Friday, January 10, 2025
घरसमाचारउद्धार कुर्दाकुर्दै साउदीमै अस्ताए कृष्ण, छोराको मुख हेर्ने आमाको धोको अधुरै

उद्धार कुर्दाकुर्दै साउदीमै अस्ताए कृष्ण, छोराको मुख हेर्ने आमाको धोको अधुरै

२४ पुस, जनकपुरधाम । ६ वर्षदेखि साउदी अरबबाट उद्धार कुरिरहेका धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजका कृष्णकुमार यादवको मृत्यु भएको पुष्टि भएको छ । गत २ जनवरी (१८ पुस) मा उनको उपचारको क्रममा दमामस्थित साउद अल बपतानिया अस्पतालमा मृत्यु भएको हो ।

दमाममै वैदेशिक रोजगारमा रहेका लुम्बिनीका नेपाली स्फाक खानका अनुसार अचानक छाती दुखेपछि कृष्णलाई गत २७ डिसेम्बर राति अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण स्वास्थ्य समस्या जटिल देखिएको भन्दै उनको शल्यक्रिया गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन नसकेको अस्पताललाई उद्धृत गर्दै खानले अनलाइनखबरलाई बताए ।

‘हामी ८ जना सवारीचालक एउटै कोठामा बस्थ्यौं । २७ डिसेम्बर राति कृष्णले अचानक छाती दुख्न थालेको सुनाए । छटपटाउन थालेपछि हामीले उहाँलाई अस्पताल पुर्‍यायौं,’ खानले भने ।

‘डाक्टरले हर्टअट्याक भयो, अवस्था जटिल भएकाले अप्रेसन गर्नुपर्छ भन्नु भएको थियो । अप्रेसन पनि भयो । तर, उपचारको क्रममा २ जनवरीमा कृष्णको निधन भयो,’  खानले भने ।

उनका अनुसार अहिले कृष्णको शव अस्पतालमै छ । उनी अगाडि भन्छन्, ‘उपचार खर्च तिरेर अस्पतालबाट शव ल्याउन त सकिन्छ । तर, कृष्णमाथि अदालतमा मुद्दा रहेकाले गाह्रो छ ।’

कृष्णसँगै तीन महिनादेखि एउटै कोठामा बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका-३ बन्दीपुरका अजय पासवानले अनलाइनखबरसँग भने, ‘कृष्णलाई समस्या परेको थाहा पाएपछि हामीले सहयोग गर्दै आइरहेका थियौं । अचानक बिरामी परेपछि अस्पताल पुर्‍यायौं । तर, उपचारको क्रममा उहाँको मृत्यु भयो ।’

‘जिउँदोमा घर जान पाउनु भएन । अब कम्तीमा सरकार र सम्बन्धित पक्षले कृष्णको लास घरसम्म पुर्‍याइदिन सहयोग गरिदिनु पर्‍यो,‘ अजयले भने ।

छोराको मुख हेर्ने आमाको धोको अधुरै

कृष्णको मृत्युको खबरले जिउँदो छोरा फर्काउने ७५ वर्षीय बुबा बिल्टुको प्रयास अधुरै बन्न पुगेको छ ।

आफू मर्नुअघि छोरा कृष्णको एक पटक अनुहार हेर्ने ७१ वर्षीया जिवछीको धोको पनि अब कहिल्यै पूरा नहुने भएको छ ।

दोस्रोपटक साउदी पुगेका कृष्णमाथि मुद्दा लागेपछि उनले घरमा पैसा पठाउन छाडे । घर धान्ने सबै जिम्मेवारी उनकी पत्नी सीतामाथि आइपर्‍यो । सीताले ज्यालामजदुरी गरेर अहिले जेनतेन परिवार धानिरहेकी छन् ।

छोरा फर्काउन बुबा बिल्टुले अथक प्रयास गरिरहेका थिए । गाउँबस्ती चहारेर उनले आर्थिक सहयोग जुटाउने प्रयास गरिरहेका थिए । तर, पर्याप्त रूपमा आर्थिक संकलन हुन सकेको थिएन । छोरा फर्काउने सपना बोकेर बुढ्यौली उमेरमा पनि उनी निरन्तर संघर्षरत थिए । तर, उनको त्यो सपना पूरा हुन सकेन ।

कृष्णको मृत्यु खबरले घरपरिवार अहिले शोकमा डुबेको छ । कृष्णका एक छोरा र चार छोरी छन् । जेठी छोरी कविताको बिहे भइसकेको छ । छोरा १७ वर्षीय विनोद, छोरीहरू १५ वर्षीया सविता, १३ वर्षीया सरिता र ११ वर्षीया ववतिा छन् । सम्पत्तिको नाममा १३ धुरमा एउटा पक्की घर छ । कृष्णले पहिलोपटक विदेश जाँदा कमाएर पक्की घर खडा गरेका थिए ।

दोस्रोपटक साउदी पुगेका कृष्णमाथि मुद्दा लागेपछि उनले घरमा पैसा पठाउन छाडे । घर धान्ने सबै जिम्मेवारी उनकी पत्नी सीतामाथि आइपर्‍यो । सीताले ज्यालामजदुरी गरेर अहिले जेनतेन परिवार धानिरहेकी छन् ।

एक वर्षदेखि मुटुको क्यान्सरले थलिएकी जिवछी जेठी छोरी प्रमिलाको घरमा मृत्युसँग लडिरहेकी छन् । उनको रेखदेखसँगै छोरा फर्काउने प्रयासमा बिल्टु पनि उतै बस्ने गरेका छन् ।

६ वर्षदेखि उद्धार कुर्दै थिए कृष्ण

स्वदेशमा रोजगारी नपाएपछि परिवारको उज्वल भविष्य खोज्दै दोस्रो पटक कृष्ण ७ वर्षअघि साउदी अरेबिया पुगेका थिए । सन् २०१८ कृष्ण एएस इन्टरनेसनल ग्रुप प्रालि नामक म्यानपावर कम्पनीमार्फत सउदी अरेबियाको अल–रहमान अब्दुल्लाह अल–हरबी अलबाकरिया कम्पनीमा पुगेका थिए । परिवारजनका अनुसार उनी त्यहाँ ट्रक चालकको काम गर्थे । तर, कम्पनीले उनलाई चालक अनुमतिपत्र उपलब्ध गराएको थिएन । जबर्जस्ती गाडी चलाउनु पर्दा प्रहरीले जरिबाना काट्थ्यो । जरिवाना कम्पनीले तिर्दैन्थ्यो । कम्पनीले न त समयमै तलबभत्ता दिन्थ्यो । तलब माग्दा कम्पनीले उल्टै उनीमाथि दुर्व्यवहार गर्थ्यो ।

कृष्णलाई उद्धार गर्न सामाजिक अभियन्ता सरोज रायले निकै प्रयास गरेका थिए । तर, दूतावासको गैरजिम्मेवारीले विदेशमै उनको दुखान्त निधन भएको सरोज आरोप लगाउँछन् ।

यही विषयमा कम्पनीसँग उनको विवाद भइरहन्थ्यो । सामाजिक अभियन्ता सरोज रायका अनुसार एक वर्षपछि त्यहाँ कार्यरत कृष्णसहित १९ जना मजदुरहरू कम्पनीबाट भाग्न बाध्य भए । तीमध्ये १६ जना भारतीय थिए । जसलाई भारत सरकारले उद्धार गर्‍यो । तर, तीन जना नेपालीहरू साउदीमै अलपत्र परे । कम्पनीले कृष्णविरुद्ध पहिलो कोर्टमा झुटो मुद्दा दर्ता गरायो । उनी साउदीमै फस्न पुगे । उनको वर्क परमिट पनि कम्पनीले अवैध बनाएको थियो । न त उनी कानुनी रूपमा काम गर्न सक्थे, न त नेपाल फर्किन । कोर्टले केही समयपछि २२ हजार रियल हानिनोक्सानी गरेको बापत कृष्णमाथि जरिबाना फैसला सुनायो । अदालतबाट उनलाई पक्राउ पुर्जी समेत जारी भयो । लुकिछिपी बस्दै आएका उनले घर फर्किन साउदी अरेबियास्थित दूतावास र सामाजिक अभियन्ताहरूलाई हारगुहार लगाइ रहे ।

दूतावासले सहयोग नगरेको आरोप

कृष्णलाई उद्धार गर्न सामाजिक अभियन्ता सरोज रायले निकै प्रयास गरेका थिए । तर, दूतावासको गैरजिम्मेवारीले विदेशमै उनको दुखान्त निधन भएको सरोज आरोप लगाउँछन् ।

‘कृष्णको घरपरिवार र उनी अलपत्र परेको थाहा पाएपछि सन् २०२३ मा नेपाल सरकार र साउदीस्थित नेपाली दूतावासलाई बारम्बार अनुरोध गरें । दमामका दूतावास अधिकारी, राजदूत र अन्य कर्मचारीहरूसँग बारम्बार इमेल, म्यासेज र फोनमार्फत ध्यानाकर्षण गराएँ । तर, हरेकपटक उनीहरूले एउटा ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न मात्र भने, हामी प्रयास गरिरहेका छौं भने । यो गैरजिम्मेवारीले कृष्णालाई सहयोग गर्न निकै कठिन भयो,’ राय भन्छन् ।

रायका अनुसार कृष्णाले आफूलाई पटक-पटक सम्पर्क गरेर साउदीमा लुकिछिपी बस्नु परेको पीडा सुनाउँने गर्थे ।

कृष्णालाई उद्धार गर्ने बहानामा केही व्यक्तिले आर्थिक सहयोग उठाएर ठगी गरेको पनि रायको आरोप छ ।

बुबा बिल्टुले जिउँदो फर्काउन सरकारसहित सम्बन्धित पक्षले सहयोग नगर्दा छोराले अकाल मृत्युवरण गर्नु परेको दुखेसो पोखे ।

‘सरकार र सम्बन्धित पक्षले चाहेको भए समयमै मेरो छोरा सकुशल फर्किन सक्थ्यो । मैले धेरै ठाउँमा प्रयास गरें । गुहार लगाएँ । तर, छोराले विदेशमै ज्यान गुमाउनु पर्‍यो,’ बिल्टुले दुखेसो गर्दै भने ‘अब मरेको छोराको लास समयमा ल्याइदेऊ सरकार । मर्न लागेकी आमालाई मृत छोराको अनुहार देखाइदेऊ सरकार ।’

दूतावासले पहल गरेकै हो, तर उनी सम्पर्कविहीन भए

साउदी अरेबियाको दमामस्थित नेपाली दूतावासका प्रतिनिधि नारायण पासवानले कृष्णको मृत्यु भएको पुष्टि गरे । उनले उनको शव नेपाल पुर्‍याउने प्रक्रियामा दूतावास अघि बढेको बताए । कृष्णको उद्धारका लागि दूतावासले काम गरिरहेकै बेला उनी सम्पर्कविहीन भएको दाबी गरे ।

‘कृष्णकुमार यादव कम्पनी छोडेर भागेको कारण जारिबाना हालेको थियो । यहाँ कफाला सिस्टम भएकोले कम्पनी छोड्दा अवैध हुन्छ ।  तसर्थ, कम्पनीले उनीमाथि फाइन केस गरेको थियो । यस्तो अवस्थामा फाइन तिर्नुपर्ने हुन्छ कि पुरानै कम्पनीमा फर्किएर काम गर्नुपर्ने हुन्छ,’ पासवानले भने ।

उनले अगाडि भने, ‘एक पटक कृष्णले मसँग भेट गरेको पनि हो ।  त्यसपछि उनी सम्पर्कविहीन भए । कुरै नबुझी मान्छेल दूतावासमाथि आरोप मात्रै लगाएको हो, यो गलत छ । कम्पनीमै बसेर न्याय खोज्नुपर्छ । मजदुरहरूको न्यायका लागि यहाँ ठाउँठाउँमा लेबर कोर्ट छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -