Tuesday, November 26, 2024
घरसमाचारबाटुलीले किन घर छाडिन् ?

बाटुलीले किन घर छाडिन् ?

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ यतिबेला चर्चाको शिखरमा छ । आफ्नो सन्तानको भविष्यका लागि एक विपन्न बाबुले गरेको संघर्षको कथाले धेरैको मन छोएको छ । भावुक बनाएको छ, सोचमग्न बनाएको छ ।

‘पूर्णबहादुरको सारङ्गी’ विरह र संघर्षको धुन हो । यसमा एक विपन्न गन्धर्व समुदायका पूर्णबहादुरले छोराको शिक्षाका लागि गरेको आन्दोलन छ । त्यस्तै अन्य पात्रले गरेका आन्दोलनका कथा छन् फिल्ममा ।

पूर्णबहादुरका छिमेकी भाइले पूर्खाको संस्कार र पेशा नछाड्न भनेर भन्दा उनी जसरी पनि आफ्नो छोरालाई शिक्षा दिएरै छाड्ने अठोट गर्छन् । जसलाई दर्शकले असल अभिभावकको कर्तव्यका रुपमा लिएका छन् । पूर्णबहादुरको त्यो आन्दोलनलाई सायद सफल भएको मान्नुपर्छ ।

फिल्ममा व्यवस्था विरुद्धमा नै भनिएको ‘मास्टर साब’को आन्दोलन पनि छ । मास्टर साब जो शिक्षाको दियो मात्रै बालेर हिंडेका छैनन्, प्रजातन्त्र र व्यवस्था परिवर्तनका लागि भूमिगत आन्दोलन पनि गरिरहेको देखाइएको छ । उनले आफ्ना लगायत ‘उच्च’ जात तथा पहुँचवालाका सन्तानलाई पढाउने तर गन्धर्वका सन्तानलाई पढ्नु हुँदैन, अझ थोत्रा विद्यालयका पोशाक पनि लगाउन मिल्दैन भन्ने मान्यता समेत राख्छन् । रहरलाई बाध्यताहरुले कुल्चिनुपर्छ अनि गरिब र कमजोरहरु भाग्यसँग सम्झौता गर्नुपर्छ भन्ने उनको व्यक्तिगत रबैयाले देखाउँछ ।

विपन्न, कमजोर, सारङ्गी रेटेर जीविकोपार्जन गर्नेहरुको प्रतिनिधित्व गरेका पूर्णबहादुर जस्ताका सन्तानलाई पढ्ने, अगाडि बढ्ने अवसर दिइनु हुँदैन भन्ने सामन्ती संस्कार स्वयंमा राखेर यो गलत हो र यसलाई परिवर्तन गरिनुपर्ने आन्दोलन गर्ने द्वेध चरित्र ‘कथनी र करनी’ फरक भएको चरित्रमा मास्टर साबलाई राखिएको छ । सामन्ती सोच राख्ने, सत्ताको शक्ति आफू र आफ्नाका लागि प्रयोग गर्ने तर जनताका लागि आन्दोलन गरेको भनी देखाउने हाम्रा अहिलेका नेताहरुका चरित्र मास्टर साबले गरेको मैले बुझें ।

शिक्षाले भविष्य बदलिन्छ, सन्तानलाई पढ्ने अवसर दिनु अभिभावकको कर्तव्य हो । यो फिल्मको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । छोरालाई सारङ्गी रेटेर वा सिधा अर्थमा मागेर खान नपरोस् भन्ने उद्देश्यले नै बाटुलीले हर्केको संगत गरेको देखाउन खोजिएको छ । हर्केसँग पोइला गएको थिइनन्, जसोतसो गरेर भए पनि सहरमा काम गर्ने र छोरालाई पढाउने उनको उद्देश्य थियो । तर अनपढ बाटुलीले पूर्णेलाई आफैंले चिठ्ठी लेख्न जानिनन् । एकोहोरो माया गरेको हर्केले दाउ लगायो र आफूसँग पोइल गएको भनी चिठी लेख्यो । शिक्षा जागिर वा इज्जतका लागि मात्रै होइन, आवश्यकता पनि रहेछ भन्ने यसले स्पष्ट गरेको छ ।

यति मात्रै होइन, छोराले डाक्टर बनेर घर आउँदै गरेको कुरा लेखिएको पत्र समेत पूर्णबहादुरले पढ्न जानेनन् । शिक्षा कति महत्त्व रहेछ ? सम्झेर धेरैको आँखा रसाउन बाध्य बनाएको थियो । दुई कक्षा मात्रै पढेका भए पनि चाहिने रहेछ । पढ्नु अति आवश्यक रहेको कथाको यो मर्मस्पर्शी दृश्यले स्पष्ट गरेको छ भन्दा फरक नपर्ला ।

कथामा पूर्णबहादुर अर्थात् बुबाको पक्षबाट चित्रण गरिएको छ । पूर्णबहादुरको नजरमा बाटुलीले धोका दिएको देखाएको छ, यद्यपि बाटुलीले छोराको उज्ज्वल भविष्यका लागि घर छाडेकी हुन्छिन् । पूर्णबहादुरलाई यो सत्य थाहा हुँदैन, त्यसैले उनको नजरमा बाटुली नराम्री भएकी हुन्छिन् । तर असल सन्तानले आमा र बुबामा दोष खोज्दैनन् । आमाबुबाको इज्जत खोज्छन् । आमाबुबाले राम्रो लुगा किनेर दिन नसकेकोमा, अरुको पुरानो लुगा दिएकोमा, विद्यालय पठाउन नसकेकोमा वा अन्य आवश्यकता पूरा गर्न नसक्दा दोष दिने गर्दैनन् । आफ्नो बुबालाई अपमान गरिंदा दु:खी हुन्छ र उनीहरुका सहयोगी हुँदै सपना पूरा गर्न हरसम्भव प्रयास गर्छन् । यो कथाको मुख्य सन्देश हो भन्दा फरक नपर्ला ।

सानो सानो कुरालाई पनि फिल्ममा स्थान दिएको रहेछ । एउटाले अलिकति प्रगति गरे, आफ्नैले पनि डाह गर्ने हुन्छन् । नेपाली समाजमा यो डाह गर्ने प्रवृत्तिले निकै जरा गाडेको छ । र, यसलाई पनि उतार्न सफल भएको छ । पूर्णबहादुरको छोराले नपढेसम्म धेरै राम्रो, तर पढ्न थालेपछि भाइ जस्तो छिमेकीले पनि डाह गरेको कस्तो मज्जाले चित्रण गरिएको छ । डाह यति बढेको छ कि डाक्टरी पढेको त सुन्न नि नसक्ने अवस्थामा पुगेको देखाएको छ ।

सायद यिनै सन्देश दिन खोजेको हुनुपर्छ ‘सारङ्गी’ले । कथाको भावले हो या प्रस्तुतिले धेरै जना भक्कानिए रे । तर सन्देश बुझेर बुबाआमाको सपना पूरा गर्ने सन्तानहरु कम्मर कसे अनि सन्तानका भविष्यप्रति अभिभावक संवेदनशील भइदिए समाज पक्कै बन्ने थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -