१ मंसिर, पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको शवमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरिएको छ ।
गत २८ गते ग्राण्डी अस्पतालमा निधन भएकी गौचनको शव गण्डकी प्रदेश प्रांगणमा राखिएको थियो ।
गण्डकी प्रदेश सभा सचिवालयले उनको श्रद्धाञ्जली कार्यक्रम राखेको हो । उनको अन्तिम बिदाइमा सांसद, सर्वसाधारण र आफन्तको आँसु छचल्किएको थियो ।
गण्डकी प्रदेशकी समानुपातिक सांसद गौचनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, विभिन्न दलका नेता, सांसद कांग्रेस गण्डकी सभापतिलगायतले श्रद्धाञ्जली अर्पण गर्दै दु:ख व्यक्त गरे ।
मुख्यमन्त्री पाण्डे, मन्त्रीहरूलगायतले सांसद गौचनको शवमा नेपालको झण्डा ओढाए । कांग्रेस गण्डकी सभापति शुक्रराजले पार्टीको झन्डा ओढाए ।
अघिल्लो महिना दामोदर कुण्ड जाँदा लेक लागेर बिरामी परेकी गौचनलाई पछिल्लो पटक डेंगु संक्रमण भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई ग्रान्डी पुर्याइएको थियो ।
थकाली सेवा समितिका अध्यक्ष तेजेन्द्र तुलाचन, प्रतिनिधि सभा सदस्य योगेश गौचनलगायतले थकाली झन्डा ओढाए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्यसमेत रहेकी गौचनको श्रीमान राम गौचनको पनि घरमै टायल खसेर लाग्दा २०६४ सालमा मृत्यु भएको थियो ।
महिला शसक्तिकरणको क्षेत्रमा लागेकी गौचन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिइन् ।
२०१८ सालमा मुस्ताङको कोबाङमा जन्मिएकी गौचन महिला संघ म्याग्दीको अध्यक्ष पनि भएकी थिइन् । उनी होटल व्यवसायमा आवद्ध थिइन् । थकाली समुदायबाट सांसद हुने एकमात्र महिला थिइन् । उनी अर्थ तथा विकास समितिको सदस्य थिइन् ।
उनका छोरा रोशन र छोरी अनुस्का छन् । अमेरिका बसोबास गर्ने छोरा रोशन पनि आइपुगेका छन् ।