काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उहाँले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गर्नुभयो ।
उहाँले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्नुहुँदै विद्युत् प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”