गोरखा । नयाँ बस्ती निर्माण गरिएको लाप्राक स्थित गुप्सी पाखामा बिजुली बत्ती नहुँदा बस्ती अन्धकार भएको छ । केन्द्रीय प्रसारण लाइनको बिद्युत् नपुग्दा लाप्राक भने अझै पनि अन्धकारमय बनेको छ ।
नेपाल बिद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पोल जडान र तार बिस्तारको काम सम्पन्न भइसकेको छ । तर बिजुली बाल्न सकिएको छैन । जिल्लामा माग अनुसारको मिटर नआएकाले समस्या भएको कार्यालय प्रमुख चीजबहादुर गुरुङले बताउनुभयो ।
गाउँमा लघुजलविद्युत भएपनि नयाँ बस्तीमा जोडिएको छैन । केही घरधुरीमा साना आकारका सोलार राखेर बत्ती बालिएको स्थानीय फत्त बहादुर गुरुङले बताउनुभयो । केन्द्रीय लाइन विस्तारका लागि बारपाकदेखि लाप्राकसम्म करिब दुई सय वटा पोल राखेको दुई वर्ष वित्दा पनि लाप्राकमा बत्ती बल्न नसकेको हो ।
बारपाक सम्म बिद्युत् प्रवाह पालुङटारमा रहेको सव–स्टेशनबाट भएको छ । पालुङटार सवस्टेशनको पावरले नधानेको कारण पनि समस्या आएको शाखा प्रमुख गुरुङले बताउनुभयो । सिरानचोकमा सवस्टेशन सञ्चालनको अवस्थामा रहेको र त्यहीबाट लाप्राकमा बिद्युत् प्रवाह गर्ने तयारी भइरहेको गुरुङको भनाई छ ।
गोरखाको चुमनुव्रीका अधिकांश स्थानमा लघु जलविद्युतबाट बिजुली बलेका छन् । चुमनुब्री बाहेक गोरखाका १० पालिकामा राष्ट्रिय प्रशासरण लाइनका बिजुली बत्ती बलेका छन् । लाप्राक लगायतका दुर्गम क्षेत्रमा अझै बत्ती बल्न सकेको छैन ।