पोखरा । पोखरामा बिमा रकम ठगी गर्ने उद्देश्यले आफ्नै पसलमा आगलागी गर्ने दुई जना युवा पक्राउ पर्नु भएको छ । बिमाको रकम ठगी गर्ने उद्देश्यले साउन १६ गते गत बुधबार पोखरा ६ नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टर प्रा.लि.मा आफै आगलागी गर्ने पसल सञ्चालक सुजन गहतराज र पवन नेपाललाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी सन्तोष निरौलाको कमाण्डमा खटिएको टोलीले अनुसन्धान गर्दा जाँदा मिलेमतोमा आगलागी गरी बिमाको रकम ठगी गर्ने उद्देश्यले आगलागी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताउनु भयो ।
पोखरा १७ ड्याम साइडका ३६ वर्षका सुजन गहतराज र पोखरा १७ विरौटा बस्ने ४३ वर्षका नेपाललाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले जनाउनु भयो ।
बुधबार राति २ः१० बजे आफैले आगलागी गरी पसलबाट बाहिर निस्कनु भएका गहतराज र नेपाल साउन १७ गते बिमा दाबी भुक्तानीको लागि प्रहरी सहित बिमा कम्पनीमा सम्पर्कमा आउँदै आगलागीको कागजपत्र बनाउन लाग्नु भएको थियो । स्थानीयले खबर गरे पश्चात् सुरक्षाकर्मी, पोखरा महानगरको दमकल, स्थानीयको सहयोगमा १ घण्टामै आगो नियन्त्रणमा आएको थियो ।
नारेश्वरचोक स्थित डा.थानेश्वर पहारीको घरमा भाडा लिई गहतराजले विगत ३ बर्ष देखि मुक्तिनाथ सपिङ सेन्टर प्रा.लि.सञ्चालन गर्दै आउने क्रममा केही महिना अघि मात्र दुई करोड १० लाख बराबरको हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड पोखरा न्युरोनबाट बिमा गराउनु भएको थियो । इन्भटरबाट आगलागी भएको हुन सक्ने सञ्चालक गहतराजले प्रहरी समक्ष दिएको बयानको आधारमा अनुसन्धानको क्रममा इन्भर्टरबाट आगलागी हुन नसक्ने पुष्टि भएसँगै उहाँ दुवै जनाको योजनाबद्ध ढङ्गबाट आगलागी भएको प्रहरीले पुष्टि गरेको हो ।
पूर्व योजना भएको हुँदा सुजन गहतराजको घरबाट गाडीमा स्प्रिटको ग्यालेन समेत राखेको प्रहरीले जनाएको छ । पसल सञ्चालक सुजन गहतराजले उनको साथी पवन नेपाललाई ड्याम साइडको फेवा झिर रेस्टुरेन्टमा बोलाएर खाजा सहित ५ बोतल बियर पिएको समेत अनुसन्धानबाट खुलेको छ ।
पछिल्लो समयमा पसल खासै धेरै नचलेको र सामान ठुलो मात्रामा स्टक भएको र घरधनी समेतसँग भाडा लगायतका कुरामा विवाद रहेको कारणले गर्दा पनि आगो लगाएको गहतराजले प्रहरी सामु बयान दिनु भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पवन नेपालसँग प्रारम्भिक सोधपुछ गर्दा गत वर्ष पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकिकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्रि फार्ममा आगो लागेकोले उक्त आगलागीबाट उहाँले ईन्स्योरेन्स कम्पनीबाट करिब ३१ लाख रूपैया लिएको भनेपछि सुजन गहतराज सो कुराबाट प्रभावित भई योजना बनाएको देखिन्छ । आगलागी पछि प्रहरी सामु बिमा नगरेको बयान दिनु भएको गहतराजले भोलि पल्ट बिमाको काज पत्र बनाउन लागेको र सिसी टिभी फुटेजमा समेत उहाँहरू गतिविधि देखिएको प्रहरीले जनाएको छ । घर भेटिले भने ७५ लाख बराबरको घरमा आगलागीबाट क्षति भएको दाबी गर्नु भएको छ भने पसल सञ्चालक गहतराजको करिब १ करोड भन्दा बढीको सामान क्षति पुगेको बताइन्छ ।