२४ साउन, काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत पार्टीको केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध खनिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी-इस्टेटको सम्बन्धमा दुई महामन्त्रीले सार्वजनिक रूपमा बोल्दा सत्ता गठबन्धनलाई अफ्ठ्यारो पार्ने उनले बताएका थिए । यी दुई प्रकरणमा महामन्त्री थापा विदेशमा र शर्माले नेपालमा बोलेको भन्दै उनले असन्तुष्टि जनाए ।
यी काण्डहरुलाई निष्कर्षमा नपुर्याए यो गठबन्धनको औचित्य छैन भनेर एउटा महामन्त्रीले संसदमा र अर्को महामन्त्रीले कोरियामा बोलेको उनले पार्टी बैठकमा सुनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका नेताहरु बोलेको इखका रुपमा लिनसक्ने बताउँदै बस्नेतले गिरीबन्धु टी-इस्टेटको कुरा उठाइराखे गठबन्धनलाई अप्ठ्यारो पर्नसक्ने भय व्यक्त गरेका थिए ।
दुई महामन्त्रीको सोंच ओलीपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवा प्रधानमन्त्री देख्न नचाहेको बस्नेतले आरोप लगाए । महामन्त्रीहरुको बोल्ने हर्कत रोक्नुपर्ने पार्टी बैठकमा उनले बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार बस्नेतले गठबन्धनबिना स्थानीय तहमा सिन्धुपाल्चोकमा जिताउन सकेको भन्दै आफ्नो क्षमता चिन्न नेताहरुलाई चुनौती दिएका थिए ।