Sunday, January 12, 2025
घरसमाचारतस्कर समूहले बोलाउँथ्यो पथलैया, निकुञ्जको टोलीले बनायो हेटौंडा ‘मिड प्वाइन्ट’

तस्कर समूहले बोलाउँथ्यो पथलैया, निकुञ्जको टोलीले बनायो हेटौंडा ‘मिड प्वाइन्ट’

खाग तस्करको समूहलाई नियन्त्रणमा लिने क्रममा नेपाली सेनाको टोली (तस्वीर : सामाजिक सञ्जाल)


११, पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु तस्करी गिरोहलाई नियन्त्रणमा लिने, पक्राउ गर्ने ‘एन्टिपोचिङ युनिट’ बाह्रै महिना सक्रिय हुन्छ ।

विश्वकै एकसिङ्गे दुर्लभ गैंडाको खागको तस्करी गर्ने गिरोहको सुक्ष्म अनुसन्धान गर्ने, आफ्ना विभिन्न संयन्त्रहरू परिचालन गर्ने, ग्राहक बनेर तस्करसम्म पुग्ने लगायतका यो युनिटले अपनाइरहेको हुन्छ ।

यही सिलसिलामा केही दिनअघि तस्करीमा संलग्न एक गिरोहले खाग किन्ने व्यक्तिको खोजी गरिरहेको सूचना टोलीले थाहा पाउँछ । र, ग्राहक बनेर सो टोली गिरोहको सम्पर्कमा पुग्छ ।

गिरोहले आफूसँग खाग रहेको भन्दै उपयुक्त स्थानमा मात्रै बिक्री गर्ने बताउँछ ।

तस्करको समूहले रकमको बार्गेनिङ गर्दै बाराको पथलैयाभन्दा अझै पूर्व बोलाउँछ । तर, निकुञ्जको टोलीले धेरै टाढा जान नहुने भन्दै अस्वीकार गर्छ ।

पथलैयामा खागको खरिद/ब्रिकी गर्ने सहमतिपछि ग्राहक बनेर निकुञ्जको टोली त्यहीँ पुग्छ । तर, त्यतिबेला गिरोहका कुनै सदस्य सम्पर्कमै आएनन् ।

पछि पुनः हेटौंडामा भेट्ने र खागको कारोबार गर्ने सहमति बन्छ ।

सोही सहमति अनुसार आज बिहान हेटौंडा उपमहानगरपालिका–८ गदईमा दुई पक्षको भेटघाट हुन्छ ।

तस्करको टोली अपेक्षा गरेको भन्दा ठूलो समूहमा रहेको र ग्राहक टोली निकुञ्जकै भएको हुनसक्ने देखेपछि तस्करहरू भाग्न खोज्छन् ।

सो क्रममा निकुञ्जले पाँच राउण्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गर्न सफल भयो । बाँकी सबै फरार छन् । उनीहरूको खोजी कार्य भैरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जले पक्राउ गरेको व्यक्ति नै निकुञ्जको ग्राहक टोलीसँग निरन्तर सम्पर्कमा भएका प्रमुख व्यक्ति भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।

‘एक जना खाग बेच्ने तस्कर पक्राउ परेका छन्, उनीसँग नै हाम्रो नियमित सम्पर्क भएको हो, अब छानबिनका क्रममा थप विषयहरू खुल्दै जाला,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले अनलाइनखबरसँग भने, ‘उनीहरूले भनेको खाग पनि हामीले बरामद गरेका छौं ।’

उनीहृलाई चितवन राष्ट्रिय निकुञ्ज वरपरकै क्षेत्रमा चितवनमा नै बोलाएर खाग लिने प्रयास निकुञ्जले गरे पनि सहमति नभएपछि मध्यविन्दु खोजिएको डा. पन्तको भनाइ छ ।

‘उनीहरु हामीलाई पथलैयाभन्दा अझै पूर्वतिर बोलाएर आफूलाई सुरक्षित राख्न खोजिरहेका थिए,’ उनले भने, ‘तर हामी उनीहरूलाई चितवन निकुञ्जकै वरपर ल्याउन खोजिरहेका थियौं ।’

डा. पन्तका अनुसार निकुञ्जका १२ जनाको टोली तस्करहरूसँग डिल गर्न विभिन्न तरिकाले खटिएको बताए ।

पक्राउ परेका मुख्य व्यक्तिलाई निकुञ्जको हिरासतमा राखिएको छ । उनको साथबाट बदामद गरिएको वस्तु खाग हो वा होइन भन्ने विषयमा प्रहरीको विधि विज्ञापन प्रयोगशालामा परीक्षणका लागि पठाइनेछ ।

उनको साथमा रहेको मोबाइल पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेका व्यक्तिलाई नै प्रमुख आधार बनाएर अरू संलगनहरूको खोजी गरिने डा.पन्तले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -