काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १५ दिनसम्म घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबारसम्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
जसअनुसार फिल्मको उक्त अवधिसम्मको कूल कलेक्सन २९ करोड ३५ लाख छ । फिल्मले विहिबार १ करोड ९९ लाख ग्रस कमाएको वितरक मनोज राठीले जानकारी दिए । फिल्मले शुक्रबारसम्म ३० करोडको आँकडा पार गरेको प्रक्षेपण छ । यद्यपि, यसबारे वितरकले औपचारिक कलेक्सन रिपोर्ट आइतबार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
टिकट विक्री र अकुपेन्सीको ट्रेन्ड हेर्दा शनिबारसम्मको कूल कमाइ ३१ करोड नाघ्ने अनुमान गरिएको छ । फिल्मको तेस्रो सप्ताहन्त यसको भविष्यलाई लिएर महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ ।
फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।
फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।