाउसको सजावट कसरी हुन्छ ?

अमेरिकामा नयाँ राष्ट्रपतिले सत्ता सम्हाल्ने क्रममा अघिल्लो सरकारका नीतिहरू मात्र होइन, ह्वाइट हाउसको पर्दा, कार्पेट लगायत सजावट पनि परिवर्तन गर्न सक्छन्।

ह्वाइट हाउसमा के-के परिवर्तन हुनेछ भन्ने कुरा नयाँ राष्ट्रपतिको रुचि र प्राथमिकतामा निर्भर हुन्छ।

सन् २०२१ मा जब जो बाइडेन राष्ट्रपतिको भूमिकामा ह्वाइट हाउस पुगे, उनले ट्रम्पले राखेका केही कुरा परिवर्तन गराएका थिए।

बाइडेनले पूर्व राष्ट्रपति एन्ड्र्यु ज्याक्सन र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलका तस्वीर हटाएका थिए। यी तस्वीर ट्रम्पले राखेका थिए, किनभने ट्रम्पले ज्याक्सनलाई आफ्नो आदर्श मान्थे।

बाइडेनले राष्ट्रपतिको कुर्सी पनि बदलेका थिए । साथै, उनले वर्किङ टेबलमा रहेको रातो बटन पनि हटाए। ट्रम्पले यो उपकरण कार्यालय सहयोगीलाई बोलाउन प्रयोग गर्थे। ह्वाइट हाउस प्रवेश गरेपछि सजावट परिवर्तन गराउने बाइडेन एकमात्र राष्ट्रपति भने होइनन्।

(दैनिक भास्करबाट)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -