काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बाढि पहिरो र प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको रक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरूले प्राकृतिक विपद्मा परी घाइते भएका नागरिकको उपचार तथा धनजन गुमाएकाहरूलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै बैठकमा सांसदहरूले बाढि–पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको सुरक्षित स्थानमा स्थानान्तरण गर्न, बढ्दो सडक दुर्घटना नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी सांसदहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि ठोस योजना ल्याउनुपर्ने, शिक्षकको रिक्त दरबन्दीमा नियमित पदपूर्ति हुनेगरी कार्यतालिका बनाएर लागु गर्नुपर्ने, तथा शिक्षकको कार्यक्षमता बढाउन राज्यले लगानी बढाउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने, जङ्गली जनावरले कृषि बालीमा पुर्याएको क्षति नियन्त्रणका लागि जङ्गली जनावर नियन्त्रण नीति बनाई लागु गर्नुपर्ने, डेंगी रोगको संक्रमण नियन्त्रणका सरकारी संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।