काठमाडौँ । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको फाइनल एन्फा मैदानमा हुने भएकाले आफूहरूलाई सहज भएको प्रतिक्रिया दिनुभएको छ ।
मङ्गलवार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रेस बक्समा आयोजित प्रि–फाइनल कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले दशरथ रङ्गशालामा खेल नहुँदा टोलीलाई फाइदा पुग्ने प्रतिक्रिया दिनुभएको हो ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको छैटौँ संस्करणको फाइनलमा बुधबार नेपाल र बङ्गलादेश भिड्दै छन् । अगस्ट १७ देखि सुरु भएको प्रतियोगिता त्रिपुरेश्वरस्थित नेपालकै सबैभन्दा पुरानो रंगशाला, दशरथ रङ्गशालामा हुने तालिका थियो । तर, वर्षाका कारण मैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिता आफ्नै मुख्यालयमा सारेको थियो ।
एन्फाले फाइनल भने जसरी भए पनि रङ्गशालामा गर्ने तयारी थालेको थियो । तर, आइतबार सामाजिक सञ्जालमार्फत एन्फाले लगातारको वर्षाका कारण रङ्गशालामा खेल गराउन नमिल्ने भन्दै एन्फामा नै खेल हुने जानकारी गराएको थियो ।
नेपालले समूह चरणको दोस्रो खेलमा बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, समूह चरणको जितले केही अर्थ नराख्ने र फाइनलका लागि तयार रहेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।
कप्तान कुशल देउवाले पनि फाइनलका लागि छुट्टै योजनामा काम गरेको प्रतिक्रिया दिए ।
उता बङ्गलादेशका मुख्य प्रशिक्षक एकेएम मरुफुल हाकीले पनि फाइनलमा नेपाललाई केही सजिलो हुने प्रतिक्रिया दिनुभयो ।
प्रशिक्षक हाकीले नेपाललाई मैदानको फाइदा रहे पनि आफूहरूको मनोबल उच्च रहेको र जितकै लागि खेल्ने प्रतिक्रिया दिनुभयो । कप्तान महोम्मद अस्रफुल आसिफले पनि उपाधि जितेर घर फर्कने बताए ।
भारतविरुद्धको सेमिफाइनलमा नियमित कप्तान मोहम्मद मेहदी हुसेन विपक्षी फरवार्डसँग ठोक्किँदै मैदानबाट बाहिरिएका थिए । उनी फाइनलमा उपस्थित हुनेछैन । उनको अनुपस्थितिमा उप–कप्तान आसिफले टोलीको नेतृत्व गर्नेछन् ।
बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । नेपाल भने पहिलो दुई संस्करणको च्याम्पियन हो । बुधबार बङ्गलादेशलाई हराउन सके नेपालसामु त्यो उपाधि खडेरी तोड्ने सुनौलो अवसर हुनेछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।