इलाम । इलाम सदरमुकाममा अवस्थित ठुलो टुँडिखेलमा जारी दोस्रो संस्करणको इलाम गोल्ड कपको अन्तिम क्वाटर फाइनलबाट रेड स्टार झापा अन्तिम चारमा आफूलाई सुरक्षित गरेको छ । मङ्गलवार भएको खेलमा रेड स्टार झापाले मच्छिन्द्र फुटबल क्लबलाई २/१ गोल अन्तरले पराजित गरे सँगै सेमिफाइनल समीकरण पुरा भएको छ ।
पहिलो हाफको सुरुवातीदेखि दबाबमा राखेको रेड स्टारले खेलको ३५ औ मिनेटमा आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७० औ मिनेटमा मचिन्द्रका देवेन्द्र तामाङले गोल गर्दे खेललाई बराबरी बनाए । त्यसको ११ मिनेट बित्दा नबित्दै रेड स्टार झापाका पोकु हेङ्ग्रीको फ्री किक प्रहारलाई नीरज कार्कीले जाली चुमाउँदै खेललाई अग्रता बनाए । उक्त गोल नै सेमिफाइनल यात्रा कोलागि निर्णायक बन्यो ।
मचिन्द्रका कोच सन्तोष न्यौपानेले प्रतिस्पर्धी टिमको खेल राम्रो भएको र आफ्नो टिममा तालमेल नबन्दा हार बेहोर्न परेको बताए । यता रेड स्टार झापाका कोच सचिन्द्र धिमालले अहिलेको टिम खेलमा फिट हुन नसकेको कारण सोचेअनुसार नभए पनि खेल राम्रो भएको बताए ।
मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडी समेत पुरस्कृत हुनेछन् ।