काठमाडौँ । आइसिसी विश्वकप लिग टूमा मङ्गलवार नेपालले ओमानविरुद्ध खेल्दै छ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ ।
विश्वकप लिग टूमा निकै खराब सुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल समेत हार्न पुगेको थियो ।
लिग टूका सुरुवात ७ मध्य नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अङ्क जोडेको छ । लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउनु बाहेक नेपालले लिग टूमा जित देख्न पाएको छैन । नामिबिया र नेदरल्याण्ड्सँग घरेलु मैदानमा तीन खेल हारेको नेपालले क्यानडा भ्रमणमा जित निकाल्न सकेको छैन ।
निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ । पुछारमा रहेको यूएई र नेपालको मात्र समान दुई अङ्क छ ।
टिमका खेलाडी परिवर्तन गर्दा समेत ब्याटिङ लाइन चल्न सकेको छैन । तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धरासायी हुनबाट जोगाए पनि माथिल्ला र मध्य क्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् ।
पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका आफ्नो स्वभाविक लय पूर्ण रुपमा गुमाएको छ । जसले खेलाडी, प्रशिक्षक र टिममाथि दबाब थपिँदै गएको छ ।