९ कात्तिक, काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब हिउँचितुवा पनि अवलोकन गर्न पाइने भएको छ ।
झण्डै एक वर्ष अघि मोरङको उर्लाबारी नगरपालिकामा फेला परेको हिउँ चितुवालाई आजदेखि चिडियाखानामा अवलोकनका लागि राखिएको हो ।
वन मन्त्री ऐनबहादुर शाहीले शुक्रबार अपराह्न हिउँ चितुवा अवलोकनको शुभारम्भ गरे ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा विचरण गर्ने क्रममा उर्लावारी पुगेको अनुमान गरिएको यो हिउँ चितुवालाई चिडियाखानाले ‘कञ्चन’ नामकरण गरेको छ ।
समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा २०८० साल माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्रमा फेला परेको थियो ।
समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा रहेको चारघरेको बाँसघारीमा फेला परेको उक्त हिउँ चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेहोस बनाएर उद्धार गरी ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याएको थियो ।
त्यतिबेला पछाडिको वायाँखुट्टाले टेक्न असहज अवस्थामा उद्धार गरिएको सो हिउँ चितुवालाई पशु चिकित्सकले निरन्तर रेखदेख र उपचार गरेका थिए । अहिले पूर्ण रुपमा स्वस्थ भएकोले अवलोकनका लागि राखिएको सदर चिडियाखानाले जनाएको छ । त्यसको बासलाई सुरक्षित वातानुकुलित वातावरणमा राखिएको अधिकारीहरुले बताएका छन् ।
नेपालमा हिउँ चितुवा खासगरी पूर्वमा कञ्चनजंघादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रमा पाइन्छ । नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वास्थ पारिस्थितिकीय प्रणालीको सूचक एवम् प्राकृतिक खाद्य श्रृंखलाको उच्च तहमा रहेको प्रजाती हो ।
नेपालमा सामान्यतया ३ हजारदेखि ६ हजार मिटरसम्मको उचाइमा पाइने यस प्रजातीको हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्र तथा आसपासमा करिब १३ हजार वर्गकिलोमिटरमा बासस्थान रहेको छ ।
विश्वमा हिउँ चितुवाको संख्या ३ हजार ९२१ देखि ६ हजार २९० सम्म रहेको अनुमान छ । नेपालमा ३०१ देखि ४०० वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिन्छ ।
हिउँ चितुवालाई आई.यू.सी.एनको संवेदनशील वर्गमा र साइटिसको अनुसूची १ मा राखिएको छ । नेपालले पनि यसलाई संरक्षित सूचीमा राखेको छ ।