Friday, January 10, 2025
घरसमाचार‘नेपालमा गइरहनेभन्दा मंगलबार बिहानको भूकम्प फरक खालको’

‘नेपालमा गइरहनेभन्दा मंगलबार बिहानको भूकम्प फरक खालको’

२३ पुस, काठमाडौं । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपालको पूर्वी भागदेखि उत्तरमा पर्ने तिब्बती क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । मध्यने पालसम्म धक्का महसुस भएको भूकम्पले पारेको असरको विवरण संकलन हुने क्रम जारी छ ।

भूकम्पको अवस्थावारे हालसम्म संकलन भएको विवरणवारे अनलाइनखबरले भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीसँग गरेको संक्षिप्त कुराकानी –

मंगलबार बिहान गएको भूकम्प कस्तो प्रकृतिको हो ?

बिहान ६ बजेर ५० मिनेटमा तिब्बतमा भूकम्प गएको हो, जुन ठाउँ पूर्वी नेपालको उत्तरतिर पर्छ । नेपालमा भएका स्थानीय स्टेशनहरुबाट मापन गर्दा ७ म्याग्निच्यूड देखाएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपालबाट टाढा पर्ने भएकाले केही विवरण फरक पर्नसक्छ । यो मूल भूकम्प नै हो । त्यसपछि परकम्प आइरहेका छन् । हामीले यहाँ काठमाडौंमा महसुस नगरेको हुनसक्छ ।

यो भूकम्पले कहाँसम्म असर पुर्‍याएको हुनसक्छ ?

नेपालको पूर्वी सिमानाबाट करिब १०० किलोमिटर टाढा तिब्बतमा यसको केन्द्रविन्दु रहेको देखिन्छ । पूर्वी नेपालमा निकै धक्का महसुस गराएको छ । मध्य नेपालसम्म पनि मानिसहरुले धक्का थाहा पाए । पूर्वी र मध्य नेपाल, भुटान, बंगलादेश अनि भारतमा पनि धक्का पुर्‍याएको देखिन्छ ।

यो कस्तो प्रकृतिको भूकम्प हो ?

नेपाल र हिमाली क्षेत्रमा जाने भूकम्पमध्ये यो फरक हो, अर्थात तिब्बततर्फको भूकम्प हो । हिमाली क्षेत्रमा तिब्बती र भारतीय प्लेटको टकरावले भूकम्प जाने गर्दछ । भारतीय प्लेट वर्षेनी ४ सेन्टिमिटरका दरले उत्तरतर्फ सर्ने र त्यसमध्ये २ सेन्टिमिटर नेपालतर्फ धकेलिने मान्यता छ । बाँकी २ सेन्टिमिटर माथि तिब्बततर्फको भाग सरेको हुन्छ ।

तिब्बतीय भागमा जाने भूकम्प र हाम्रोमा जाने भूकम्प निकै फरक प्रकृतिको भूकम्प हो । यसको प्रकृति र शैली फरक हुन्छ । तसर्थ हाम्रोतिर संकलन भएको शक्तिसँग यसको प्रत्यक्ष सरोकार रहदैन ।

के कारणले फरक हुन्छ ?

तिब्बतमा गएको भूकम्प नेपालबाट केही नजिक भएको हुनाले धक्काको महशुस भएको हो । नेपालमा गइरहेको भूकम्प र त्यसका प्रवृतिसँग यसको प्रत्यक्ष सम्बन्ध देखिंदैन । नेपालतिर अनि हिमाली भागमा हुने शक्तिसञ्चयभन्दा तिब्बततिरको परिस्थिति फरक भएकाले यो अलग खालको भूकम्प हो ।

पोहोर जाजरकोटमा गएको भूकम्प र यसको प्रकृति मिल्छ ?

यो भू-सतहबाट करिव १० किलोमिटरको गहिराइमा गएको भूकम्प हो । कति समयसम्म धक्काको महसुस भयो भन्न सकिने अवस्था भइसकेको छैन । रेकर्डहरु अध्ययन भइरहेको छ ।

पोहोर जाजरकोटमा गएको तुलनामा आजको भूकम्प कैयौं गुणा शक्तिशाली हो । यसले तिब्बततिर कस्तो असर गरेको छ, हामीलाई थाहा भइसकेको छैन ।

पूर्वी पहाडी क्षेत्रमा भूकम्पको धक्का अलि बढी महसुस भएको हुनपर्छ । त्यताको अद्यावधिक विवरण थाहा पाउनु आवश्यक हुन्छ । पूर्वी हिमाली भेटमा बढी असर परेको देखिन्छ ।

हामीले नेपालमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ, भूकम्पीय जोखिम छ भनिरहेका हुन्छौं । त्योसँग आज तिब्बतमा गएको भूकम्पको सम्बन्ध छैन । अघि पनि भने, नेपालमा हिमाली क्षेत्रमा गइरहने भूकम्प भन्दा त्यसपारि अर्थात् तिब्बततिर जाने भूकम्प फरक प्रकृतिको हो ।

यसबारेको विस्तृत विवरण कहिलेसम्म आइपुग्ला ?

नेपालमा ताप्लेजुङदेखि दार्चुलासम्म भूकम्प मापन गर्ने स्टेशनहरु छन् । तिनले आजको भूकम्पको मापन गरेकाले हामीलाई यहाँनिर यति म्याग्निच्यूडमा भूकम्प गएको रहेछ भन्ने थाहा भएको हो ।

भूकम्पको केन्द्र नेपालको सीमाबाट अलि टाढा छ । हाम्रो बारपाकमा शक्तिशाली भूकम्प जाँदा अरुले पनि मापन गरेका थिए, तर हामीले भन्दा अरुले मापन गरेको विवरण अलि फरक हुन्थ्यो ।

अहिले पनि हामीले मापन गरेको विवरण उनीहरुबाट अलि टाढा भएकाले फरक हुनसक्छ । हामी अलि टाढाको दूरीमा रहेकाले स्थानीय रुपमा जस्ता यथार्थ विवरण नपाउन सक्छौं ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -