वीरगञ्ज । मधेस प्रदेशमा दक्ष कर्मचारी नजाँदा समस्या भएको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण गराउनुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ता सँग भेटघाट गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेशका विभिन्न समस्याहरूका विषयमा छलफल गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा कर्मचारीहरू जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्य सम्पादनमा समस्या भइरहेको सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्तालाई जानकारी गराउनुभएको थियो ।
मधेसका सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरू पठाउन आग्रह गर्नुभएको थियो ।
जवाफमा सामान्य प्रशासनमन्त्री गुप्ताले मधेस प्रदेशको समस्याबारे आफू स्वयं जानकार र चिन्तित समेत रहेको बताउँदै मधेस प्रदेशको समस्या समाधान हुने गरी आफूले कदम चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।