वीरगंज/सडक र ट्राफिक व्यवस्थापनकालागि परिचालित ट्राफिक प्रहरी सांगठनिक जिम्मेवारी विपरित “अवैध असुली अभियानमा सक्रिय भएपछि पर्सा जिल्लामा सडक दुर्घटना एवं सोबाट अकाल मृत्यु दर ह्वात्तै बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक भास्कर खतिवडा आएदेखि नै जिल्लामा दुर्घटना तथा मृत्युदर बढेको एक तथ्यांकले देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रनि खतिवडा र नियमक निकायको यस्तै गैर व्यवसायिक व्यवहारका कारण पर्सा जिल्लामा डरलाग्दो रुपमा दुर्घटना, ससक्त घाइते एवं मृत्यु हुने घटनाहरू बढ्दै गएको ट्राफिक प्रहरीकै तथ्यांकबाट देखिन्छ ।
ट्राफिक व्यवस्थापन राम्ररी हुन नसक्दा पर्साजस्तो सानो ठाउँमा पनि आर्थिक वर्ष २०७९/८०मा ४९८ वटा सडक दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । ती दुर्घटनामा परि २९ पुरुष, पाँच महिला र पाँच जना बालक समेत गरेर ३९ जनाले अकालमै ज्यान गुमाए भने ९३ जना गम्भीर घाइते भए र ४०६ जना सामान्य घाइते भए ।
यता आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक हेर्ने हो भने ७९६ वटा सवारी दुर्घटना भएको तथ्यांक छ । यी ७९६ दुर्घटनामा परि ४३ पुरुष, सात जना महिला र एक जना बालिका गरी ५१ जनाले अकालमै ज्यान गुमाउनु पर्यो । त्यस्तै ६६ जना पुरुष, १२ जना महिला, चार जना बालक र दुई बालिका गरी ८४ जना सख्त घाइत भए भने ७२० जना सामान्य घाइते हुनु परेको डरलाग्दो तथ्यांक छ ।
आर्थिक वर्ष २०८०/०८१ मा आ.व. २०७९/०८० भन्दा २९८ वटा बढी दुर्घटना, १२ जनाको अकाल मृत्यु, ३१४ जना बढी मान्छे घाइते हुनु पर्यो भने आर्थिक वर्ष २०७९/०८०मा एउटा पनि पशु चौपाया नमरेको भएपनि २०८०/०८१मा भने तीन वटाको मृत्यु भएको तथ्यांकले देखाउँछ ।
पर्सा ट्राफिक प्रमुखमा प्रहरी निरीक्षक खतिवडाको आगमनपछि ट्राफिक व्यवथापन फितलो मात्र हैन, व्यक्तिगत गोजी भर्ने काम द्रूत गतिमा भएपछि राजश्व संकलन समेत प्रभावित भएको छ । पछिल्लो आर्थिक वर्ष अर्थात् २०७९/०८० पर्सा ट्राफिकले जरिवाना, कारवाहीलगतयबाट तीन करोड ४२ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०८०/०८१मा दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । जुन २०७९/०८०को भन्दा ६६ लाख तीन हजार ४६ रुपैयाँ कम रहेको छ ।
सवारी साधनको अत्यधिक चाप हुने आइसीपीबाट परवानीपुर हुँदै गन्तव्यतर्फ जाने मालबाहक गाडीहरूबाट परवानीपुरलगायतका सडकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा मातहत रहेको अति सम्वेदनशील र व्यस्त सडक आइसीपी–वीरगंज–सुख्खा बन्दरगाह –पथलैया औद्योगिक सडक खण्डलाई जोड्ने मुख्य स्थानका ट्राफिक प्रहरी प्रमुखहरूले असुली धन्दा सञ्चालनमा ल्याएपछि राजश्व संकलन कम, ट्राफिक प्रहरीको गोजश्व बढी भर्ने गरेको मात्र छैन कि सडक दुर्घटना र मृत्यु पनि अचाक्ली बढेको तथ्यांकबाट पुष्टि हुन आउँछ ।
क्षमताभन्दा बढी अर्थात् ओभर लोडका गाडीका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण गरिएको केही महिनामा नै भत्कने र तत्काल निर्माण गर्न नसक्दा झन् जीर्ण हुने कार्य बढी हुन थालेपछि वीरगंज सिर्सिया ड्राइपोर्ट, आइसीपी लगायतबाट विभिन्न उद्योग धन्दा कल कारखानाकालागि निस्कने मालबाहक सवारी साधनमा क्षमताको परिधि निर्धारण गरिएको थियो ।
सुरुमा सो कार्यलाई प्रहरी र ट्राफिक प्रहरीले समेत अति कडाइका साथ लागु गरेका कारण पक्की सडकहरू भत्किएका थिएनन् ।
तर, पछिल्लो समय ओभर लोडबाट नै ट्राफिक प्रहरीले कमिसन खान थालेपछि सडक भत्कने क्रम बढ्दो छ ।
ओभरलोडको कमिशनबाट परवानीपुरस्थित ट्राफिक प्रहरी बिटका प्रमुखले असुल्ने रकम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडासहित प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासम्म समेत पुग्ने गरेको श्रोतले बताएको छ ।
ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायतसँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।
सडक क्षमता भन्दा बढी ओभर लोड भएका सवारी साधनलाई नेपाल प्रहरीले रोक्ने र ट्राफिक प्रहरीले जरिवाना गर्ने सहमति भएकोमा पछिल्लो समय यस्ता ओभरलोड भएका सवारी साधनलाई कारवाही नगरी कमिसन लिएर छोड्ने गरिएको छ ।
सो क्षेत्रबाट सेटिंग गरेपछि हिँड्ने गाडी चेक पोस्टमा पुग्दा ड्राईभरले “फलानो साहूको गाडी हो” भनेपछि ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग नगर्ने गाडीवाललाई कारवाही गर्ने गरिएको जोकोहिले देख्न सक्छन् ।
प्रतिगाडी एक हजार देखि दुई हजार सम्मका दरले ओभर लोडिङको रकम उठाउने कार्य ट्राफिक प्रहरी कार्यालय परवानीपुरले गर्ने र त्यसको भाग जिल्ला ट्राफिक प्रहरी प्रमुख देखि प्रदेश ट्राफिक कार्यालयसम्म पुग्ने गरेकै कारण ट्राफिक प्रहरीको असुली धन्दा फस्टाएको बताइन्छ ।
आइसीपी, ड्राईपोर्ट हुँदै परवानीपुर भएर १०, १२ र १६ चक्के ओभरलोडका ठूला मालबाहक गाडीहरू निस्कने गर्दछन् । झण्डै कम्तिमा दैनिक १०० देखि १५० वटा गाडीहरू सो क्षेत्र भइ गन्तव्य तर्फ जाने गरेका छन् ।
पर्सा ट्राफिकमा लामो समयदेखि लेखापालको रुपमा कार्यरत रहेका प्रहरी नायब निरीक्षक बुद्ध खडकाको सरुवा भइसक्दा पनि रवाना लिएर नगई यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र परीक्षा देखि जिल्ला ट्राफिक प्रहरी मातहतमा खटन पटनमा समेत चलखेल र अवैध असुली गर्ने गरेको स्रोतको दाबी छ । प्रनानि खड्का आफू सिआइबीमा बसेर आएको धाक लगाउँदै अन्य दर्जाका ट्राफिक प्रहरीहरूमाथि हैकम चलाउने गरेको समेत चर्चा छ । यातायात व्यवस्था कार्यालयबाट जारी हुने सवारी चालक अनुमति पत्रको परीक्षामा रकमी लेनदेनको आधारमा पास/फेल गराउन सक्रिय भूमिका निर्वाह गर्ने र लेखापालको समेत भूमिकामा रहेका प्रनानि खड्का दुई वर्ष भन्दा बढी समयदेखि पर्सामा बसेको बताइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाको आगमनदेखि नै यस्तो गतिविधि दिन दुई गुणा रात चौगुणाको रफ्तारमा फस्टाउँदै गएपनि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले कुनै चासो नदेखाउनु आफैंमा आश्चर्यको विषय बनेको छ ।
ट्राफिक व्यवस्थापनको नाममा पर्सा ट्राफिकले रोडमा हुल जम्मा गरेर गाउँ घरबाट आउने विरामी बोकेको दुई पाँग्रे सवारी, साना किसानलगायतको सवारी साधनलाई रोकेर अनेक दु:ख दिने तर ओभर लोड, अव्यवस्थित पार्किङ, यातायात कार्यालयको ट्रायल सेन्टर, वीरगंज रजत जयंती चोक, शंकराचार्य गेट, गण्डक, मिना बजार, ट्रान्सपोर्ट एरियामा हुने ट्राफिक व्यवस्थापनमा ध्यान नदिंदा सर्वसाधारण नागरिकहरू सडक दुर्घटनामा परेर अकाल मृत्युको शिकार भैरहका छन् ।