रिया भण्डारी/
काठमाडौ/रोटरी क्लब अफ स्वयम्भुले टोखा नगरपालिकाको भुतखेलमा वृक्षारोपण गरेको छ ।
क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत एक हजार रुख रोप्ने अभियान स्वरुप वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण रहेकाले वृक्षरोपण कार्यक्रम सँगसँगै यसको सरक्षण तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो । रोटरी क्लब अफ स्वम्भुलाई आफ्ना प्रोजेक्टहरु सफलतापूर्वक अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग र सहकार्य रहेको प्रतिबद्वता पनि जनाउनु भयो।
वृक्षारोपण प्रोजेक्ट अन्तर्गत भुत्खेलको चौर ,टोखा चण्डेश्वरी अस्पतालको परिसरमा फलफुलको बिरुवा, अशोका, धुपी, निम लगायत बिभिन्न जातका बिरुवा रोपिएको छ। बिशेषगरी ठुला रुख हुने खालका १ हजार वृक्षारोपण गर्ने लक्ष्यका साथ वृक्षारोपण कार्यक्रम शुरु गरिएको रोटरी क्लब अफ स्वयम्भुका अध्यक्ष बिष्णु पोख्रेलले जानकारी दिनुभयो।
सफा र हरियाली शहर बनाउने उदेश्यका साथ वातावरण संरक्षणका लागि समेत वृक्षारोपणको महत्व रहेकोले क्लबले बृक्षारोपण कार्यक्रम गरेको अध्यक्ष पोख्रेलको भनाइ छ।
विरुवा हुर्कने अनुकूल समय पारेर क्लबले वृक्षारोपण कार्यक्रम गरेको छ, बेलाबेलामा आएर बिरुवाको सरक्षण तर्फ पनि ध्यान दिने क्लबले जनाएको छ। सो कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुसहित समाज उत्थान महिला मंच नेपालका महिलाहरु स्थानिय सरकारका प्रतिनिधीहरु लगायतको उत्साहजनक उपस्थिति रहेको थियो।