भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कमल थापाबीच भेटवार्ता भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित चन्दको निवासमा उहाँलाई भेट्न आज दिउँसो अध्यक्ष थापा आउनु भएको हो ।
भेटवार्ताका क्रममा पूर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको राप्रपा नेपालका बागमती प्रदेश अध्यक्ष माधव खत्रीले जानकारी दिनुभयो ।
सो क्रममा मुलुकमा विद्यमान भ्रष्टाचार र सुशासनको निमित्त राष्ट्रवादी आन्दोलनको आवश्यकताबारे छलफल भएको अध्यक्ष खत्रीले बताउनुभयो ।
राप्रपाका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री चन्द बिरामी भएर अस्पतालमा उपचार गराई हाल निवासमै आराम गरिरहनुभएको छ ।