२८ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको भीडमा नबिल बैंकले आफूलाई भिन्नै मार्काको साबित गरेको छ ।
स्थापनाको चार दशक पूरा गरेको नबिल बैंकले यो अवधिमा थुप्रै उतारचढाव र संघर्षका अविरल यात्रा तय गरेको छ ।
मुलुकमा अहिले १ सय १० बैंक तथा वित्तीय संस्था छन् । तिनमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक छ । बैंक तथा वित्तीय संस्थाका शाखा संख्या नै ११ हजार ५ सय ६६ पुगेको छ ।
यीमध्ये सन् १९८४ जुलाई १२ मा स्थापना भएको एक प्रमुख वाणिज्य बैंक नबिलको पहिचान भिन्नै छ । नबिल स्थापना हुँदा नेपालमा निजी क्षेत्रबाट कुनै पनि बैंक सञ्चालन भएको थिएन । तीनवटा सरकारी बैंक मात्रै थिए ।
‘तीन सरकारी बैंकपछि हामी चौथो बैंकका रूपमा आएका थियौं,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना भन्छन्, ‘निजी क्षेत्रबाट काम गर्दा नबिलले नेपालमा बैंकको परिभाषा नै बदलेको महसुस आमनेपालीले गरेका थिए ।’
नबिल स्थापनाका बेला साहु–महाजनबाट मात्रै पैसा लिएर आफ्नो खर्च धान्ने गरिन्थ्यो । धेरै बुझेका, पढे लेखेकाले पनि त्यही गर्थे । ‘अहिले पनि त्यो काम नभएको होइन, तर नगण्य मात्रामा छ,’ ढुंगाना भन्छन्, ‘त्यो समयमा एकातर्फ सामान्य मानिस बैंकमा छिर्न नै डराउँथे । अर्कातर्फ, बैंक तथा वित्तीय संस्थाबाट पैसा लिँदा विश्वासको वातावरण नै थिएन ।’
नबिल सोही सामाजिक परिस्थिति बदल्ने हेतुले स्थापना भएको थियो । सोही अनुसार सुरुमै यसले जनसाधारणसँग जोडिने काम गरेको थियो ।
सुरुमा नबिल अरब बैंकको नाममा स्थापना भएको र विदेशी लगानीसँग सहकार्य भएको हुनाले विदेशका अनुभवी र दक्ष व्यक्ति काम गर्थे ।
सीईओ ढुंगानाका अनुसार उनीहरूकै विज्ञता हेरेर नेपालको बैंकिङ क्षेत्रलाई नयाँ ढाँचा दिन नबिलको ठूलो योगदान छ । नबिलले त्यस समयदेखि नै डेटाहरू कम्प्युटर प्रणालीबाट ‘इन्ट्री’ गर्थ्यो।
‘कर्पोरेट ट्याग’ देखि ४१ वर्षको यात्रा
त्यसरी काम सुरु गरेको तत्कालीन अवस्थाको अरब बैंक तथा अहिलेको नबिल बैंकलाई सुरुदेखि नै कर्पोरेट क्षेत्र केन्द्रित बैंक भनिन्थ्यो ।
यस्तो ‘ट्याग’ लाग्नुको कारण थियो– बैंक भनेको सरकारी नै हुन्छ भन्ने थियो । तर, नबिलले कारोबार सुरु गर्दा धेरैलाई निजी क्षेत्रको काम गर्ने शैली नै फरक हुन्छ भन्ने महसुस गरायो ।
बैंकिङ अवस्था नियाल्दै पछिल्लो पाँच वर्षे रणनीतिक योजना तयार गर्दा नबिलले केही योजना त्यहीअनुसार तय गरेको थियो । जुन रणनीति सन् २०२५ सम्मलाई थियो ।
निश्चित क्षेत्र, वर्ग, भूगोल र निश्चित योजनाकारलाई मात्रै बैंक होइन भन्ने उद्देश्यसाथ नबिलले योजना तय गरेको हो । आफ्नो रणनीतिमा नेटवर्क बढाउने, व्यवसायको आकार बढाउने र क्षेत्र विविधीकरण गर्ने रणनीति छ । बैंकले मुख्य क्षेत्रमा कर्पोरेट रोजेको छ ।
त्यसैगरी घरेलु, साना तथा मझौला उद्योग र खुद्रा व्यापार हुँदै ग्रेनुलर (दानेदार) व्यापारमा पनि अघि बढिरहेको छ ।
ग्राहक नै प्राथमिकता, प्रविधिमैत्री बैंकिङ सेवा
नबिल अघि बढिरहँदा सुरुदेखि अहिलेसम्म मुख्य प्राथमिकता ग्राहक सेवा बनाउँदै आएको छ । दुई÷तीन घण्टा बस्दा पनि पालो नआउने टोकन सिस्टमभन्दा टेलर सिस्टममा नबिलले सुरुदेखि नै गरेको काम हो ।
स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकबाहेक नबिल बैंकको अहिले पनि आधार ब्याजदर कम रहेको नबिलको भनाइ छ । त्यस्तै डिजिटल बैंकिङमा पनि नबिल धेरै अघि बढेको छ । यसले बैंकको लगात कम भएको छ ।
नबिलले पछिल्लो समय सूचना प्रविधि (आईटी) क्षेत्रमा निकै ठूलो लगानी गरेको छ । बिजनेस इन्टिलिजेन्सदेखि (बीआई) देखि आर्टिफिसियल इन्टिलिजेन्स (एआई) सम्मको काम भएको छ । यस्तो प्रविधिले ऋण कसलाई कति दिन सकिन्छ भनी विगतका कारोबार मूल्यांकन गरेर छलफल गर्न सकिने बैैंकको भनाइ छ ।
बैंकका अनुसार कार्ड सक्रिय गर्न बैंक आउनुपर्दैन, घरबाटै हुन्छ । विदेशमा रहेका नेपालीलाई उतैबाट खाता खोल्ने र उनीहरूकै मोबाइल नम्बरमा एसएमएस जाने व्यवस्था छ ।
लगानी गर्नेलाई आम्दानी, शतप्रतिशतसम्म प्रतिफल
चुक्ता पूँजी २७ अर्बभन्दा बढी रहेको नबिलले युनाइटेड फाइनान्स र एनबी बैंक खरिद गरेको थियो । नबिलमा लगानी गर्नेले राम्रो प्रतिफल पाएका छन् । सुरुमा १ रुपैयाँ लगानी गर्नेले १० हजार बनाइसकेका छन् ।
‘अझ त्योभन्दा बढी होला, कमको त कुरै भएन,’ सीईओ ढुंगाना थप्छन्, ‘यो बैंकले कुनै समय शतप्रतिशतसम्म पनि लाभांश वितरण गरेको छ । त्यस्तै लामो समय लगानीकर्तालाई प्रतिफल दिनेमा समेत हामी अगाडि छौं ।’
हजारौं रोजगारी
बैंकले हालसम्म ५ खर्ब रुपैयाँ निक्षेप संकलन र ४ खर्ब रुपैयाँ हाराहारी कर्जा परिचालन गरेको छ । न्यूनतम २÷४ लाखको कर्जादेखि ९ सय मेगावाट अरुण तेस्रोदेखि तामाकोसी जलविद्युत् आयोजना जस्ता ठूला आयोजनामा पनि लगानी गरेको छ । नबिलले हाल ४ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
उत्तरदायी बैंकिङ
नबिलले पछिल्लो समय जलवायु परिवर्तनको विषयलाई आत्मसात गरिरहेको छ । उसले मुख्य लगानीलाई दिगो विकास र वातावरणसँग जोड्न थालेको छ ।
त्यसैगरी ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप कार्यक्रम’ पनि सञ्चालन गरिरहेको छ । फाट्टफुट्ट पैसा बाँडेर खर्च गर्नुभन्दा समाजलाई पछिसम्म योगदान हुने क्षेत्रमा खर्च गरौं भन्ने अवधारणासहित यो योजनामा खर्च बढाइएको बैंकले जनाएको छ ।