काठमाडौं । पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा लड्दा हलिउड अभिनेता जोनी डेपको सन् २०२२ नराम्रोसँग प्रभावित बन्यो । अदालतको समर्थन र सार्वजनिक समर्थन दुवै जित्दा संसारको ध्यान उनीतिर खिचियो ।
त्यो घटनापछि अभिनेता डेप बेलायतमा चर्चाभन्दा टाढाको जीवन बाँचिरहेका छन् । यतिबेला उनको डेटिङ लाइफलाई लिएर नयाँ कुरा छ । उनी २८ वर्षीया रुसी मोडल तथा ब्युटिसियन युलिया भ्लासोवासँग ‘क्याजुअल रिलेसनसिप’मा छन् ।
डेलीमेलले यी दुईबीच प्रेम सम्बन्ध रहेको समाचार लेखेको छ । भ्लासोवालाई हालै अभिनेतासँग हात समातेर सार्वजनिक स्थानमा हिंडेको देखिएको उल्लेख छ ।
डेप निकट स्रोतका अनुसार उनीहरु दुई वर्षदेखि निकट छन् र एकअर्काको ख्याल पनि गर्दैछन् । पछिल्लो बिहीबार यी दुईजना लण्डनको हेलिपोर्टमा सँगै देखिएको जनाइएको छ ।
भ्लासोवाले चेक गणतन्त्रको राजधानी प्रागमा मेकअप र हेयरस्टाइलिङको स्टुडियो चलाउँछिन् । जहाँ उनले पहिलोपटक सन् २०२१ मा ५५ औ कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अभिनेता डेपलाई भेटेकी थिइन् ।