३० असोज, विराटनगर । मेयरले उपमेयरको साटो वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि धरान उपमहानगपालिकामा विवाद सुरु भएको छ ।
भोलि बिहीबार बेलायत उड्ने तयारीमा रहेका मेयर हर्क साम्पाङले २३ असोजमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कनेछन् ।
साम्पाङले असोज २३ गते वडा अध्यक्षलाई पत्र पठाउँदै असोज २८ गतेबाट बेलायतबाट नफर्कुन्जेल ५ वटा शर्त राखेर अधिकार प्रत्यायोजन गरेका छन् ।
उपमेयर अइन्द्रबिक्रम बेघा पालिकामा हुँदाहुँदै वडा नम्बर ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि ६ दलले आपत्ति जनाएका छन् । पूर्व पालिका प्रमुख तिलक राईले पनि मेयर साम्पाङको शैलीको आलोचना गरेका छन् ।
कार्यवाहक पालिका प्रमुख पनि मेयरको कार्यकक्षमा प्रवेश गरेका छैनन् । मेयर साम्पाङको कार्यकक्षमा ताला लागेको छ । कार्यवाहक जिम्मेवारी पाएका फागो प्रमुखको सचिवालयको कुर्सीमा बसेका छन् ।
अदालत जाने तयारीमा उपप्रमुख
पालिका प्रमुख साम्पाङले व्यक्तिगत रिसिइबीका कारण कार्यवाहक नदिएको भन्दै उपप्रमुख अइन्द्रबिक्रम बेघा अदालत जाने तयारीमा छन् । ‘म कानुनी उपचारका लागि अदालत जान्छु,’ उनले भने ।
स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) प्रमुखको काम कर्तब्य र अधिकारको १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने उल्लेख छ । उपाध्यक्ष वा उपप्रमुख उपप्रमुख उपस्थित नभएमा मात्रै कार्यपालिका सदस्यलाई कार्यवाहक दिन पाउने प्रावधान छ ।
गत २०८० भदौमा झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष कार्यलयमा हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उच्च अदालत विराटनगरले गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
उपाध्यक्ष प्रमीला न्यौपानेले दायर गरेको रिटमा २०८० भदौ ५ गते उच्च अदालत अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । आदेशपछि उपाध्यक्ष न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् । त्यही नजिरमा टेकेर उपमेयर बेघा अदालत जान लागेका हुन ।
नेपाली कांग्रेसबाहेकका ६ राजनीतिक दलले पनि मेयर साम्पाङको निर्णयप्रति आपत्ति जनाएका छन् । एमाले नगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी नगर अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, जसपा नगर अध्यक्ष ताजुब लिम्बु, एकीकृत समाजवादीका रेवतीरमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपसभापति राम कार्की र रास्वपाका संयोजक नरेश शाक्यको हस्ताक्षरसहित जारी भएको विज्ञप्तिमा मेयर साम्पाङले गलत कार्य गरेको दाबी गरेका छन् ।
६ दलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क)१२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’
कार्यवाहक जिम्मेवारी पाएका वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका कारण कांग्रेसले भने प्रमुखको कदमको विरोध गरेको छैन ।
मेषर साम्पाङले भने आफूलाई सहज हुने व्यक्तिलाई जिम्मेवारी दिएको बताएका छन् । उनले यो विषयमा धेरै नबोल्ने समेत बताएका छन् । मेयर साम्पाङ र कार्यवाहक पाएका वडाध्यक्ष पारिवारिक नाता पर्छ ।
फागो, मेयर साम्पाङको मामाससुरा पर्छन् । तर कार्यवाहक प्रमुख फागो भने नाताका आधारमा आफूलाई जिम्मेवारी नदिएको बताउँछन् । कार्यलयमा कहिले पनि नाता सम्बन्धको विषयमा कुरा नभएको भन्दै उनले भने, ‘उहाँले नाता परेर नाताकै हैसियतमा मलाई दिएको लाग्दैन, भरोसा लागेको विश्वासले दिएको होला ।’