१५ पुस, काठमाडौं ।
तोरीको तेल
ठोरीको रेल
तिम्रो हाम्रो साली
अब छैन बेला
गयो अब हाम्रो दिन
सरर रेलैमा है
घरजम गर्नु छ बेलैमा…
माथिका शब्द गायक अमृत गुरुङको ‘मै नाचेँ छमछमी’ बोलको गीतका अंश हुन् ।
गुरुङले गीतमा भने जस्तै ठोरीबाट सरर रेलमा चढेर अन्त जान सकिने अवस्था अहिले छैन । ठोरीबाट रेल गुड्न छाडेको वर्षौं भइसक्यो । तर, तोरीको तेल उत्पादन हुने खेती भने यहाँ प्रशस्तै हुने गरेको छ । यतिबेला ठोरी पहेँलपुर छ । यो पहेँलपुर देखिने दृश्यले गुरुङको त्यो चर्चित गीत पुनः स्मरण गराउँछ ।
प्रत्येक वर्ष मंसिर र पुसमा यो ठाउँको सुन्दरता तोरी खेतीले थप मनमोहक बनाइदिन्छ । जसले गर्दा टिकटक बनाउनदेखि तस्वीर खिच्नसमेत पर्यटक ठोरीमा झुम्मिन पुग्छन् ।
ठोरी गाउँपालिकाको कुल क्षेत्रफल एक सय २८ वर्ग किलोमिटर छ । जसमध्ये २७.७२ वर्ग किलोमिटर (१० हजार नौ सय ६० बिघा) जमिन खेतीयोग्य छ । खेतीयोग्य जमिनमध्ये यो वर्ष एक हजार ८ सय ४२ बिघामा तोरी खेती लगाइएको तथ्यांक गाउँपालिकासँग छ । अर्थात्, करिब १७ प्रतिशत क्षेत्रफलमा यो वर्ष तोरीखेती भएको छ ।
गाउँपालिका कृषि शाखा प्रमुख अरुणराज चौधरीका अनुसार विगत वर्ष एक बिघामा ९ देखि १० क्विन्टलसम्म तोरी उत्पादन हुने गरेको पाइएको छ । यो पटक मौसम तोरी खेतीका लागि अनुकूल देखिएकाले उत्पादन बढ्ने विश्वास छ । गत वर्ष तोरी प्रतिक्विन्टल ११ देखि १३ हजार रुपैयाँमा बिक्री भएको थियो ।
विगतकै वर्ष आधार मान्ने हो भने पनि यो वर्ष १८ हजार चार सय २० क्विन्टल तोरी उत्पादन हुने प्रक्षेपण गाउँपालिकाको छ । जसबाट किसानले कम्तीमा २३ करोड ९४ लाख ६० हजार रुपैयाँ आर्थिक लाभ लिने चौधरी बताउँछन् ।
ठोरी गाउँपालिका–४ का किसान बलबहादुर श्रेष्ठले यसपालि १० बिघामा तोरी लगाएका छन् । उनले अघिल्लो वर्ष पनि त्यति नै क्षेत्रफलमा तोरी खेती गरेका थिए । त्यस वर्ष उनले घरायसी प्रयोजनका लागि साढे चार क्विन्टल जति तोरीे राखेर बाँकी बेचेका थिए । अघिल्लो वर्ष सात लाख रुपैयाँको तोरी बेचेको उनी खुसीसाथ सुनाउँछन् ।
‘यसपालि तोरी खेतीका लागि मौसम एकदमै अनुकूल भएको छ,’ श्रेष्ठ भन्छन्, ‘त्यही भएर राम्रो उत्पादन हुने आशा छ ।’
उनका अनुसार १० बिघामा तोरी खेती गर्दा एक लाख रुपैयाँ जति खर्च हुने गरेको छ । कात्तिक दोस्रो साता तोरी खेती गर्न थालिन्छ र माघ पहिलो साता भित्र्यान्छ ।
छैन बजार समस्या
तोरी खेती गर्ने किसानलाई बजारको कुनै समस्या नरहेको किसानहरू बताउँछन् ।
तोरी भित्र्याउने समय व्यापारीलाई पनि थाहा हुने भएकाले उनीहरू घरमै आएर तोरी खरिद गर्न तँछाडमछाड गर्छन् । चितवन, काठमाडौंलगायत ठूला सहरबाट व्यापारीहरू गाडी लिएर तोरी खरिद गर्न किसानका घरमै आउने गरेको श्रेष्ठ बताउँछन् ।
‘तोरी थ्रेसिङ गर्ने समयमा बारीमै आएर व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । जसका कारण किसानलाई तोरी बेच्न समस्या छैन । कता लगेर बेच्ने भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘यहाँको तोरीको दाना पोटिलो हुने भएकाले बढी तेल निस्कन्छ । त्यसैले पनि व्यापारीको प्रमुख रोजाइमा परेको हो ।’
शिक्षकसमेत रहेका भूपाल जोशी पनि श्रेष्ठले भने जस्तै तोरी कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता यहाँका किसानमा नरहेको सुनाउँछन् ।
किसानलाई पालिकाको भर
तोरी खेती गर्न किसानलाई स्थानीय सरकारले पनि प्रोत्साहन गरिरहेको छ । गाउँपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीका अनुसार तोरी खेती गर्ने किसानलाई शतप्रतिशत किटनाशक औषधि उपलब्ध गराइरहेको छ ।
तोरी खेती गर्ने किसानका बालीमा समस्या देखिए गाउँपालिकाले प्राविधिक खटाएर अध्ययन अनुसन्धान गर्ने र सोहीअनुसार सुझाव दिने गरेको उनी सुनाउँछन् ।
प्राविधिक टोली किसानको खेतमै पुगेर बालीमा देखापरेका समस्या बुझ्ने र आवश्यकअनुसार परामर्श दिने गरेको उपाध्यक्ष रेग्मी बताउँछिन् ।
उत्पादित तोरी बिक्री गर्ने समयमा बिचौलियाले चलखेल गर्न सक्नेतर्फ पनि गाउँपालिकाले निगरानी गर्ने गरेको उनी बताउँछिन् ।
‘किसानले उत्पादित तोरीको राम्रो मूल्य पाउन् भनेर सीधै तोरी मिलसँग पनि किसानलाई सम्पर्क गराउने काम भएको छ । यसरी तोरी मिलसम्म किसानको पहुँच स्थापित हुँदा बिचौलियाले खेल्ने मौका नपाउने र किसानले राम्रो मूल्य पाउन सक्छन्,’ उनी भन्छिन् ।
किसानलाई ५० प्रतिशत सहुलियतमा डीएपी मल उपलब्ध गराउने काम पनि भएको रेग्मी बताउँछिन् । ‘आगामी वर्षदेखि तोरी खेती गर्ने किसानलाई उन्नत जातको बीउ लगाउन प्रोत्साहन गर्न गाउँपालिकाले सकेको सहयोग गर्ने सोच बनाएको छ,’ उनी भन्छिन्, ‘लोकल जातको बीउ लगाउने गरेकाले अझै सोचेजति उत्पादन हुन नसकेको देखिन्छ । उन्नत जातको बीउ लगाउने हो भने अहिलेभन्दा धेरै तोरी उत्पादन हुने देखिन्छ ।’
जंगली जनावरको भय
५ वडा रहेको ठोरी गाउँपालिकाका सबै वडामा तोरी खेती हुन्छ । तर, विशेषगरी वडा नम्बर ३ र ४ मा बढी हुने गरेको स्थानीय जोशी बताउँछन् । ३ र ४ वडाका झन्डै ९० प्रतिशत किसानले तोरी खेती गरेको उनी सुनाउँछन् ।
यी दुई वडामा तोरी खेतीबाहेक उखु खेती पनि हुने गरेको छ । ३ र ४ वडाको तुलनामा ५ मा तोरीखेती लगाउने किसान कम रहेको उनले बताए । ठोरी गाउँपालिकाका १, २ र ३ वडा चितवन राष्ट्रिय निकुञ्जसँग एवं ४ र ५ नम्बर वडा पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका बस्ती भएकाले यहाँ जंगली जनावरले सताउने गरेको छ ।
हात्ती, बँदेललगायत जनावरले बालीमा क्षति गर्ने गरेका कारण किसानले खुलेर खेती गर्न सकेका छैनन् । त्रासबीच किसानले बाली लगाउने गरेका छन् । बालीलाई जंगली जनावरबाट बचाउने विकल्प अघि सारेको खण्डमा अझै बढी क्षेत्रफलमा तोरी खेती हुने किसान बताउँछन् ।
जंगली जनावरले दिने दुःखबाहेक यहाँका किसानलाई खेतीबालीसम्बन्धी प्राविधिक ज्ञानबारे सचेतना फैलाउनु आवश्यक रहेको किसानहरू बताउँछन् । गाउँपालिकाका कृषि प्राविधिक चन्दनभैया थारू यहाँका किसानलाई खेतीबाली सम्बन्धमा प्राविधिक ज्ञान आवश्यक रहेको बताउँछन् ।
‘ढिलो तोरी छर्ने केही किसानको बालीमा फूल लागेपछि मरिहाल्ने समस्या देखिने गरेको छ,’ उनी भन्छन्, ‘खेती लगाउने उपयुक्त समय पहिचान नगर्दा र उन्नत जातको बीउ नभएका कारण तोरी बालीमा यस्तो समस्या आइरहेको छ ।’
तीन महिनामै प्रतिफल
स्थानीय किसान भुपाल जोशीका अनुसार यहाँका किसानले कात्तिक दोस्रो सातातिर तोरी खेती लगाउन सुरु गर्छन् भने माघ पहिलो साता भित्र्याउने गर्छन् । यसरी सरसर्ती हेर्दा लगभग तीन महिनाको छोटो समयमा नै तोरी खेतीबाट राम्रो आम्दानी हुने उनी बताउँछन् ।
तोरी खेती गर्दा किसानले धेरै खर्च पनि गर्नु नपर्ने र छोटो समयमा नै प्रतिफल पाउने भएकाले यहाँका किसान तोरी खेतीतर्फ आकर्षित बनेको गाउँपालिका उपाध्यक्ष रेग्मी बताउँछन् ।
यो खेती गर्न सहज पनि छ । खनजोत गरेर तोरी छरेपछि बीचमा विषादी छर्ने र मल हाल्ने काम हुन्छ । तोरी पाकेपछि उखेल्न मात्रै जनशक्ति प्रयोग हुन्छ । तोरी उखेलेपछि थ्रेसिङको सहयोगमा झार्ने काम हुन्छ । थ्रेसिङ भइरहेको समयमा नै व्यापारीहरू तोरी किन्न आउने भएकाले भण्डारण गरिरहनु नपर्ने जोशी बताउँछन् ।
के–के हुन्छन् खेती ?
गाउँपालिकाको तथ्यांक अनुसार ठोरीका सबै वडामा खाद्यान्न बालीका रूपमा किसानले धान, मकै, गहुँ, कोदो लगाउने गरेका छन् । नगदेबालीका रूपमा भने तोरी, सुर्ती, उखु, कुरिलो, खुर्सानीलगायत बाली लगाउने गरेका छन् । पछिल्लो समय यहाँका किसान आँप, रुखकटहर, केरालगायत खेतीमा पनि आकर्षित भएको पाइन्छ ।