बाँके । लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको उद्घाटन गर्नुभएको हो। उहाँले हिंसा मुक्त प्रदेश बनाउने लक्ष्यका साथ जनचेतना अभिवृद्धिमा जोड दिन आग्रह गर्नुभयो। अभियानको क्रममा लुम्बिनी प्रदेशका १२ जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिने छ।
सामाजिक विकास मन्त्रालयले औपचारिक समारोहमार्फत अभियानको घोषणा गरेको हो। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अन्तर्राष्ट्रिय अभियान यसपटक “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” नाराका साथ सञ्चालन भइरहेको छ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाज रूपान्तरण र हिंसामुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री सीता शर्मा चौधरी, प्रदेश प्रमुख सचिव महादेव पन्थ, योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा सात सय १९ वटा लैङ्गिक हिंसाका मुद्दा दर्ता भएका थिए। तीमध्ये ६ सय ६८ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ८१ वटा मुद्दा प्रक्रियामा रहेका छन्।