१४ साउन, काठमाडौं । ललित स्मृति एन्फा यू १८ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबले सोमबार खुमलटार एफसीलाई ३-१ ले पराजित गरेको छ । यस जितपछि मनाङ अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले एक गोलले पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेको थियो । शंकर नेपालीले खेलको सातौं मिनेटमै गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर उसले सुरुवाती अग्रता जोगाउन सकेन । मनाङका सागर मगरले १३औं मिनेटमै बराबरी गोल फर्काए ।
दोस्रो हाफमा मनाङले तीन मिनेट अन्तरमा दुई गोल थप्दै जित पक्का गरेको थियो । मनाङका लागि ७३औं मिनेटमा निशानराज लावत र ७६औं मिनेटमा विशाल चन्दले गोल गरे ।
जितपछि ५ खेलबाट १२ अंक जोड्दै मनाङ शीर्ष स्थानमा उक्लेको छ । मनाङले पाँच खेल खेल्दा यो चौथो जित हो । एक खेलमा भने मनाङ पराजित भएको थियो । खुमलटारको यो चौथो हार हो र ५ खेलबाट जम्मा ३ अंक मात्र छ ।
सोमबारै भएको पहिलो खेलमा त्रिभुवन आर्मी एफसीले थ्री स्टार क्लबलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समै भएको खेलमा आर्मीले पनि एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको तेस्रो मिनेटमै रोमन श्रेष्ठले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा दुई गोल गर्दै आर्मी खेलमा फर्किएको थियो ।
इन्जुरी टाइमको तेस्रो मिनेटमा दक्ष लामाले आर्मीका लागि बराबरी गोल फर्काए । इन्जुरी टाइमकै पाँचौ मिनेटमा दक्षले नै व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले खेलमा २-१ को अग्रता बनायो । आर्मीका लागि अर्को गोल ७२औं मिनेटमा अनुभव पुरीले गरे ।
पहिलो जितपछि आर्मीले ५ खेलबाट ४ अंक जोडेको छ । तेस्रो हार बेहोरेको थ्री स्टारको पनि ५ खेलबाट ४ अंक मात्र छ ।