Friday, January 10, 2025
घरसमाचारओझेलमा परेको रिकु गाउँको कथा

ओझेलमा परेको रिकु गाउँको कथा

दोलखा । सधैँ ओझेलमा परेको दोलखाको रिकु गाँउमा बिस्तारै चहलपहल बढ्न थालेको छ । गाउँ सँगैको पहरामा हाइड्रोपावरको टनेल बन्न लागेपछि गाँउमा चहलपहल बढेको स्थानीय मेख तामाङले बताउनुभयो ।

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ९ मा पर्ने रिकु जिल्लाको सबैभन्दा दुर्गम मध्यमा पर्ने गाउँ हो । रिकुमा लामाबगर, छ्योत– छ्योत र सिमिगाँउबाट जान सकिने तर तीनै ठाउँबाट जाने बाटो असाध्य अप्ठेरो रहेको स्थानीय मेख तामाङको भनाई छ । 

माथिल्लो तामाकोसी जलविद्युत आयोजना अन्तर्गतको रोल्वालिङ खोला जलविद्युत आयोजनाको अडिट–१ टनेल गाउँ सँगैको पहरामा बन्न थालेपछि भने गाँउमा मानिसहरूको चहलपहलसँगै लामा बगरबाट आउने पैदल मार्गको स्तरोन्नति समेत हुन थालेको तामाङले बताउनुभयो ।

अहिले गाँउमा नयाँ डिजाइनका घरहरू बनेको र होम–स्टे सञ्चालन तथा होटल– पसल सञ्चालनमा चासो बढेको अर्का स्थानीय महलमान तामाङले बताउनुभयो । हाइड्रोपावरको काम भइरहेको र लामा बगरबाट रिकु जोड्ने पैदलमार्ग समेत स्तरोन्नति हुन लागेकोले च्छो–रोल्पा हिमताल जाने स्वदेशी एवम् विदेशी पर्यटक यही गाउँ हुँदै पुग्ने सम्भावना बढेको महलमानको भनाई छ । पर्यटकको समेत आवतजावत हुन लागेपछि स्थानीयको आर्थिक उन्नतिमा सहयोग पुग्ने अपेक्षा बढेको महलमान बताउनुहुन्छ ।

२ हजार १ सय मिटर उँचाइमा रहेको रिकुमा २२ घरधुरी रहेको छ । यो गाँउमा करिब ८० जनाको बसोबास रहेको स्थानीय बत्ताउँछन् । “यो गाँउमा २०१४ सालमा पहिलो पटक दोलखाकै बुलुङबाट मेरो बुबा टेकबहादुर खड्का आउनुभएको हो ।” स्थानीय भीमबहादुर खड्काले भन्नुभयो– “त्यसको १० वर्षपछि तामाङहरू समेत थपिएर गाँउमा घरहरू बढेका हुन् ।” 

२०७२ सालको भूकम्प अघि सात घर रहेको रिकुमा भूकम्पपछि परिवार छुट्टिएर २२ घर पुगेको भीमबहादुरले बताउनुभयो । 

१२ सम्म पास गरेका यो गाउँको बासिन्दा कोही पनि सरकारी सेवामा नरहेको स्थानीय मेख तामाङको भनाई छ । 

गहुँ, फापर, लसुन, मकै, कोदो, आलु, सागसब्जी, किवी फल लगायतको उब्जनी हुने रिकुका बासिन्दालाई आफ्नो उत्पादनबाट मुश्किलले छ महिना मात्र खान पुग्ने स्थानीय बत्ताउँछन् । 

“रिकु आउन सजिलो बाटो छैन, स्वास्थ्य चौकी नभएकोले कोही बिरामी परे जोखिम बाटोबाट २÷३ घण्टा हिँडाएर नजिकको स्वास्थ्य चौकी लानुपर्छ, विद्यालय नभएकोले बालबच्चा बढाउन पनि समस्या छ ।”– स्थानीय पनमाया तामाङले भन्नुभयो । लामा बगरबाट रिकु जोड्ने पैदल मार्गले आवतजावत र अरू सबै कुरामा सजिलो हुने पनमाया बताउनुहुन्छ । 

रोल्वालिङ खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनोज ताम्राकार रिकु गाउँको विकास र स्थानीयको जीवनस्तर सुधारको लागि आयोजनाले पैदलमार्ग निर्माण लगायतमा सहयोग गरेको बताउनहुन्छ । 

भौगोलिक हिसाबले दुर्गममा रहेको रिकु गाँउमा छ्योत– छ्योतबाट जोडिने पैदलमार्ग निर्माण, कृषि उत्पादन, गुम्बा तथा मन्दिर निर्माण, खानेपानी लगायतमा पालिकाले सहयोग गर्दै आएको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की बताउनुहुन्छ । 

रिकुमा सडक लान सकिन्छ कि भनेर सिमिगाँउ, छ्योत– छ्योत र लामाबगर तीनै तिरबाट सम्भाव्यता अध्ययन समेत भइरहेको पालिका अध्यक्ष कार्कीले बताउनुभयो । 

रिकु पालिकाको दुर्गम मध्यको लुकेको गाउँ भएकोले बजेट विनियोजनमा विशेष ध्यान पुर्‍याउने गरिएको अध्यक्ष कार्कीको भनाई छ । 

तस्बिरहरू : दुर्गम रिकु गाउँ । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -