काठमाडौं । ६ महिनाको अन्तरालपछि दयाहाङ राईको अर्को फिल्म रिलिज हुँदैछ । पुस २६ मा उनले अभिनय गरेको शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्म ‘कार्साङ’ प्रदर्शन तयारीमा छ । यसअघि राई, लिम्बू, गुरुङ, मगर र थकाली समुदायको चरित्र निर्वाह गरेका दयाहाङले यसमा शेर्पा समुदायको भूमिका चित्रण गरेका छन् ।
दशैंमा कमजोर क्राफ्टका फिल्म बक्स अफिसमा सुपरहिट रहे । यसप्रति दयाहाङको आफ्नै दृष्टिकोण छ । ‘कार्साङ’को कथामा युनिभर्सल अपिलिङ कति छ ? समुदायको कथामा अभिनय गर्दा अभिनेताका लागि के सहजता हुन्छ ? यी आयाममा रहेर अभिनेता दयाहाङ राईसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संक्षिप्त संवाद :
‘कार्साङ’ फिल्म केमा आधारित छ ?
‘कार्साङ’ विश्वासको बारेमा हो । यसको अर्थ आमरुपले ‘सेतो भगवान’ बन्ने बुझिंदो रहेछ । शेर्पा समुदायको त्यही भूगोल यार्सा भन्ने गाउँमा कार्साङबारे अर्को विश्वास रहेछ । त्यही विश्वासमा अड्किएको एक शेर्पा समुदायको कथा हो । समुदायको कथामा काम गर्दाको रमाइलो भनेको उनीहरूको मूल्य पद्धति बुझ्न सकिने रहेछ । यही नै सुन्दर कुरा हो । कार्साङ एउटा परिवारको छोटो जीवन यात्रा हो ।
राई, लिम्बू, मगर, गुरुङ, थकालीपछि तपाईंले शेर्पा समुदायको चरित्र निर्वाह गर्नुभएको छ । ‘कार्साङ’ कुन अर्थमा भिन्न छ ?
शेर्पा समुदायमा बौद्ध, तान्त्रिक र बोनमा पनि विश्वास गर्नेहरू रहेछन् । यो पात्रले बढी बोन र झाँक्रीप्रति विश्वास गर्ने परिवारको कथा हो । अक्सर त्यो समुदायभित्र कुनै विधि गर्दा बुद्ध र झाँक्रीलाई पनि चाहिने हुने रहेछ । बुद्धमा बलि हुँदैन तर झाँक्रीमा बलिको कुरा आउँछ । यो त मैले बुझेको सामान्य कुरा मात्र हो ।
‘कार्साङ’भित्र युनिभर्सल अपिलिङको तत्व के छ ?
सबैभन्दा प्रमुख कुरा ‘कार्साङ’प्रतिको विश्वास प्रणाली हो । कुनै पनि ठाउँको मानिसले एउटा न एउटा चीजमा विश्वास गरिराखेको हुन्छ । यसमा कार्साङको विश्वास युनिभर्सल छ । जस्तै पश्चिमाले कुनै एकलाई भगवान मान्छन् । अर्को कुरा- पुस्तान्तरणको कुरा । यो निम्नवर्गीय परिवारको कथा हो जहाँ ज्ञान छ । त्यो ज्ञानले सामाजिक रुपमा मात्र मान्यता पाउँछ तर व्यावसायिक रुपमा त्यसले मान्यता नपाउँदा वा अहिलेको परिवर्तनसँग नमिल्दा आइपर्ने उसको भोगाइको कथा यसमा छ । अहिले सोसल ड्रामा भन्नेबित्तिकै यसमा युनिभर्सल अपील हुन्छजस्तो मलाई लाग्छ ।
निर्देशक नवीन सुब्बाले ‘गाउँ आएको बाटो’को कास्टिङको क्रममा तपाईंको स्टारडम चरित्र चित्रणमा कतै बाधक बन्ला कि भनेर चिन्ता गर्नुभएको थियो ? ‘कार्साङ’मा यो कुरा कस्तो रह्यो ?
निर्देशकको आफ्नो सोच हुन्छ । याम शेर्पाको फिचर पहिलो हो । उनले सोचेको चरित्र यस्तै थियो भन्ने कुरा चाहिं मलाई भनिरहन्थे । सायद निर्देशकलाई असर गर्न सक्छ । मलाई दाइ भन्छन् र सम्मान गर्छन् । सम्मानले मलाई कतिपय ठाउँमा चित्त नबुझेको ठाउँमा पनि भएको होला । कहीं न कहीं उसलाई त्यो कुराले असर गर्यो होला ।
मैले आफ्नो स्टारडभन्दा पनि जति धेरै चीज बुझ्दै गएँ, त्यो ज्ञान हुन्छ होला भनेर कोसिस गरें । यो खतरनाक चीज पनि रहेछ, हामीले सोच्दा । मासलाई अपील गर्न यस्तो मान्छे लिएपछि हुन्छ भनेर गलत पनि सावित हुनसक्छ कोही कोही बेला । तर मलाई व्यक्तिगतरुपमा कुनै चरित्रमाथि काम गर्दा म हाबी हुन सक्दिन । मलाई निर्देशकको निर्देशन नै चाहिन्छ ।
६ महिना जति तपाईंको फिल्म रिलिज भएनन् । अबको लाइनअप हेर्दा तपाईं व्यस्त हुने देखिएको छ । अब फिल्मको लाइनअप कसरी मिलाउनुहुन्छ ?
म आफूले ब्रेक लिएको जस्तो महसुस नहुने रहेछ । बीचमा म बुसान गएँ । फिल्ममा काम गरिनै रहें । अहिले पनि हङकङमा तेस्रो सातामा ‘गाउँ आएको बाटो’ चिनियाँ सबटाइटलमा चलिराखेको छ । प्रदर्शनमा आउने संख्याले ब्रेकजस्तो देखिने । तर मैले ब्रेक पनि लिएको होइन, काम पनि भइराखेको छ । यस वर्ष मैले पहिला वचन दिएका केही फिल्म सक्छु । त्यसपछि आगामी दिनमा आफ्नो लागि काम गर्छु भन्ने सोच आएको छ ।
माघमा ‘महाभोज’ सक्छुहोला । त्यसपछि अघिल्लो साल वचन दिएका फिल्म छन् । बाँसुरीजस्ता आफ्नो होम प्रोडक्सनका फिल्म त छँदैछन् । अर्को वर्ष पाँच फिल्म छन् ।
दशैंमा जसरी केही फिल्म व्यवसायिक रुपमा चले । यी फिल्मको बक्स अफिस पर्फमेन्सले दर्शकीय मनोविज्ञानबारे केही कुराको संकेत गर्न खोजेका हुन् ?
यस वर्षको आँकडा हेर्दा वैशाखदेखि नै अत्यधिक धेरै फिल्मले लगानी उठाएका छन् । लगभग १३-१४ फिल्म पुगेको होला । यो त नेपाली फिल्म इतिहासकै रेकर्ड भयो होला । यो खुसीको कुरा हो । अहिले मानिसमा एक किसिमको उत्साह र ऊर्जा पनि आएको छ । मानिसमा जब आर्थिक चलखेल हुन्छ । मान्छे खुसी हुन्छन् ।
पैसा भएपछि मात्र फिल्म, कला र खेलकुदका कुरा आउँछन् । एउटा फिल्म चल्नु भनेको झण्डै ५० करोडको कुरा आउँछ । मान्छेको यो प्रवाह हुनु भनेको अरु क्षेत्र पनि अघि बढ्नु हो । यहाँ मात्र भएको छैन । दुई तीन महिनामा ५० करोडको बजार चलायमान भयो । नेपाली फिल्मको यो सुखद् कुरा हो ।
फिल्म बक्स अफिसमा हिट भइरहँदा क्राफ्टमा कमजोर फिल्म पनि चले भन्ने चिन्ता पनि छ नि ।
बजार हेर्दा पनि हामीले कमसल चीजलाई बढी मात्रामा सदुपयोग गरिराखेका हुन्छौं । मैले बारबार भन्ने गरेको छु । बिकाउ चीज सबै राम्रा हुँदैनन् । नारायण ढकालले भन्नुभएको थियो- बिकाउ चीज सबै राम्रा हुने भए त प्लास्टिकका भाँडा सबैभन्दा धेरै बिक्री हुन्छन् । कलामा यो चीजलाई समीक्षात्मक हिसाबले यसरी पनि स्वीकार्नुपर्छ । हामी चाहिं इमान्दार हुनुपर्छ । हामीले काम गर्दा बिकाउभन्दा पनि कन्टेन्टलाई प्राथमिकता दिनुपर्छ ।
हामीले नेपालको कथावाचन के हो ? विदेशी बजारमा पुग्दा नेपाली फिल्मको अनुहार कस्तो हुन्छ यतातिर पनि हेर्नुपर्छ । धेरै समीक्षक र केही निर्माताको सोच त्यतातिर छ । बजारमा माहोल बनाउन यस्ता फिल्म पनि चाहिन्छ । दुवैतिरको सन्तुलन र लिनेदिने हुनुपर्छ । यसले नेपाली फिल्मलाई नै राम्रो गर्छ ।