१४ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक विवरणमा उनले ३ वटा घर देखाएका छन् ।
मुख्यमन्त्री कार्कीले झापामा २ वटा र ललितपुरमा एउटा घर देखाएका हुन् । झापाको दुई वटा घर दाजु दीपक कार्कीसँगको संयुक्त हो । झापाको गौरादह नगरपालिका– १ र वडा नम्बर ३ मा रहेको दुई वटा घर जग्गाको स्रोत पैतृक देखाएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा रहेको घरजग्गा भने श्रीमती अञ्जना कार्कीको नाममा छ । घरसँगै २३२ र २८६ वर्गमिटर जग्गा छ । यो घरजग्गा २०७७ सालमा १ करोड ४० लाखमा खरिद गरेको उल्लेख हुन् । घर खरिद गर्दा उनी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा सार्वजनिक गरेको विवरणमा काठमाडौंको घर खरिदका लागि एभरेस्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएको देखाएका छन् । बाँकी रकम अन्य लगानीबाट भएको आम्दानीलाई देखाएका छन् ।
५ वर्षसम्म ऋण बढ्यो न घट्यो !
मुख्यमन्त्री कार्कीले शुक्रबार सार्वजनिक विवरणमा देखाएको ऋण जतिको त्यति नै छ । अर्थात् उनले ५ वर्षअघि देखाएको ऋणमा कुनै फेरबदल आएको छैन । उनले यो अवधिमा सावाब्याज तिरेको वा नतिरेको पनि भन्ने खुलाएका छैनन ।
मुख्यमन्त्री कार्कीले ऋण लिएको विवरण पनि फरक देखिएको छ । शुक्रबार सार्वजनिक विवरणमा २०७७ साल असोज महिनामा एभरेस्ट बैंकबाट ९० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । शुक्रबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा उक्त ऋण ललितपुरको घर खरिदका लागि लिएको देखाएका छन् ।
यसअघि उनी ०७७ साल साउनमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्दा पनि ९० लाख रुपैयाँ नै देखाएका थिए । तर, कुन मितिमा लिएको ऋण भन्नेबारे उल्लेख गरेका थिएनन् । त्यतिबेला पनि उनले ललितपुरको महालक्ष्मी नगरपालिकामा घरजग्गा किन्दा लिएको ऋण नै उल्लेख गरेका थिए ।
तर, शुक्रबार सार्वजनिक भएको ऋण विवरणअनुसार भने मुख्यमन्त्री कार्कीले अघिल्लो पटक आफैंले देखाएको विवरण नै फरक हुने गरी ऋण लिएको मिति उल्लेख गरेका छन् । उनको विवरणअनुसार अघिल्लो पटक उल्लेख गरेको ऋण विवरणभन्दा २ महिनापछि मात्रै लिएको विवरण देखाएका हुन् ।
यद्यपि, मुख्यमन्त्री कार्कीको सचिवालयले भने शुक्रबार सार्वजनिक भएको सम्पत्ति विवरणमा ०७६ सालमा ऋण लिएको देखाउनुपर्नेमा भूलवश ०७७ साल हुन गएको स्पष्टीकरण दिएको छ ।
त्यसबाहेक आफ्नो सम्पत्ति विवरणमा मुख्यमन्त्री कार्कीको हाउजिङ कम्पनी, अस्पताल र निजी विद्यालयमा पनि लगानी रहेको पनि उल्लेख गरेका छन् ।
ड्रिमल्याण्ड हाउजिङ कम्पनीमा उनको १० हजार कित्ता शेयर छ, शहिद मेमोरियल अस्पताल कलंकी काठमाडौंको एक हजार ५०० कित्ता शेयर छ । श्रीमती अन्जना पाण्डे कार्कीको नाममा लिभरपुल एजुकेशन नेटवर्क प्रालिमा २१ लाख ३८ हजार लगानी छ ।
२०७७ सालमा सेन्ट्रो कार रहेको विवरण देखाएका कार्कीले यो पटक सम्पत्ति विवरणमा गाडीको विवरण देखाएका छैनन । मुख्यमन्त्री कार्कीसँग ६ तोला सुन र १० तोला चाँदी छ ।
अन्य मन्त्रीको कति छ सम्पत्ति ?
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिरहेका मन्त्री भूपेन्द्र राईको नाममा दुई वटा घर र जग्गै–जग्गा छ ।
सार्वजनिक विवरण अनुसार मन्त्री राईको नाममा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ वटा घर छ । १५ वटा छुट्टा छुट्टै कित्ता नम्बरको जग्गा खोटाङमा छ । घरजग्गाको स्रोत पैतृक देखाएका छन् । उनीसँग १५ तोल सुन र १० तोला चाँदी छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईसँग दुईवटा घर छ । खोटाङ र भक्तपुरमा दुईवटा घर देखाएका हुन् ।
खोटाङको रुपाकोट मझुवागढीमा पुर्ख्यौली स्रोतबाट एउटा घर जोडेको विवरण पेस गरेका उनले भक्तपुरको मध्यपुर थिमीमा भने आफ्नै स्रोतबाट खरिद गरेको उल्लेख गरेका छन् । मन्त्री राईले सार्वजनिक गरेको विवरणमा खोटाङमा ६६ रोपनी जग्गा र १० तोल सुन रहेको उल्लेख छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको नाममा एउटा घर छ । इलामको ६ ठाउँमा मन्त्री मगरको नाममा जग्गा छ । तीन वटा कम्पनीमा मन्त्री मगरको नाममा शेयर छ । उनले ३८ लाख ऋण देखाएका छन् ।
कोशी प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री एकराज कार्कीले झापाको विर्तामोडमा एउटा घर देखाएका छन् । उनले श्रीमती र आफ्नो नाममा विर्तामोडमा ८ वटा छुट्टा छुट्टै कित्ता नम्बरको जग्गा देखाएका छन् । साढे १० तोल सुन, एउटा गाडी देखाएका कार्की बैंक र व्यक्तीबाट एक करोड ५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।
कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको नाममा ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ४ मा घरजग्गा छ । मन्त्री हाङगामको नाममा ४५ तोल सुन र ४० तोला चाँदी छ । विभिन्न सातवटा हाइड्रो पावरमा लगानी छ ।
कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सुनसरीमा ६ बिघा जग्गा र घर रहेको विवरण सार्वजनिक गरेका छन् । जग्गा ३ करोड १९ लाखमा खरिद गरेका हुन् । यो जग्गा खरिदका लागि ११ बिघा जग्गा बिक्री गरेको उल्लेख गरेका छन । त्यस बाहेक ३ स्थानमा खेती योग्य जमिन छ ।
कोशी प्रदेशकी राज्यमन्त्री सृजना राईको नाममा भोजपुरको भोजपुर नगरपालिका– ८ मा एउटा घर र जग्गा छ । चार तोला सुन र २५ तोला चाँदी छ । उनको युनिक एण्ड युनाइडेट पब्लिक एकेडेमीमा पनि लगानी छ । उनले ७४ लाख रुपैयाँ ऋण रहेको देखाएकी छन् ।
भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीसँग झापाको केचनकलमा एउटा घर र ठाउँठाउँमा जग्गा, ३० लाख बैंक मौज्जात रहेको देखाएका छन् । २० तोला सुन १२४ तोला चाँदी रहेको विवरण देखाएका राज्यमन्त्री राजवंशीले सम्पत्तिमा एउटा भरुवा बन्दुकलाई पनि देखाएका छन् ।