धेरै दिनदेखि झोक्राएर, चुपचाप बसिरहेको थिएँ
उदास मनले
जीवनको अर्थ खोजिरहेको थिएँ
मनुवाको हस्याङफस्याङ देखिरहेको थिएँ
कुनै एकदिन, पूर्णचन्द्रको पूर्ण उज्यालो मध्यरातमा
केही आकृति बिस्तारै मलाई हेर्दै आए
चिनेचिने, देखेदेखे जस्तो
मेरा फेदैमा आए, यसो हेरे
पुष्पलाल, गणेशमान, किसुनजी, मरिचमान, रूपचन रहेछन्
अलमलमा परे
यति धेरै नेता ? यस्तो मध्यरातमा ?
बोल्न नपाउँदै, अर्को हुल आए
अचम्म, त्यसपछि एक होइन जुलुसै पो आए
राजा महाराजा र उनका वैध, अवैध सन्तान आए
बहादुर शाह, काजी भीम मल्ल आए
भीमसेन थापा र दामोदर पाण्डेका पूरै खलकै आए
पाँडे पजनीमा परेका र एकैपटक महलबाट सत्तलमा पुगेका
एक होइन अनेक मनुवाका खलक आए
जगतजंग, जीतजंग लगायत जंगबहादुरका सन्तान पूरै आए
देव शमशेर,जुद्ध शमशेर, पद्म शमशेरसँगै
सी र बी ग्रेडमा घटुवा भएका राणाका खलक आए
लखन थापा, कृष्णलाल, योगमाया मात्र होइन
भीमदत्त, बीपी, निर्मल लामा, देवकोटा, पारिजात आए
००७, ०१७, ०३६, ०४६, ०६२ साल र
नेपालका धेरै आन्दोलनका नाममा मारिएका
तर गुमनाम
झापा, मधेश र माओवादी आन्दोलनमा मारिएर
शहीद भनी जबर्जस्ती सालिकको रूपमा उभ्याइएका
रगतसँग सत्ता साटेका, आफ्नो स्वार्थमा लिप्त
तथाकथित नेतालाई थुक्क थुक्दै
आफ्नो शहादतप्रति आफैंले आफैंलाई धिक्कार्दै
आफ्ना परिवारको दुःख हेर्न विवश निरुपाय
समयक्रममा बुढो पीपल बनेका वा बनाइएका
एक होइन, मैले चिनेका, नचिनेका अनेक मनुवा आए
खासखुस अब कल्याङमल्याङ भयो
एकैछिनमा बोल्न थाले– हामी सबै बुढो पीपल नै हौं
म अक्क न बक्क भएँ
काजी भीम मल्ल केही नबोली आँशु चुहाउन थाले
बहादुर शाहले नबुझिने गुनगुन गर्न थाले
देवकोटाले आफ्नै परिचित भावमा कविता सुनाए
निराकार भावमा किसुनजी बोले
हाते माइक सहित आएका रहेछन् रूपचन
तँलाई भाते, मलाई हेरेर सन्तोष मान भनेर कराउन थाले
मनेमने भन्दै गणेशमान बोले
एक होइन, सबैले बोले
आफ्नो जवानी, जेलनेल, त्याग, समर्पणका कुरा बोले
आफ्नैले आफ्नैमाथि आरा चलाएको
हाँगा, जरा काट्दै क्रमशः शिरोच्छेदन गरेको कुरा बोले
र सबैले सारमा बोले,
प्रिय पीपल, तिमी मात्र होइनौ
समयक्रमका, हामी सबै बुढा पीपल हौं
सरर बतास चल्यो, एकाएक सबै लुप्त भए
एक्लै चुपचाप रहें
एकछिन गम खाएँ र आँखा चिम्लिएर यसो सम्झें
सम्पत्ति हुँदाहुँदै, धर्धरी रुँदै महल छाडेर
मेरै काखमा धेरै रात बिताएका आमाबाउलाई सम्झें
बाउआमाले खाई नखाई जोडेको सम्पत्तिमा
दागा धर्ने सन्तानलाई सम्झें
बाउ आमाको सद्गति समेत गर्न नआई,
अर्कै कोहीबाट सबै गराइदिनु भन्ने सन्तानलाई सम्झें,
बा आमालाई वृद्धाश्रममा छाडेर
चिल्ला गाडीमा हुँइकिने सन्तानलाई सम्झें
मेरै कठघरामा छिनिएका
अन्यायपूर्ण फैसला र ती बुढाबुढीको आँसु सम्झें
आफ्नै पार्टीको, आफ्नै कार्यकर्ताले गद्दार र मुर्दावाद भन्दै
आफ्नै पार्टीबाट निकालावास भएका नेतालाई सम्झें
जनता मात्र होइन अनेक राजा, महाराजा, भारदार सम्झें
एक एक सम्झें ।
उनका आँशुका कथा सम्झें
उनका पसिनाका व्यथा सम्झें
उदास र दुःखी चेहरा सम्झें
जबर्जस्ती असमयमा नै मर्न बाध्य भएका धेरै मनुवा सम्झें
अनि मलाई चेत भयो,
वास्तवमा
यो स्वार्थी अनि लोभी मनुवाको दुनियाँमा
हामी बुढो पीपल नै हौं
यिनलाई
न हाम्रो आँशुले पोल्छ
न हाम्रो शीतलताले छुन्छ
न मातृत्व, न भ्रातृत्व
न भाइचाराको नाता लाग्छ
थाहा छैन हामी को कहिले कतिखेर
आफ्नैबाट ढालिन्छौं
आफ्नैबाट सकिन्छौं
समयक्रमका परित्यक्त
वास्तवमा हामी, बुढो पीपल नै हौं
बुढो पीपल नै हौं
सालककुटी, धादिङ