२ कात्तिक, काठमाडौं । संसदीय छानबीन समितिबाट सहकारी बचत रकम अपचलनमा कारबाही सिफारिस भएका रवि लामिछानेलाई शुक्रबार साँझ उनकै पार्टी कार्यालयबाट पक्राउ गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई पक्राउ गर्न कास्की अदालतले शुक्रबारै अनुमति दिएको थियो । अदालतबाट अनुमति पाए लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुग्यो ।
तर त्यसअघि नै रास्वपाका नेताहरुले पार्टी कार्यालयमा आफ्ना समर्थकहरु बोलाइसकेका थिए, जसको उद्देश्य रवि पक्राउमा अवरोध गर्नु रहेको लुक्दैन । किनकि यस्तै अभ्यास एक महिना अघि (६ असोजमा) पनि भएको थियो ।
सूर्यबहादुर थापा क्षेत्री नेतृत्वको समितिले ९९ दिन खर्चिएर गत ३१ भदौमा बुझाएको प्रतिवेदनकै आधारमा पूर्वडीआईजी छबिलाल जोशी पक्राउ परेका थिए । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक सदस्यमध्ये जोशी एक थिए ।
जबकी रवि भने सञ्चालक समिति सदस्य एवं प्रबन्ध निर्देशक (एमडी) थिए । एमडीकै हैसियतमा रविले २३ करोड ७९ लाख ८९ हजार ७३१ रुपैयाँको चेक काटेको प्रमाण/प्रतिवेदन समितिले तयार पारेको छ ।
यो रकम गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट आएको ६५ करोड अन्तर्गतकै हो । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष अनि रवि लामिछाने एमडी हुँदा यो रकम खर्च भएको समितिको निष्कर्ष छ ।
समितिको प्रतिवेदन तयार हुँदासम्म स्वयं रवि पनि एमडीको हैसियतमा आफूले गरेका निर्णयहरूप्रति जवाफदेही हुने सार्वजनिक प्रतिबद्धता गर्दै थिए । तर जब जोशी समातिएपछि, अनि रवि आत्तिए ।
जोशी पक्राउ पर्नासाथ समर्थकहरु केन्द्रीय कार्यालय बोलाए । भीडलाई सम्बोधन गर्दै रविले आफू पक्राउ परे प्रतिवादमा उत्रन सर्वसाधरणसँग अपिल गरे । जबकी त्यसदिन उनी पक्राउ नै भएनन् ।
लगत्तै बाढी पहिरोले मुलुकमा ठूलो क्षति पुग्यो । दशैं आयो । दशैं विदा सकिनासाथ रवि पक्राउ परे ।
अनि सहकारी ठगी आरोपमा समातिएका रविले भने एक महिना अगाडिकै भाषा दोहोर्याए– मलाई पक्राउ गर्ने निर्णयविरुद्ध खुलेर प्रतिवादमा उत्रन अपिल गर्छु ।
पक्राउ पर्नुअघि साढे दुई मिनेट मात्र सम्बोधन गरेका रविले आफैंलाई निर्दोष घोषणा गरे । ‘मैले कुनै पनि किसिमको अपराध गरेको छैन, अपराध नगर्दा पनि प्रतिवेदनले भन्दा पनि राज्यले सम्पूर्ण स्रोत लगाएर, आफ्नो सम्पूर्ण शक्ति लगाएर यो कार्य गरेको छ’, उनको आरोप छ ।
प्रधानमन्त्री केपी ओलीले पद जोगाउन आफूलाई फसाउन लागेको रविको दाबी छ । व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन पाएको एक अर्व दान प्रकरण ओझेलमा पार्न पक्राउको निर्णय गरिएको तर्क गरे ।
तर जति तर्क गरेपनि सारांश भने आमसाधरण र रास्वपा समर्थकलाई उत्तेजित बनाउनु रहेको लुक्दैन । ६ असोज यताका घटनाक्रम र शुक्रबार बोलेका अभिव्यक्तिहरुबाट उनको उद्देश्य प्रष्ट हुन्छ ।
शुक्रबार कास्की अदालतले पक्राउ पूर्जी जारी गरेपछि रविले फेसबुक स्टाटस लेखेका थिए । त्यो स्टाटस आवेगपूर्ण मात्र होइन, प्रयोग गरिएको भाषा राजनीतिक समेत छैन ।
‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ शीर्षकमा रविले सहकारी पीडितलाई रास्वपाले न्याय दिने सन्देश दिएका छन् । पक्राउ परिसकेपछि पनि भिडियो सन्देश सार्वजनिक गरेका छन् । पहिल्यै रेकर्ड गरिएको भिडियो मार्फत् रविले आमसाधरणलाई आफ्नो पक्राउविरुद्ध प्रतिवादमा उत्रन अपिल गरेका छन् ।
समर्थकलाई सम्बोधन, सामाजिक सञ्जालको स्टाटस र भिडियो सन्देश मार्फत् रविले भनेका छन्, ‘राज्यले गरेको यो दादागिरीलाई डटेर सामनाका निम्ति आमनागरिकसँग अपिल गर्न चाहन्छु ।’
अदालतप्रति थोरै आश गरेका रविले धेरै आशंका गरेका छन् । विशेष जोड चाहिँ आमनागरिकलाई प्रतिवादमा उत्रन अपिल गर्नु नै देखिन्छ । रविको अपील बमोजिम उनी पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भयो भने पोखरा लैजाने क्रममा पनि रास्वपा समर्थकले ठाउँठाउँमा प्रदर्शन गरेका छन् ।
हुनत उनको यो पुरानै शैली हो । राजनीतिमा आएको छोटो अवधिमै पनि रविले उत्तेजनापूर्ण र गैरजिम्मेवार अभिव्यक्ति बारम्बार दिइरहेकै छन् ।
नागरिकता मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतको फैसलाबाट उपप्रधान एवं गृहमन्त्री, सांसद र पार्टी सभापति पद गुम्दा रविले मिडिया हाउस घेर्ने चेतावनी दिएका थिए । आफ्नोविरुद्ध समाचार लेख्ने मिडिया हाउस घेर्न अपिल गर्ने जस्तो गैरजिम्मेवारी र गैरराजनीतिक भाषाप्रति उनी आफैं अहिले पछुताइरहेका छन् । बारम्बार भन्दैछन्, त्यो गल्ती थियो ।
राजनीतिमा आउनुअघि पनि उत्तेजक अभिव्यक्तिकै कारण उनी विवादित थिए । टेलिभिजन प्रस्तोता हुँदा सरकारको नियम मानेर ‘सूचना विभागको प्रेस कार्ड लिनु भन्दा टुँडिखेलमा जुत्ता पालिस गरेर बस्ने’ घोषणा गर्नेदेखि नेताहरुमाथि भौतिक आक्रमण गर्न उकाउनेसम्म गर्थे ।
तर यही उत्तेजक अभिव्यक्ति उनको बलियो पक्ष पनि थियो । चर्को स्वरमा टेलिभिजनबाट उठाउने प्रश्नकै कारण ठूलो पंक्तिबीच उनी चिनिए । नत्र एकपटक देशको नागरिकता छोडेर अमेरिका गइसकेका मानिसले यो तहको राजनीतिक उचाइ पाउने कल्पना गर्न सकिँदैन । भुईँ मान्छेको मन जित्न सकेकै कारण रविले ठूलो समर्थन पाइरहे । कतिसम्म भने आफ्नै पूर्वसहकर्मीले आत्महत्या दुरुत्साहनको आरोप लगाउँदा पनि रविको पक्षमा नाराजुलुस भयो ।
टेलिभिजन प्रस्तोताका रुपमा पाएको समर्थनकै जगमा रवि छोटो अवधिमै राजनीतिमा सफल भए । पुराना दलहरुको गल्ती र रविप्रति रहेको रुझानकै कारण ७ असार २०७९ घोषणा भएको रास्वपाले अत्यासित मत पायो । पार्टी गठन भएको ५ महिनाभित्रै ४ मंसिर २०७९ को आम चुनावमा रास्वपा चौथो ठूलो शक्ति बन्यो ।
एमाले भर्सेस पाँचदलीय गठबन्धनबीच भएको चुनावमा रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत (१०.८० प्रतिशत) मत पाएको थियो । यो मत झण्डै माओवादी बराबर हो । माओवादीले ११ लाख ७५ हजार ६८४ मत मात्र पाएको थियो । प्रत्यक्षतर्फ ७ जनाले जित्दा रास्वपासँग प्रतिनिधि सभामा २१ जना सांसद छन् ।
यही संसदीय गणितको जगमा रवि दुईपटक उपप्रधान र गृहमन्त्री भए, रास्वपाका अरु सांसदहरु मन्त्री भए । अर्थात् उनीसँग मुलुकको जिम्मेवारी थपिएको छ । तर संभावित दुर्घटनाको कुनै ख्याल नगरी उनी बोलिरहेका छन् ।
यदि न्यायालयको फैसला, विधिको शासन र जनताको निर्णयप्रति विश्वास हुन्थ्यो भने बाहुबलका निम्ति रविले पटकपटक अपिल गरिरहने थिएनन् । अझ आफ्नै सांसद शिशिर खनाल समेत सदस्य रहेको संसदीय समितिको प्रतिवेदनप्रति मनपरी निष्कर्ष निकाल्ने थिएनन् ।
किनकि प्रतिवेदनले प्रष्ट भाषामा भनेको छ, रवि लामिछाने पनि दोषी हुन् र कानुन बमोजिम कारबाही गर्नू ।
रवि र रास्वपाले प्रतिवेदनको यस्तो निष्कर्ष स्वीकार्नुपर्छ । यदि यो प्रतिवेदनप्रति असहमति जनाउने हो भने अर्को छानबीनको माग गर्न पनि सक्छ । तर न्यायिक प्रक्रियाकै प्रतिवादमा उत्रन बारम्बार अपिल गर्नुले निम्त्याउने भनेको बाहुबलको शासन हो । त्यस्तो राजनीतिले मुलुक र समाजलाई अनिश्चय र दुर्घटनातिर लैजान्छ । तसर्थ रवि आत्तिए पनि रास्वपा पंक्ति सम्हालिन आवश्यक छ । किनकि रविकै भाषामा रास्वपा वैकल्पिक आन्दोलन पनि हो ।