२०८३ असार २८ गते, आईतवार ०७:१४

माछीखोला जलविद्युतको काम तत्काल रोक्न धार्चे गाउँपालिकाको आग्रह

३० मंसिर, गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा-३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ।

वातावरण प्रभाव मुल्याकंनको मापदण्ड विपरित जथाभावी उत्खनन गरेको भन्दै पालिकाले काम बन्द गर्न भनेको हो । सम्बन्धित निकायबाट अनुमति समेत नलिएको पालिकाले जनाएको छ ।

‘क्याम्प बनाउन भन्दै रेसे खोलामा अहिले जथाभावी डोजर लगाएको छ,’ पालिका अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘अस्ति अनुगमन गर्न जादाँ पहिले माथिबाट डोजरले खनेर पछि फेरी तलबाट खनेको देखियो ।’

यसरी जथाभावी डोजर लगाउँदा माछिखोला रेसे सडकमा क्षति पुगेको र सिङ्ला गाउँ र माछिखोला बजारमा पहिरो जोखिम बढेको उनले बताए । उनले भने, ‘यसरी मनपरी डोजर लगाउँदा बर्षायाममा पहिरो जान सक्ने सम्भावना भएकाले माथिल्लो क्षेत्रमा रहेको सिङ्ला गाउँ र तल रहेको माछिखोला बजार पहिरोको जोखिममा परेको छ ।’

आयोजनाको डिपिआर अध्ययन गरी जोखिममुक्त तथा न्यूनिकरणको विश्वास सुनिश्चित नभएसम्म निर्माण कार्य अघि नबढाउन पालिकाले भनेको छ ।

जथाभावी डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन एवं वन क्षेत्रमा हानी नोक्सानी पुर्‍याउने काम आयोजनाले गरेको पालिकाले जनाएको छ । सम्बन्धित निकायको स्वीकृती बिना उक्त काम भएको भन्दै उनले आपत्ति जनाए ।

‘वन मन्त्रालय लगायतका सम्बन्धित सबै निकायबाट स्वीकृती नलिई डोजर नचलाउनु भनेर पत्राचार समेत गरेका थियौ, तर अटेर गर्नुभयो,’ गुरुङले भने, ‘उहाँहरुले जथाभावी डोजर लगाउँदा गत बैशाखमा रेसेफाँटमा पहिरो गएर पाँच जनाको ज्यान समेत गयो ।’ उक्त पहिरोमा घाइते भई हाल उपचाररत दुई जनाले हाइड्रोबाट उपचार खर्च समेत नपाएको भनी पालिकामा निवदेन समेत परेको उनले जानकारी गराए ।

स्थानीय सरकार र सरोकारवालासँग आवश्यक छलफल र समन्वय गरेर मात्र अघि बढ्न पालिका अध्यक्ष गुरुङले सुझाव दिएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्राकृतिक स्रोत साधन तथा वन जंगलको संरक्षण, अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई रहेको पालिकाले जानकारी समेत गराएको छ ।

आयोजनाका कृष्ण आचार्यले मन्त्रीपरिषदबाट अनुमति लिएर काम अघि बढाएको बताए । ‘वातावरण प्रभाव मूल्याकंन (इआइए) र विद्युत खरिद सम्झौता (पीपीए) गरिसकेका छौ,’ उनले भने, ‘एक दुई वटा कुरा बाँकी होला, त्यस बिषयमा प्रोजेक्ट म्यानेजरसँग कुरा गरेर एक/दुई दिनमा पालिकाको पत्रको जवाफ दिन्छौ ।’

वाटर इनर्जी डेभलपमेन्ट प्रालि काठमाडौंले उक्त क्षेत्रमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM