धनकुटा । राष्ट्रिय बाल दिवसको अवसरमा धनकुटाको सामुदायिक भवनमा सञ्चालन भएको बालबालिकाहरूको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेज विराटनगरको सहयोगमा शिविर भएको हो । शिविरमा बालबालिकासम्बन्धी सबै प्रकारका रोगहरूको निःशुल्क जाँच तथा निःशुल्क औषधि वितरण गरिनुका साथै सबै मानिसलाई क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
शिविरमा विराट मेडिकल कलेजका वरिष्ठ बाल रोग विशेषज्ञ प्रो. डा. हेमसागर रिमाल, क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी सहितको ७ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिएको थियो । शिविरबाट १ सय २८ जना बालबालिकाले सेवा लिएका छन् । शिविरमा आएका जटिल प्रकारका बिरामीलाई विराट मेडिकल कलेजमा निःशुल्क तथा विशेष छुट वा सहुलियत दरमा उपचार समेत गरिने बताइएको छ ।
शिविरको उद्घाटन कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयकी राज्यमन्त्री सिर्जना राईले गर्नुभएको थियो ।