Sunday, December 15, 2024
घरसमाचार‘बलात्कारको प्रतिकार गर्दा बारपाककी सूचिनाको हत्या’

‘बलात्कारको प्रतिकार गर्दा बारपाककी सूचिनाको हत्या’

२५ मंसिर, गोरखा । गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

गुरुङविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

गत १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी सूचिना सम्पर्कविहीन भएकी थिइन् । खोजी गर्दै जाँदा उनको शव १८ मंसिरमा जंगलमा गाडिएको अवस्थामा फेला पर्‍यो ।

हत्याको आशंका र केही प्रमाणसमेतका आधारमा प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । पक्राउपछि सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी वासुदेव पाठकले मंगलबार आरोपीलाई सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी गराएका हुन् ।

यसरी स्वीकारे आरोपीले हत्या

प्रहरी अनुसन्धानका अनुसार सूचिना १५ मंसिरमा मैखर्क जंगलतर्फ गएकी थिइन् । घाँस काट्न भन्दै गएकी घले नफर्किएपछि सोही दिन परिवारका सदस्यहरूले खोजे ।
सूचिना नभेटिएपछि परिवारले बारपाक प्रहरी चौकीमा खबर गरे ।

प्रहरीसहितको खोजीपछि सूचिना अन्ततः १८ मंसिरमा खाडल खनेर पुरिएको अवस्थामा फेला परिन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी कमाण्डको टोली तालिमप्राप्त कुकुरसहित घटनास्थलमा खटियो ।

सो दिन प्रहरीले घटनास्थल सुरक्षित मात्रै ग¥यो ।

‘एक त माइती पक्षले हामी पनि आउँदै छौं, त्यतिन्जेल शव ननिकाल्नु भन्नुभएको थियो,’ एसपी पाठकले भने, ‘अर्काे राती भइसकेकाले पनि हामीले मुचुल्का लगायतका अन्य काम गरेनौं ।’

भोलिपल्ट स्थानीय जनप्रतिनिधि, माइती पक्ष लगायतको उपस्थितिमा शव उत्खनन् गरिएको प्रहरीको भनाइ छ ।

शव उत्खनन् गर्दा सूचिनाको टाउकोमा धारिलो हतियारले काटेको चोट देखियो । दाँया हातको दुईवटा औंला काटिएका थिए ।

शव गाडिएको ठाउँ नजिकै सूचिनाको चप्पल, हँसिया र डोको फेला पर्‍यो । कम्मर नजिकैको भागमा पछ्यौरी र ज्याकेट खोलिएको अवस्थामा थियो । नाम्लो भने कम्मरको भागमा खुकुलो गरि बेरिएको (बोक्न मिल्ने गरी) थियो ।

अनुसन्धानको क्रममा शव गाडिएको स्थानदेखि करिब ३० मिटर पर अर्को डोको भेटियो । डोकोभित्र घाँस र रातो उनीको टोपी थियो । करिब एक सय मिटर तल निगालाको बोटमा केही रगत देखियो । नजिकै कम्ब्याट क्याप, लेबन्टि र कपालको गुजुल्टो फेला पर्‍यो ।

लगत्तै शव पोस्टमार्टमका लागि पठाइयो ।

प्रहरीले अनुसन्धानका क्रममा घाँस काट्न जाने मानिस, उक्त जंगल वरपरका भेडीगोठालाहरूसँग आवश्यक सोधपुछ हुन थाल्यो । लगभग ५० बढी मान्छेहरूसँग सोधपुछ भएको प्रहरीले जनाएको छ ।

प्रहरी निगरानीमा राख्दै केहीलाई तारेखमा छाडिदियो । गुरुङ भाषा बुझ्न प्रहरीले दोभासेको पनि प्रयोग गर्‍यो । २२ मंसिरमा मन शम्जेर (हत्या आरोपमा हाल पक्राउ परेका) सँग सोधपुछ भयो । सुरुमा उनले प्रहरीलाई ढाँटे ।

उनको हातमा चोटपटक थियो । निगरानीमै राखेर मन शम्जेरलाई पनि तारेखमा छाडियो ।

भोलिपल्ट (मंसिर २४) गते पुनः उनीसँग सोधपुछ भयो । त्यतिबेला आफूले हत्या गरेको उनले स्वीकारे ।

प्रहरीमा दिएको बयान अनुसार उनी पनि त्यो दिन (मंसिर १५ गते) घाँस काट्न सोही जंगलतर्फ गएका थिए । उनले बयानका क्रममा सूचिनालाई बलात्कारको प्रयास गरेको बताएका छन् ।

सूचिनाले प्रतिकार गर्न थालेपछि मन शम्जेरले मुखमा घाँस, गोबर र माटो कोचेर हत्या गरेको प्रहरीसँग बताएका छन् ।

घटनास्थलदेखि करिब ५० मिटर माथि खाडल खनेर उक्त शव उनले गाडिदिए । उनले मृतककै ज्याकेट र नाम्लोको साहरा लिएर शव खाडलसम्म पुर्‍याएका थिए ।

पक्राउ पर्नुअघि लेखे ‘बयान नोट’

मन शम्जेरको घरबाट प्रहरीले एउटा ‘बयान नोट’ पनि फेला पारेको छ ।

‘साधेपुछकै क्रममा उक्त घटना आफूले नै घटाएको भनी नोट लेखेर घरको दराजमा राखेको भन्ने उनले बताए,’ एसपी पाठकले भने, ‘निजको घर खानतलासी गर्दा उनको कोठाको दराजमा ‘मेरो बयान’ शीर्षकमा लेखिएको पत्र भेटियो ।’

‘आफूबाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्ने व्यहोरा उक्त पत्रमा लेखिएको प्रहरीले जनाएको छ । पत्रमा उनले आफ्नो नाम लेखेर हस्ताक्षर र औंठा छाप समेत लगाएको भेटिएको प्रहरीले बताएको छ ।

उक्त घटनापछि मन शम्जेरले दुई पटक आत्महत्याको प्रयास समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले बताए अनुसार मृतक सूचिना र मन शम्जेर छिमेकी हुन् । तर, उनीहरूबीच चिनजान समेत भएको थिएन ।

धार्चे गाउँपालिका–६ काशिगाउँकी सूचिनाको बारपाकका धनबहादुर गुरुङसँग गत वैशाखमा मात्र विवाह भएको थियो । त्यसपश्चात काठमाडौं बस्दै आएका उनीहरू तीन महिना अघिमात्रै गाउँ फर्किएका थिए ।

हत्यारा पत्ता नलागेसम्म शव बुझ्न परिवारले इन्कार गरेकाले हाल सूचिनाको शव त्रिवि शिक्षण अस्पतालमै छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -