२९ पुस, काठमाडौं । धादिङकी ३५ वर्षीया सञ्जिता (नाम परिवर्तन) ले चार वर्ष अघि देखेको सपना त्यति ठूलो थिएन । छोराछोरीलाई बोर्डिङ स्कुल पढाउन पाइयोस्, सजिलै घर धान्न सकियोस् । यत्ति भए पुग्छ भन्ने उनलाई लाग्थ्यो ।
श्रीमान् वैदेशिक रोजगारीका लागि दुबई उडेपछि ती इच्छा पूरा गर्न त्यति गाह्रो होला भन्ने पनि उनलाई लागेन । सञ्जिता गाउँ छाडेर राजधानीतिर आइन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–११, हिलेटोललाई नयाँ ठेगाना बनाउन थालेकी मात्र थिइन्, दुबईबाट अप्रिय खबर आयो । भिजिट भिसामा गएका श्रीमानले काम पाएनन् ।
श्रीमान् सम्झाइरहेका थिए– समय लाग्ला जस्तो छ, तर केही न केही काम मिल्नेवित्तिकै सबै ठिक हुन्छ ।
काठमाडौं सरेको केही महिनामै दैनिक गुजारा चलाउनै सञ्जितालाई धौधौ पर्न थालिसकेको थियो । तर, उनी आफूलाई परेको पिर श्रीमान्लाई सुनाउन सकिरहेकी थिइनन् । श्रीमानका दुःख पनि कम थिएनन् । यस्तोमा दुवैले एकअर्कासँग आफ्नो पीडा लुकाइरहेका थिए ।
त्यहिबेला एकजना साथीले श्रीमान्लाई कम्बोडियामा काम गर्ने अफर ल्याए । उनले त्यसलाई अवसर ठानेर अफर स्वीकारे । तर, कम्बोडियामा पनि भनेजस्तो काम पाएनन् । नेपालै फर्किएर आउनुपर्यो ।
‘काठमाडौंमा टिक्नै गाह्रो भइरहेको थियो, त्यसमाथि ऋण थपियो’, सञ्जिताले भनेकी छन्, ‘त्यसपछि हाउस किपिङमा म आफैं जाने कि भनेर बुढाबुढी सल्लाह गर्न थाल्यौं ।’
माइतीपट्टीकी एक जना महिलाले हाउस किपिङमा राम्रो कमाइ गरिरहेकी थिइन् । उनले तिनै हेमरानी घलेसँग कुरा गरेर आफूलाई पनि विदेश पठाइदिने मानिससँग सम्पर्क गराइदिन भनिन् ।
त्यसक्रममा घलेले उनलाई भिमप्रसाद बजगाईको फोन नम्बर दिएर उनीसँग सम्पर्क गर्न भनेकी थिइन् । गत वर्ष जेठ अन्तिमतिर घलेले भने अनुसार नै उनले बजगाईंलाई फोन गरिन् ।
सञ्जिताका अनुसार, उनलाई बजगाईंले दुबईमा घर सरसफाइका लागि काम गर्न प्रस्ताव गरेका थिए, मासिक तलब ४० हजार रुपैयाँ हुने भनेका थिए ।
‘यहाँ चल्नै गाह्रो भइरहेको थियो । जसोतसो गरेर जान पाए, अरु विस्तारै मिल्दै जान्थ्यो कि भन्ने भयो’, उनले थपिन्, ‘त्यसअनुसार पासपोर्ट बुझाएपछि २०/२२ दिनमा भिसा आइसक्यो भन्दै उड्नलाई बोलाएका थिए ।’
उनलाई त्यसरी जान तत्काललाई ३५ हजार रुपैयाँ दिए हुने भनिएको थियो । भिसा आएपछि यसपटक श्रीमान्ले सञ्जितालाई २० असार २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर खादासहित बिदाइ गरे ।
‘दुबई भनेर हिँडे, इराक पुगेँ’
तर… ।
बिदाइ हुँदा उनी दुबईका लागि भनेर हिँडेकी थिइन्, ओर्लिन् इराकको सुलेमायिना अन्तर्राष्ट्रिय विमानस्थलमा ।
‘उहाँ पहिलो चोटी जानु भएको रहेछ, सँगै भएका एजेन्टले सिधै इराकको ट्रान्जिटमा लगेछन्’, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख एसएसपी ओम राना भन्छन्, ‘दुबई भनेर उहाँलाई थाहै नदिइ इराक पुर्याइएको खुलेको छ ।’
विमानस्थलबाट निस्किएको पनि निकै पछि मात्र सञ्जिताले इराक पुगेको थाहा पाएको राना बताउँछन् । ‘म एयरपोर्ट पुगेपछि कम्पनीका मान्छेहरु रिसिभ गर्न आएका थिए, उनीहरुले कार्यालयमा लैजाँदा त्यहाँ म जस्ता अरु थुप्रै महिलाहरु थिए’, सञ्जिता भन्छिन्, ‘त्यहाँ पुगेपछि बल्ल मैले इराक पुगेको थाहा पाएकी थिएँ ।’
त्यहाँ रहेका बेला बजगाईंका साथी सन्तोष सुनुवार उनलाई दुई पटक भेट्न गएका थिए । ‘मलाई दुबईमा काम लगाइदिने भनेको थियो, यहाँ इराक भनेको छ भनेर सोधेको थिएँ’, उनी भन्छिन्, ‘मैले गुनासो गर्न थालेपछि टिकट, पासपोर्ट र मोबाइलसहितका सामानहरु खोसेर उनले नै लिएका थिए ।’
एकातिर घरेलु कामदारका रुपमा जान प्रतिबन्ध, अर्कातिर भिजिट भिसामा जानका लागि लगाइएको कडा प्रावधानहरुका बाबजुद सामान्य लेखपढ समेत नगरेकी सञ्जिता दुबई हुँदै इराक पुग्नुले अरु थुप्रै प्रश्नहरु उठाएको अनुसन्धान अधिकृतहरु बताउँछन्
डेढ महिनापछि कम्पनीले एक जना स्थानीय नागरिकको घरमा सरसफाइका लागि पठाएको उनले भनेकी छन् । ‘त्यहाँ मैले दैनिक १४/१५ घन्टा काम गर्नुपर्थ्यो, मलाई १० महिनाजति बन्धक बनाएर राखेर चरम शोषण गरे’, उनले भनेकी छन्, ‘त्यति समय काम गर्दा पनि मलाई ६ महिनाको मात्र तलब दिए ।’
त्यहाँ काम गरुञ्जेल उनले समयमा खाना खान पाइनन्, विरामी हुँदा आराम गर्छु समेत भन्न पाइनन् । ‘पुगेको एक महिनापछि मात्र श्रीमतीले म्यासेन्जरमा कल गरेर मलाई दुबई भनेर इराकमा ल्याए भनेकी थिइन्’, श्रीमान्ले प्रहरीसँग भनेका छन्, ‘त्यतिबेला उनले घरधनीले राम्रो काम गरेन भनेर कुटपिट समेत गर्ने गरेको भनेकी थिइन् ।’
त्यसबेला उनलाई फोनमा समेत कुरा गर्न नदिइएको उनले बताएकी छन् । ‘त्यसपछि कहिलेकाहीँ मात्र कुरा हुने गरेकामा करिब ९ महिनापछि उनले म्यासेन्जरमा फोन गरेर बस्नै नसक्ने स्थितिमा पुगेको बताएकी थिइन्’, उनले थपे, ‘त्यसबेला उनले १० महिनासम्म यातना दिएर काममा राखेर ६ महिनाको नाम तलब दिएको भनेकी थिइन् ।’
त्यसपछि इराकमा रहेका सुनुवारलाई घर फिर्ता पठाइदिन भनेको उनले भनेका छन् । ‘फिर्ता पठाइदिनु भनेपछि उनले तिमीलाई यहाँसम्म ल्याउन ५ हजार डलर (त्यसबेलाको दर अनुसार साढे ६ लाख नेपाली रुपैयाँ) खर्च भएको भन्दै जान नपाउने भनेका थिए’, उनले भने, ‘पछि त्यो फिर्ता गरे नेपाल जान पाउँछौ भनेका थिए ।’
सुनुवारसँग यो संवादपछि परिस्थिति थप विग्रिँदै गयो । सञ्जितालाई यातना दिने क्रम झन् बढ्यो । मोबाइल पनि खोसियो । ‘पछि श्रीमतीले त्यहाँ सेक्यूरिटी गार्डमा काम गर्ने बंगलादेशको नागरिकको मोबाइलबाट लुकेर मलाई म्यासेन्जरमा फोन गरेकी थिइन्’, श्रीमानले भनेका छन्, ‘त्यसबेला उनले नै राजपाल नाम गरेका भारतीय नागरिकले सहयोग गर्न सक्छन् भनेर मलाई जोडिदिएका थिए ।’
उनीमार्फत इराकमा रहेका नेपाली नागरिक निमा शर्पासँग सम्पर्क गरेको उनले भनेका छन् । ‘मैले निमा शेर्पासँग ह्वाट्स एपममा कुरा गरेर सहयोग मागेपछि उनले कम्पनीमा रकम जग्गा गर्न अरु साथीहरुसँग कुरा गर्ने भनेका थिए’, उनले थपे, ‘शेर्पाले त्यसवापत नेपालमा रहेको खातामा त्यहाँका कामदारहरुको पैसा हालिदिन भनेका थिए ।’
त्यसरी इराकमा बस्ने नेपालीहरुलाई तत्कालीन विनिमय दरअनुसार ६ लाख ६७ हजार ५० रुपैयाँ हालिदिएपछि कम्पनीमा उनीहरुले ५ हजार अमेरिकी डलर जम्मा गरिदिएको श्रीमान्ले बताएका छन् । ‘यसपछि मैले उनलाई काठमाडौंबाटै फ्लाई दुबईमार्फत फर्किने टिकट काटिदिएको थिएँ’, उनले भने, ‘७ भदौमा उनी काठमाडौं फर्किन सफल भएकी थिइन् ।’
मुख्य आरोपी इराकमै
उनी फर्किनेवित्तिकै मानव बेचबिखन अनुसन्धान ब्यूरोमा गएर किटानी जाहेरी दिएकी थिइन् । एसएसपी रानाका अनुसार, उजुरी आएको केही दिनमै एक जना आरोपी झापाको विर्तामोड–९ घर भएका भिमप्रसाद बजागाई पक्राउ पनि परे ।
‘उनले आफूलाई विदेश पठाउने योजनाबारे थाहा नभएको दाबी गरेका छन्, तर अनुसन्धानका क्रममा उनको संलग्नता देखिने आधारहरु भेटिएका छन्’, रानाले भने, ‘त्यही भएर उनलाई प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कहाँ बुझाएका छौं ।’
प्रहरीका अनुसार, बजगाईंले इराकमै रहेको हेमरानी घलेमाथि नै आरोप लगाएका छन् । ‘म पनि इराकबाट नेपाल फर्किएको व्यक्ति हुँ’, उनले भनेका छन्, ‘त्यसबेला हेमरानीले नै मलाई कसैले फोन गर्छ होला, गर्यो भने काम राम्रै छ भन्नू भनेकी थिइन् ।’
उनले भने अनुसार नै आफूले सरसफाइको काम गर्नका लागि पढ्न, लेख्न जान्नु पर्दैन, सीप पनि केही चाहिँदैन भनेको उनले खुलाएका छन् ।
अनुसन्धान अधिकृतहरुका अनुसार, सुनुवारलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटले पहिल्यै मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पक्राउ गरेको समेत छानबिनका क्रममा खुलेको थियो । यद्यपि, उनलाई अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
अनुसन्धानपछि प्रहरीले सुनुवारलाई फरार आरोपी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ भने घलेको स्पष्ट ठेगाना नखुलेको भन्दै पछि थप अनुसन्धान गर्ने गरी मिसिल बुझाएको छ ।
सरकारले घरेलु कामदारका रुपमा महिलालाई इजरायलबाहेकका मुलुकमा जान प्रतिबन्ध लगाएको छ । तर, भिजिट भिसामा दुबई हुँदै महिलाहरु इराक पुगिरहेका छन् । ‘इराकमा बेलाबेला महिला दिदीबहिनीहरु फस्नु भएको भन्दै खबर आइरहन्छ’, ब्यूरोका एसएसपी रानाले भने, ‘श्रम स्वीकृति नलिइ यसरी भिजिट भिसामा जाँदा गम्भीर समस्या सिर्जना भएका थुप्रै घटनाहरु छन् ।’
एकातिर घरेलु कामदारका रुपमा जान प्रतिबन्ध, अर्कातिर भिजिट भिसामा जानका लागि लगाइएको कडा प्रावधानहरुका बाबजुद सामान्य लेखपढ समेत नगरेकी सञ्जिता दुबई हुँदै इराक पुग्नुले अरु थुप्रै प्रश्नहरु उठाएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।