११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुने मिति नजिकँदै गर्दा अहिले यसको चहलपहल धेरै बढेको छ ।
मंसिर १५ देखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा ८ टिम सहभागि एनपीएल सुरु हुनेछ । त्यसका लागि अहिले आयोजक नेपाल क्रिकेट संघ (क्यान) देखि सहभागि फ्रेन्चाइज टोलीहरु तिव्र तयारीमा छन् ।
खेलाडीहरु मैदानमा प्रशिक्षक गर्ने अभ्यास खेल खेल्ने देखि पुरस्कार र प्रायोजकको घोषणा हुने क्रम जारी छ । यस्तै विदेशी प्रशिक्षक र खेलाडीहरु पनि नेपाल आउन थालेका छन् ।
काठमाडौं बाहिर प्रशिक्षण गरिरहेका टोलीहरु पनि काठमाडौं आउने क्रममा छन् । अब केही टोली मात्र काठमाडौं आउन बाँकी छ ।
मंसिर ११ गते मंगलबार एनपीएलसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । के के भयो मंगलबार सबै कुराको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाखको कार!
नेपाली खेलाडीहरुको लागि खुशीको खबर । अब खेलेर कार चढ्न पाइने भएको छ । एनपीएलमा विश्वका नाम चलेका स्टार खेलाडी खेल्न आउँदैछन् । विदेशी खेलाडी हावी हुने अनुमान हुन थालेको छ ।
उत्कृष्ट खेलाडी त विदेशी नै बन्ला भन्ने धेरैको अनुमान छ । तर नेपाली खेलाडीहरु मध्ये उत्कृष्ट हुनेले कार पुरस्कार पाउनेछन् ।
एनपीएलभर उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले लिग सकिएपछि ओमोडा ई ५ कार प्राप्त गर्नेछन् । उक्त कारको मुल्य ६२ लाख रहेको छ ।
शारडा समूहले उक्त कार प्रदान गर्ने भएको हो । मंगलबार एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ क्यान र ओमोडा एण्ड जेइकोका नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सबीच कार पुरस्कार दिने विषयमा सम्झौता भएको हो ।
शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह प्रयोजकको रूपमा एनपीएलमा जोडिएको हो ।
उपाधि जिते जनकपुरका खेलाडीले १-१ लाख पाउने
जनकपुर बोल्ट्सका खेलाडीहरुका लागि पनि मंगलबार खुशीको खबर रहेको छ । एनपीएलको उपाधि जितेमा मुख्य प्रायोजक एनडीए इन्टरनेशनलले जनकपुरका हरेक खेलाडीलाई नगद १ लाख प्रदान गर्ने घोषणा गरेको छ । यस्तै फाइनल पुगेका बोल्ट्सका खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।
मंगलबार जनकपुर बोल्ट्स र एनडीए इन्टरनेसनलबीच मुख्य प्रायोजक सम्बन्धि सम्झौता कार्यक्रममा एनडीए इन्टरनेशनलले उक्त घोषणा गरेको हो । यसले जनकपुर बोल्ट्सका खेलाडीहरुलाई एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्न उत्साह मिलेको छ । आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुवुदु दासानायके मुख्य प्रशिक्षक छन् ।
जनकपुरले सोही कार्यक्रममा टिमको अफिसियल जर्सी र एन्थम पनि औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
जनकपुर मुख्य प्रायोजक पाउने चौथो एनपीएल फ्रेन्चाइज बनेको छ । यसअघि काडमान्डु गुर्खाज, विराटनगर किंग्स, चितवन राइनोजले मात्र मुख्य प्रायोजक पाएका छन् ।
कर्णाली याक्सका वाल्टन र बाबर आइपुगे
कर्णाली याक्सका दुई विदेशी खेलाडी वेष्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हात एनपीएल खेल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।
वाल्टन र बाबरले यसअघि पनि नेपालमा लिग खेलिसकेका छन् । वाल्टनले दुई वर्षअघि भएको नेपाल टी२० लिग जनकपुर रोएल्सबाट खेलेका थिए । यस्तै बाबरले इपीएल, डीपीएल र पीपीएल खेलिसकेका छन् ।
कर्णाली याक्सले भारतीय स्टार शिखर धवनलाई पनि अनुबन्ध गरेको छ । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाद्यी याक्सको मुख्य प्रशिक्षकका राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।
सुदूरपश्चिमलाई सूर्य प्लाईको साथ
सुदूरपश्चिम रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलबार सूर्य प्लाईको तर्फबाट सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरे ।
रोएल्सका सिइओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे ।
सूर्य प्लाईका प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सूर्य प्लाईको साथ रहने बताए । साथै उनले खेलकुदको विकासका लागि निजि क्षेत्रको आबद्धता हुनुपर्ने बुझेर नै रोयल्ससँग हातेमालो गरेको बताए ।
आफ्नै प्रशिक्षक दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी र जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको मेन्टरमा अष्ट्रेलियाका टी२० विश्वकप विजेता ब्राड हज छन् ।
विदेशी खेलाडी घोषणा हुने क्रम
एनपीएलमा हरेक फ्रेन्चाइजले ४ विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ भने बढीमा ६ विदेशी खेलाडी राख्न पाउनेछन् । अहिलेसम्म सबै ८ फ्रेन्चाइजले कम्तीमा ४ विदेशी घोषणा गरिसकेका छन् । केही टिमले ५ विदेशी पनि घोषणा गरिसकेका छन् ।
अझै पनि विदेशी खेलाडी अनुबन्ध क्रम जारी छ । चितवन राइनोजले यसअघि अनुबन्ध गरेको साउथ अफ्रिकन पेस बलर मर्चेन्ट डी लाङ घाइते भएपछि उनले एनपीएल गुमाउने भएका छन् । उनको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्ने चितवनको तयारी छ । चितवनले ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको थियो ।
चितवनले मंगलबार एक भिडियो पोष्ट गर्दै टी२० विश्वकप, आईपीएल र पीएसएल जित्ने खेलाडी अनुबन्ध गर्न लागेको जानकारी दिएका छन् । समर्थकले तीनवटै उपाधि जित्ने पाकिसत्नका सोहेल तनविर भन्दै समेन्ट पनि गरेका छन् ।
चितवनको अन्य विदेशी खेलाडीमा इंग्ल्याण्डका रबि बोपारा र लुक बेनकेनस्टेइन, नामिबियाका जान निकोलस लफ्टी इटन तथा अफगानिस्तानका हसन इसाखिल छन् ।
चितवन बाहेक पोखरा एभेन्जर्सले ६, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले पनि समान ५ विदेशी अनुबन्ध गरेका छन् भने सुदुरपश्चिम रोएल्सले ४ मात्र विदेशी अनुबन्ध गरेको छ । पोखराका एक विदेशी खेलाडी नआउने पक्का भएको छ र विदेशी खेलाडी संख्या ५ नै छ । सुदूरपश्चिम थप विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीमा छ ।
एक्सन स्पोर्ट्सको युट्युबमा एनपीएल
एनपीएलको पहिलो संस्करणको खेलहरु एक्सन स्पोर्ट्सको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।
डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच मंगलबार सम्झौता भएको हो । सम्झौतापछि अब क्रिकेट समर्थकहरुले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।
एनपीएलका खेलहरु टेलिभिजनमा भने स्टार स्पोर्ट्सबाट प्रसारण हुनेछ ।