काठमाडौं । गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीसितको बैठकमा गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन समेत आग्रह गर्नुभयो । “३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ ।” उहाँले भन्नुभयो–“ शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।”
निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उहाँले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिति आउन नदिन आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय मुलुकमा लागूऔषधको अवैध कारोबार र दुर्व्यसन बढ्नुका साथै ठुलो चुनौतीका रुपमा देखा परेको बताउनुभयो ।
त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोले कारबाही अघि बढाइरहेको उहाँले बताउनुभयो ।
उहाँले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजश्व चुहावट नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण र सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी समेत दिनुभयो ।
गृहसचिव गोकर्णमणि दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले वैदेशिक रोजगारीका नाउँमा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागूऔषध नियन्त्रण लगायतका विषयमा पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभयो ।
गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्चुअल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरूको सहभागिता थियो ।