जितपुरबाट शनिश्चरे झरेको बराल पुस्ताको चकचके कृष्ण डेरिडाको डिकन्स्ट्रक्सन नेपाल झर्दा मेखबहादुरसित हाक्पारे गाएर डँडाल्नोमा सुम्ला उठ्ने गरी शिक्षकको कोदो चुटाइ सङ्गीतमा अभ्यस्त हुँदै थिए । तेत्तिखेरै काइँलाहरुले मिथ उभ्याएर कविताको गहिरो घनत्व भनिरहेका थिए।
बराल अक्षर खोज्न झापा झरे उता काइँला अक्षर पक्डिन दार्जिलिङ पुगे । हुनेखानेकै छोरा बराल फुक्काफाल बिन्दास बाल्यकाल बिताएका बाबुको खरो स्वभावको भरमार चुटान भेटेका आमाको न्यानो ममताले निथ्रुक्क भिजेका लीला लेखनका अति यथार्थवादी अद्यावधिक लेखक हुन् ।
जब एउटा लेखन सिद्धान्त लामो समय पार गर्छ त्यसले सीमा पार गरेर छिमेकीको बाली चरिसक्छ ।
बरालले लीलामार्फत जीवनको सम्पूर्णता प्रस्ट्याउन आफ्नो लेखनको सुरुवाती वर्षतिर जसरी भाषिक भञ्जन जटिलता प्रक्षेपण गरे त्यसरी समय हराएको बेलामा गरेनन्।
यो निबन्ध सङ्ग्रह नाति पुस्ताको खेलमा पनि केही अकथा (विशुद्ध निबन्धबाहेक कथामय निबन्ध) मा भाषिक सरलताको प्रयोग गरेका छन्। बरु कथा भनेको भए पनि हुन्थ्यो लाग्छ कतिखेर। लेखकले नाङ्गो सत्य बोल्न सक्छ भन्ने सिद्धान्तलाई बोकेर आफ्नो रक्स्याहा आदतको गहिराइ उदाङ्गो बनाएका छन् ।
निबन्धमा लेखकले गायक बन्ने उत्कट लक्ष्य कसरी बाल्यकालको गलत गुरुले खाडलमा जाक्यो भन्ने उट्पट्याङ सन्दर्भलाई हास्यमा घोलेर पाठकको आन्द्राभुँडी उधिन्छन्। हुनसक्छ बराल स्टेन्डिङ कमेडी गर्न सक्छन् ।
आफ्नै मिलमा भोक मेटाउन घानीबाट झर्दै गरेको चामल गोजीमा भरेर मुर्क्याउने आदतले चुर्ना हगेर बिरामी भएको बेला बाल्य सखा मेखेको ग्याङको चुनौतीमा सुर्ती निलेर बेहोस भएको कथा हरेकको बाल्यावस्थाको कथा हो।
चामल चपाउनु, चुर्ना हग्नु, सुर्ति निल्नु आमकथा हो। बच्चाहरुको सिकाइ आफ्नै दौंतरीबाट हुन्छ। उनीहरुको संसार वयस्कको जस्तै तर छुट्टै हुन्छ भन्ने निबन्धले देखाउँछ।
सतार केटा लेदिमाको कथा एक महसुर मिथ जस्तै लाग्छ। मिश्रित समाजले सिकाएको ज्ञान एउटा असल विद्यालयमा सिकिंदैन। बरालले लेदिमाबाट जति सिक्यो त्यो सम्पूर्ण विश्वविद्यालय थियो। माछा मार्ने ज्ञान जलचर वस्तुविनिमय आर्थिक उपार्जन सपनाहरूको पूर्ति, निडरता, वात्सल्य प्रेम, मित्रता, सद्भाव, त्याग, आवेग सबका सब त्यो बेलाको एक निरीह बराल पुत्रले सतारपुत्र लेदिमाबाट ग्रहण गर्यो।
आदिवासी ज्ञानको भण्डार उसले प्राप्त गर्यो। आफ्नै वंशले वर्जित गरेको सतार संस्कृतिको असाध्य प्रेमले नुहाएर हुर्केको हो कृष्णको बालमनोविज्ञान।
लेखकको मूल ध्येय नै आफैंलाई नछली बक्नु, इमानको खोलामा नुहाउनु, आफ्नो कलमलाई कपटको घामबाट जोगाउनु, दुधको दूध पानीको पानी छुट्याउनु दिमागले होइन हृदयले भन्नु हो। खासमा काइँलाको मातेको मान्छेको निष्कपट बात मार्दै हिंडेका छन् निबन्धभरि। जन्मदिन मनाउन हिंडेको बराल बन्द हड्तालमा उत्रेका उग्रवादीहरुले बाइक जलाएर घर फिर्छ।
हामीले लोकतान्त्रिक अभ्यास गर्दा निष्कलङ्क मान्छेहरूको मन जलाएर रुवाएका छौं। त्यो आँसुको कथाले दुखाउँछ। साँच्चै कर्म गर फलको आश नगर भनेर अर्जुनले कृष्णको उपदेश सुनेर आफ्नै बन्धुवान्धवमाथि गाण्डीव चलाएर सोत्तर बनाएको महाभारत गीता महान् सम्झेर आज मलामी जाँदा किन संवेदित हुनु र!
मानवता त्यहीं सिद्धिएको हो नि! दुश्मन आफन्तै भए पनि मारेरै अघि बढ्न सकिन्छ भन्ने मन्त्रले ध्यानस्त भएको यो मनुष्य चितामा लासलाई घोच्नुको मज्जाले बाँचिरहेको छ। प्रतिस्पर्धा बोकेर घर फर्किन्छ। प्रथम खण्ड सिद्धिन्छ।
दोश्रो खण्ड
“रङमा हराएको चित्र”मा अबोध तर हरामी चकचके कृष्ण बराल भाँडाकुटी खेल्दाखेल्दै बदियाको आगो बालेर अनायास घर सल्काउँछ। हिन्हिनाइरहेको घोडा देखेर चढ्न मन गर्छ। केही गरे पनि आगो मेरो कारणले लागेको भन्दैन रुँदैन।
गोजीमा सलाई जिउँदै देखेर हतास हुन्छ। आमाको काखमा भुसुक्क निदाउँछ। भाषिक भन्जनले पूर्ण लीला छ निबन्धमा। लेखक इमानले आफूलाई उभ्याएको छ।
“नाति पुस्ताको खेल” शीर्ष निबन्ध भाषिक कथ्य दुवैले लीला छ। वर्तमानमा नातिहरु कसरी बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा संसारलाई हतियार र युद्धमा घोलेर हेरिरहेका छन्। युद्धको आविष्कारक संवाहक सद्दाम हुसेन, विन लादेन, जर्ज बुस बन्न र युद्ध जित्न लालायित छन्। के यो खेल मात्र हो कि शक्तिशाली राष्ट्रको अभियान नै हो। बराल शङ्काको घेरामा उभिएर आफू जस्तै बाजे पुस्ता के हतियार खरिद गर्न डिपार्टमेन्टल स्टोर जानु भनेर संसारलाई सोध्छन्।
“हजुरबालाई लेख्न नसकेको पत्र”मा होस्टलमा बिताएको एकाकी, नीरस र पट्यारलाग्दो जीवनबारे पत्र लेख्ने भन्दाभन्दै होस्टलको गेट तोडेर फुक्काफाल भाग्छ बराल चराले जस्तो आजादी भोग्न। पैसापछि दौडेर अभिभावकले बच्चालाई होस्टल पुर्याउने हाम्रो आधुनिक बोर्डिङ्गे शिक्षाको जटिलतामाथि मसिनो गरी बच्चाको भयलाई बुनेका छन्।
“पुस्तान्तर”मा निबन्धकार हामीले पुस्ताप्रति राखेको सोच एक भ्रम मात्र हो भन्छ। प्रविधि र आविष्कारले हरेक सत्यहरुको परिभाषालाई ग्रहण गर्ने पद्धतिमा परिवर्तन ल्याउँछ। पुस्ताको बुझाइ, सोच फरक हुँदै जान्छ भन्छन्।
“मृत्यु छेवैनेर भएर गैरहेछ”मा लेखक ज्यादा मृत्यु बोकेर हिंडेका छन्। लेखक बीमा कम्पनीमा जागिरे हुन्। मृत्युको हरहिसाब सधैं भैरहन्छ। यतिखेर लेखक मनोरोगी देखिन्छ। यसरी नै सोच्ने हो भने त आत्महत्या जरुर गरिन्छ। एउटा स्वस्थ मानिसले कदापि यसरी सोच्दैन। बीमाको काम जोखिम उठाउने कुरामा विमति छैन। भुक्तानीमा झन्झट कति हुन्छ त्यो बोल्दैन निबन्धले।
“ठेस उछिट्टिएर आयो र टाँसियो”मा बाबुले सानो छोरालाई, आमाले नाबालक नानीलाई मारेको, ससुराले ज्वाईंको हत्या गरेको आदि थुप्रो समाचारले समाज त्रसित बनेको आफ्नैसँग विश्वास गुमेको त्रासद समयको उठान छ तर पनि समाज सुन्दर शान्त छ। यो हजारौं मानिसहरुको बस्तीमा यस्ता नरपिचास समेत बस्छन् जसले यति सुन्दर संसारलाई नरक बनाउँछ।
“आफ्नै विरोध”मा बराल इच्छाले जन्मने भए मान्छे भन्दा पशु भएर जन्मन इच्छुक देखिन्छन् एउटै कारण स्वतन्त्र बन्धनमुक्त रहनु हो। मानव जाति पशुभन्दा नीच देख्छन्। राजनीति फोहोर भएपछि बिरक्तिएको छ बरालहरुको स्वच्छ मन।
पार्टी व्यक्ति नेताको विरोध गरेर विरोधी कमाउनु भन्दा निबन्धकार आफ्नै विरोध गर्ने आफ्नै मानसिकताको विरोध गर्ने सङ्कल्प लिएर व्यङ्ग्य वाण प्रहार गर्छन्।
“सम्बन्ध” निबन्धले नारी यौन स्वतन्त्रताको वकालत गर्छ। ॐ शब्द समागमको रात्रिकालीन सुखद् क्षण हो भन्छ। सृष्टिलाई ताजा राख्न ॐकारको जप गर्न सुझाव गर्छ निबन्धकार।
संगीताको लोग्ने सुरज एड्स रोगी जो मृत्युवरण गर्नुअघि लेखकलाई मित्रको नाताले बिहे गर्न सुझाए पनि बिहे नगरिकन उनीहरु बीच सम्बन्ध रहन्छ। यो सम्बन्ध बनाउन सुरजले नै सङ्गीतालाई मनाएको हुनुपर्छ।
उदार भएर सोच्दा लोग्नेले स्वास्नीको जीवन र यौन अधिकारको लागि गरेको यो कार्य सराहनीय लाग्छ जो निबन्धले बोलेको छ। तर अनुदार समाज यो पचाउँदैन।
“अचम्म लाग्नै छोड्यो”ले भैरहेको विज्ञानले हाम्रो परम्परा माथि कसरी परिवर्तन ल्यायो सुन्दर उदाहरणका साथै आगामी हुनसक्ने स्वैरकल्पना ज्यादा रोमाञ्चक छ। यो निबन्धले एउटा अतिरन्जित दुनियाँमा छिराउँछ पाठकलाई। मानिसको अङ्गहरु बजारमा बिक्रीमा राखिने मान्छे आफैंले आफ्नो मुटु मस्तिष्कलाई झिकेर सफा गर्ने अङ्ग सापट लिने समयको कल्पना छ। लेखमा टेस्टट्युब बेबीको पूर्ण धारणा आएको देखिंदैन।
टेस्टट्युब बेबीको गर्भधारण बाहिर गरेर आमाकै पाठेघरमा हुर्कन छोडिन्छ सुत्केरी समेत हुन्छिन् आमा। त्यसको लागि आमाबाट स्वस्थ डिम्ब बुवाबाट स्वस्थ शुक्रकीट लिएर ट्युबमै सेचन गराइन्छ। भ्रूण मात्र पाठेघरमा राखिने हो।
“मतिभ्रम कि दृष्टिभ्रम”मा व्यक्तिको आन्तरिक आचरण क्षमताको कारण मति जटिल हुन्छ भन्छन् लेखक। एउटा पशुले मान्छेले गरेको मति बारे उसलाई सम्बन्ध हुँदैन भन्ने तर्क छ। यो पूर्ण सत्य चाहिं होइन हो गाईले लक्ष्मी मानेको थाहा नहोला तर उसलाई त्यस दिन गरेको व्यवहार थाहा हुन्छ। मति एउटा विचार हो। लेखक विचार राख्नु भ्रम हो भन्छ तर मति नराखी यो दुनियाँ परिवर्तन नभएको स्वीकार्छन् ।
“मध्याह्न भएछ” औसत विचारले युक्त छ कि एक कर्मचारी बाबुले जिम्मेवारीपूर्वक जीवनलाई चलायमान बनाइ राख्न बाँच्न नयाँ किसिम खोज्नुपर्ने के हिजो अरुले बाँचेको झैं बाँच्नु भन्दाभन्दै व्यवहारले उतै पुर्याएको सन्दर्भ ताजुबलाग्दो छ।
“मानिस गुनासो र ढुङ्गो” ढुङ्गो आर्य लवज शब्द हो यसले निश्चित जातीय प्रतिनिधित्व गर्छ। ढुङ्गाले देशभरिको प्रतिनिधित्व गर्छ। लेखकको धारणामा मानिस छ र गुनासो गर्छ कारण उसँग इन्द्रियहरु छन्। ढुङ्गासँग इन्द्रिय छैन, गुनासो छैन, समवेदना छैन। गुनासो भएकैले मानिसको प्रगति छ। गुनासो बन्द भएमा मान्छे स्वयम् ढुङ्गामा रुपान्तरण हुन्छ।
तेस्रो खण्ड
“त्यसपछि धरावासीले निबन्ध च्यात्यो” निबन्धले कृष्ण बराल कृष्ण धरावासीकै साथ सहयोग मार्गदर्शन सदासयताले निबन्धकार भएको हो भन्ने प्रमाण साक्षी साथ साविती बयान छ। हा.टा.को सन्दर्भले भने कार्यालय छोडी छोडी चुनावी माहोलमा डुलेर समाचार लेखेको इमानले लेखेका छन्।
“नमातेको लिम्बू ठिटाको मातेको झोंक”मा बैरागी काइँलाको कति अन्तरङ्ग कुराहरु छन्। जस्तो तेस्रो आयाम जन्मन नेपालमा सत्र साल घट्यो। उन्नाइसमा मातेको मान्छेको भाषण लेखियो।
अठारमा सुँगुर बेचेको पैसाले फुल, पात र पतकर पत्रिका चलाइँदै थियो त्यो कविता त्यसैमा छापियो। भाषा बिगारेको भन्दै कविताको शक्तिलाई निस्तेज गर्न धोती उचालेर विरोध भयो।
त्यो विरोध हिजो अस्तिसम्म चटोपाध्यको बेङ्गाली कविता रिटर्निङ एट मिडनाइटको अनुवाद हो भन्नेहरुसँग अझै हामी हिंड्दा पनि ठोकिन्छौं। अरु कतिले टि एस इलिएटको रेप्सोडी अन अ विन्डी नाइटको अनुवाद भने।
यसरी बरालले काइँलालाई अरु थुप्रै कवितामा भावानुवाद गरेको हो भनेर आरोपित गरेको प्रमाण सङ्कलन गरेर काइँलाको काव्य शक्तिको गुराँसको वनमा चलेको नेपाली सौन्दर्यको बास्नादार सुगन्धित हिमाली हावालाई झुम्रोले छेक्ने आरोप हो भनेका छन्।
तेस्रो आयामको वैचारिकी सापेक्षतावाद क्वान्टम थ्यौरी बौद्ध शून्यवाद आध्यात्मिक अडेसो लिम्बू संस्कृतिको नेपालीपनको समग्र मिश्रण भनेका छन्।
“भुषण दाइको मुड”मा काठमाडौं अब काठमाडौं एक्लै बोक्न सक्दैन प्रशिद्ध कविताको लेखक कवि कृष्ण भूषण बलसँगको प्रथम भेट बल दाइको कवित्व शक्ति केही निजी जीवन र उनीसँग बरालले बिताएको घटना छन्।
त्यो सँगै डेरामा आएको बुढो पाहुनाको डढेको नोट साटेर तीस हजार चप्काको सत्य किस्साले मान्छेको लोभी आचरणको सर्वाङ्ग उछित्तो काढेका छन्।
तेस्रो खण्डको तीन प्रशिद्ध लेखकको सत्य उद्घाटन नै एउटा लीला हो। लेखक र सँगै जोडिएका सम्बन्धहरुले कति लुकेको सत्यहरु बाहिर देखाएको छ। बरालले भोगेको निजी जीवन यो पृथ्वीकै मानिसले भोगेको जीवन हो। उसले बाँचेको चकचक उट्पट्याङ हामी हरेक मान्छेले सानो छँदा कसै न कसैले भोगेको नै हो ।
बरालले सत्यको आगोमा उभिएर लेखेको हो उनको बाँचेको सत्य। कतिले सांस्कृतिक आवेगको संवाहक शब्दको भरमार प्रयोगलाई आलोचनाको झीरले सेकुवा बनाए पनि त्यो शब्दको प्रयोगमा निर्मित वाक्यको सेवनले हास्यको नदीमा सयर गराएको क्षण झ्यालबाट टाउको निकालेर घामको ज्योतिमा अनुहार खित्किएको सुनाएका छन्।
गाली गर्न पाखुरा सुर्केर पर्खिंदा घाँटीमा कुत्कुती उम्रेर कमिजको बाहुला लतार्दै हिंडेको हल्ला छ यता कृष्णको शनिश्चरे बिर्तामोड दमकतिर। हाँसेर मर्माहत हुन पढ्ने कि कृष्ण बराललाई !