२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी आउटसाइड हिटर उषा भण्डारीलाई भाटभाटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले साथ दिने भएको छ ।
राष्ट्रिय टिमकी मुख्य खेलाडीको रुपमा रहेकी उषालाई भाटभटेनीले एक वर्षको लागि प्रायोजन गर्ने भएको हो । यस वापत भाटभटेनीले उषालाई प्रोत्साहनस्वरुप १० लाख रुपैयाँ दिने भएको छ ।
करिअरकै उच्च लयमा रहेकी उषालाई नेपाली भलिबलमा गरेको योगदान र स्तरबृद्धिमा साथ दिनका लागि प्रोत्त्साहनस्वरुप १० लाख दिएको भाटभाटेनीले जनाएको छ । प्रोत्साहन रकमको लागि एक वर्षे सम्झौता गरिएको छ ।
१४ वर्षमै नेपाली राष्ट्रिय टिममा डेब्यु गरेकी उषा २० वर्षमै नेपाली टिमको मुख्य खेलाडी बनिसकेकी छिन् । उनी नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्ने गर्छिन् ।
उषा सम्मिलित नेपाली टोली दुई महिनाअघि काठमाडौंमा काभा वुमन्स भलिबल नेसन्स लिगमा उपविजेता बनेको थियो ।
यस्तै उषा सहितको नेपाल पुलिस क्लबले केही समयअघि माल्दिभ्समा भएको काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । जहाँ उषाले मोस्ट भ्यालुएबल प्लेअर र बेस्ट आउटसाइड हिटरको अवार्ड जितेकी थिइन् ।
यसैगरी पहिलो पटक आयोजना भएको महिला फ्रेन्चाइज भलिबल एभरेष्ट वुमेन्स लिग (इडब्लुभिएल) मा उषा काठमाडौं स्पाइकरको मार्की खेलाडी थिइन् ।