काठमाडौं । नेपाली बजारका लागि बहुप्रतिक्षित लक्जरी एसयूभी जिकर एक्स भन्सार नाकामा आइपुगेको छ ।
नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले सो गाडी ११ भदौदेखी सुरु हुने नाडा अटो शोमा सार्वजनिक गर्ने जनाएको छ ।
जिकर एक्स भन्सार नाकासम्म आइपुगेको र केही दिनमै काठमाडौं भित्रिने कम्पनीले जनाएको छ ।
यसको रियर ह्विलर र अल ह्विल ड्राइभ भेरियन्ट नेपाल आउने र ती भेरियन्टको मूल्यबारे कम्पनीले यसअघि नै जानकारी गराएको थियो । जसअनुसार, यो नयाँ प्रिमियम ईभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख रुपैयाँ तोकिएको छ ।
चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय ईभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरियन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल– ह्विल–ड्राइभ सिस्टम दिएको छ ।
सो नयाँ कम्प्याक्ट एसयूभीमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ ।
सिंगल मोटर भेरियन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरियन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ । स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले शून्यदेखी १०० किलोमिटरसम्मको गति लिन सक्छ ।
जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ । यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४.३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ ।
जिलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयूभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाई १५७२ एमएम छ भने ह्विलवेस २७५० एमएम लामो छ ।