२५ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा संलग्न आरोपीलाई प्रहरी दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका निराजन नेपालीलाई दुबईबाट पक्राउ गरेर ल्याइएको हो ।
इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) यूएईको समन्वयमा उनलाई पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
मानव बेचबिखनको मुद्दामा फरार उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ७ साउन २०८१ मा रेड नोटिस जारी भएको थियो ।
पक्राउ परेका नेपालीमाथि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अनुसन्धान थालेको छ ।