चराले विष्ट्याएको विषयमा छिमेकीबीच विवाद हुँदा आधा भागको हाँगाबिँगा छिमोलिएको एउटा रुख बेलायतमा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
बेलायतको शेफिल्डस्थित वाटरथोर्पमा रहेको सो फिरको रुखका विषयमा गुगलमा समेत समीक्षा उपलब्ध छ ।
तीन वर्ष अगाडि पहिलोपटक यो रुख अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा समाचारको विषय बनेको थियो ।
भारतल मिस्त्रीको जग्गाको छेउँमा रहेको यो रुखका हाँगाहरू इरिन र ग्राहम लीका जग्गा माथिसम्म फैलिएका थिए । २५ वर्ष पूरानो उक्त रुखका हाँगामा चराहरुले गुँड लगाउँथे र तिनै चराले विष्ट्याउने दिसाका कारणले गर्दा ली परिवारको घरको पार्किंग क्षेत्र फोहोर बन्दथ्यो र दिनहुँ सफा गर्नु पर्दथ्यो ।
सुरुमा त मिस्त्री र ली परिवारले रुखका सबै हाँगा काट्ने वा रुखलाई जालीले बेरेर चरालाई गुँड नै लगाउन नदिने गरी समस्याको समाधान खोज्ने प्रयास गरे । तर, त्यस विषयमा सहमति जुट्न सकेन । अन्ततः ली परिवारले एकतर्फी रुपमै रुख कटान गर्ने कामदार बोलाएर आफ्नो जग्गा माथि आएका रुखका सबै हाँगाबिँगा काटिदिए । त्यसपछि एक पाखो काटिएको उक्त रुखको तस्वीर इन्टरनेलमा एकाएक भाइरल बन्न थाल्यो र स्थानीय पर्यटकको आकर्षण नै बन्यो ।
अहिले यो रुखको प्रसिद्धि केवल स्थानीयस्तरमा मात्रै सीमित छैन । त्यहाँ सडकमा यात्रा गर्ने मानिसहरू समेत केहीबेर रोकिएर सो रुखको तस्वीर नखिचिरहन सक्दैनन् । धेरै मानिसहरुले गुगलमा त्यस बारेमा समीक्षा समेत पोस्ट गर्दछन् ।
तीन वर्षअघि ली परिवारले खौरिएका सो रुखका हाँगाबिँगा त्यसपछि पलाउँदै नपलाएका हुन् वा नियमित रुपमा खौरिने गरिएको छ भन्ने बारेमा चाहिं केही खुलेको छैन ।
रोचक त के भने यहीँ रुखकै कारण भारत मिस्त्रीको परिवार र ली परिवारबीच बोलचाल समेत बन्द छ । छिमेकीले एकतर्फी रुपमा २५ वर्ष पुरानो रुखका हाँगा खौरिएर एकपाखे बनाएको कुरामा भारतलाई चित्त दुखेको छ । उनी भन्छन् – त्यसरी रुखका हाँगा नकाट्न भनेर हामीले उनीहरुसँग धेरैपटक अनुरोध गर्यौं । तर, उनीहरुले मानेनन् ।