Monday, January 13, 2025
घरसमाचारअब ओलम्पियन मनिता

अब ओलम्पियन मनिता

२६ असार, काठमाडौं । जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेल्नु नै थियो । अझ भन्दा ढिला भइसकेको थियो ।

उनको लक्ष्य चार वर्षअघि सन् २०२० कै ओलम्पिक खेल्ने थियो, सन् २०१६ को ओलम्पिकपछि एकपछि अर्को राम्रो प्रदर्शनका कारण जुडो संघबाट महिलाको कोटाका लागि सिफारिस पाउने खेलाडीमध्ये उनको नाम अग्रस्थानमा थियो । तर अंक ल्याउने खेलमा हार्न पुगिन्, अनि २०२० को ओलम्पिकमा जुडोबाट सोनिया भट्टले खेलिन् ।

२०२२ मा छात्रवृत्ति पाएकाले ओलम्पिक खेल्ने अवसर कुनै हालतमा गुमाउनु हुन्न भन्ने लागेको थियो ।

२ जेठमा छनोट चरण पार गर्दै टेबल टेनिसका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिकमा स्थान बनाए । त्यसपछि वाइल्ड कार्डबाट ओलम्पिकमा स्थान बनाउने नेपालका एकपछि अर्को खेलाडीको नाम आयो । तर मनिताको नाम आएन ।

नेपाल ओलम्पिक कमिटीले भनेको २० जुन आसपास कटिसक्दा पनि कुनै खबर नआएपछि छपछटी भयो । आफ्नो अंक हेरिन्, वाइल्ड कार्डमा नाम आउनेहरुको अंकसँग तुलना गरिन् । आफ्नो अंक (२०८) आसपासकै अंक देख्दा आश लाग्यो, तर खबर नआएकाले ओलम्पिक सपना अधुरै रहने त होइन भन्ने चिन्ता थियो ।

२६ जुन (१२ असार) मा ओलम्पिक कमिटीबाट फोन आयो । ‘सरले तिमी ओलम्पिक खेल्ने भयौ भन्नुभयो । मलाई चाहिँ विश्वास नलागेर नजिस्किनु मसँग भनें सुरुमा त !’, मनिताले त्यो क्षण सम्झिइन्, ‘एक्कासी थाहा पाउँदा सक्ड (अचम्मित) भएँ ।’

सिनियर र जुनियर गरी हालसम्म पाँच पटक वल्र्ड च्याम्पियनसिप खेलिसकेकी मनिताले ओलम्पिकमा ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्छिन् । कन्टिनेन्टल कोटामा ओलम्पिकमा छनोट भएकी उनको लक्ष्य जुडोबाट सुखद नतिजा दिने छ ।

‘गुरुहरुको पालामा सेवा सुविधा कम हुन्थ्यो । त्यसका बाबजुद त्यहाँसम्म पुग्नुभयो भने म अझ माथि पुग्नुपर्छ भन्ने छ’, मनिता केही आत्मविश्वासी सुनिइन् ।

पाममा अंकुराएको सपना

मनितालाई खुट्टा समाउँदै जुडोको प्रशिक्षण दिने गुरु हुन् सूर्यनारायण श्रेष्ठ । सन् १९८८ को साउथ एसियन च्याम्पियनसिप, १९९० को ११ औं एसियन गेम्स र फ्रान्समा भएको वल्र्ड च्याम्पियनसिपसम्म पुगेका सूर्यनारायणले ओलम्पिक खेल्न पाएनन् ।

पछि सूर्यनारायण बन्दी सहायता नियोग (पाम) मा स्वयंसेवक प्रशिक्षकका रुपमा जोडिए । पाममा उनले जुडोको कखरा काटा, काके मात्र सिकाएनन्, धेरैको मष्तिश्कमा ओलम्पिक सपना बिजारोपण गरिदिए ।

मनितालाई पनि उनैले ओलम्पिकसम्म पुग्ने सपना देखाएका हुन् । पहिलो पटक सन् २००९ मा पाममा पुगेकी मनिता सम्झन्छिन्, ‘ओलम्पिक भन्ने थाहा थिएन । सूर्यनारायण गुरुले ओलम्पिक खेल्नुपर्छ । मैले खेल्न सकिनँ, तिमीले खेल्नुपर्छ भन्नुहुन्थ्यो ।’

सन् २०११ बाट उनले राष्ट्रिय स्तरमा खेल्न थालिन् । त्यसक्रममा काठमाडौंमै भएको जुडो फर पिस साउथ एसियन क्याडेट (१५ देखि १८ वर्षसम्मका खेलाडीले भाग लिने) जुडो च्याम्पियनसिप उनको करिअरको कोशेढुंगा बन्यो । त्यही प्रतियोगिताबाट उनी धेरैको नजरमा परिन्, अनि एक पछि अर्को अन्तर्राष्ट्रिय अवसर पाउन थालिन् ।

अर्को वर्ष हङकङमा एसियन क्याडेट जुडो च्याम्पियनसिपमा भाग लिने अवसर पाइन् । २०१४ मा हङकङमा भएको एसियन आठौं क्याडेट तथा १५ औं जुनियर च्याम्पियनसिपको सहभागिताले उनलाई थप अनुभव भयो । २०१६ मा भारतको सिलोङमा भएको १२ औं साउथ एसियन गेम्समा त मनिताले रजत पदक जितिन् ।

२०१७ मा हङकङमा भएको एसियन जुडो च्याम्पियनसिपमा उनले आफ्ना तौल समूहमा रेकर्ड नै राखिन् । एसियन च्याम्पियनसिपमा नेपाली महिला खेलाडीले एसियन च्याम्पियनसिपमा बाउट जित्न सकेका थिएनन् ।

मनिताले हङकङलाई हराउँदै ५० अंक बटुलेकी थिइन्, जुन आफैंमा महत्वपूर्ण सफलता थियो । त्यही वर्ष उनले किर्गिस्तानमा ११औं एसियन क्याडेट च्याम्पियनसिप खेलेकी थिइन्, जसमा जुनियर तर्फको टिम इभेन्टमा किर्गिस्तान, उज्वेकिस्तान र भारतका खेलाडीलाई पराजित गर्दै कास्य पदक जितिन् ।

एकपछि अर्को सलफता हात पारेकी उनले २०२० को ओलम्पिकका लागि महिला कोटामा सिफारिस पाउने सम्भावना थियो । तर २०१८ मा इन्डोनेसियामा भएको १९औं एसियन गेम्सका क्रममा चोट व्यहोरिन् । मिक्स टिम फाइटमा आफूभन्दा १३ केजी बढी तौल भएकी भारतीय खेलाडीलाई पराजित गरेकी उनले सिंगलतर्फ खेलका क्रममा एङ्कटमा चोट व्यहोरिन् ।

चोट निको भएपछि मनिताले २०१९ मा मोरक्कोमा भएको जुनियर वल्र्ड जुडो च्याम्पियनसिपमा खेल्न पाइन् । ५७ केजी तौलमुनिको समूहमा मनिताको प्रतिस्पर्धा ब्राजिलकी आन्द्राडे भिटोरियासँग पर्‍यो । ओलम्पिक छात्रवृत्ति पाएका भिटोरियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेपनि नजिता मनिताको पक्षमा आएन ।

५७ केजी मुनिको तौल समूहमा खेलेकी सोनियाको भेछ मोजाम्बिकी खेलाडी मुनेमे र जेन्नीसँग भयो । नयाँ खेलाडी जेन्नीलाई प्रथम बाउटमा हराउँदै सोनिया ओलम्पिकमा छनोट भइन् । ‘मैले अंक ल्याउनुपर्ने खेल हार्न पुगें । त्यसमा मेरो नम्बर आएन’ चार वर्ष अगाडि नै नजिक आइपुगेको ओलम्पिक गुमाउनुको पीडा उनले सुनाइन् ।

२०२२ मा हङकङमा भएको ग्रान्डस्लममा राम्रो प्रदर्शन गरेकी उनले २ वर्षका लागि ओलम्पिकको छात्रवृत्ति पाइन् । त्यसपछि थप अन्तर्राष्ट्रिय एक्सपोजर पाएकी उनले यही वर्ष हङकङमै भएको एसियन जुडो च्याम्पियनसिपमा भाग लिइन् । एसियाली ३६ देशका २७३ खेलाडीको सहभागिता यो प्रतियोगिता च्याम्पियनसिप आइजेएफ वल्र्ड टुर र २०२४ को पेरिस ओलम्पिकको छनोट प्रतियोगितासमेत थियो ।

भारतीय खेलाडीलाई पराजित गरेकी मनिता कोरियन खेलाडीसँग भने पराजित भएकी थिइन् । समग्रमा उनको प्रदर्शन राम्रो भएकाले यो पटक भने ओलम्पिकको ढोका खुल्यो ।

ओलम्पियन गुरुसँग प्रशिक्षण

ओलम्पिक सपना पूरा हुनुमा पाम, पुलिस क्लब, अनि राष्ट्रिय टिमका प्रशिक्षकको ठूलो भूमिका रहेको उनी बताउँछिन् । भन्छिन्, ‘मेरो खुट्टा समातेर जुडो सिकाउने गुरु, अरु गुरुहरु सबैको साथ सहयोगले ओलम्पिक सपना पूरा गर्न लागेको छु ।’

केही दिनपछि उनी ओलम्पिक खेल्ने छैटौं नेपाली जुडो खेलाडी हुने छिन् । सन् १९८८ मा गंगाराम डंगोल र ऋषिराम प्रधानले सोल ओलम्पिक खेलेका थिए । देबु थापाले २००८ मा बेइजिङ, फुपु ल्हामु खत्रीले २०१६ को रियो ओलम्पिक र सोनिया भट्टले २०२० मा टोकियो ओलम्पिक खेले । अब पालो फ्रान्समा मनिताको छ ।

ओलम्पिकलाई १५ वर्ष लामो खेल जीवनमा हासिल गरेको ज्ञान र अनुभव देखाउने अवसरका रुपमा लिएकी छन् । ‘ओलम्पिकको म्याटमा खेलेको कल्पना गर्दा मात्र पनि अरु प्रतियोगितामा भन्दा राम्रो गर्छु भन्ने लाग्छ’, मनिताले भनिन् ।

देबु थापा

ओलम्पिकको तयारीका क्रममा नेपालमै बसेर प्रशिक्षक देबु थापासँग प्रशिक्षण गरिरहेकी छिन् ।

देबु आफैं ओलम्पियन हुन् । उनले २००८ मा चीनमा भएको ओलम्पिक खेलेकी थिइन् । आफ्नो प्रशिक्षक ओलम्पियन देबु भन्दा छुट्टै जोस आउने मनिता सुनाउँछिन् । उनले अगाडि भनिन्, ‘ओलम्पियन देबु भन्ने सुनेको थिएँ । अब मेरो नाम पनि ओलम्पियन मनिता भनेको सुन्दा अर्कै अनुभव हुन्छ होला ।’

२०१६ मा फुपु ल्हामुखत्रीले ओलम्पिक खेल्दा प्रशिक्षकको भूमिका निर्वाह गरेकी देबु पनि मनिताको ओलम्पिक सहभागितालाई लिएर उत्साहित छिन् ।

‘ओलम्पिक खेल्ने खेलाडीको सूचिमा उनको नाम आउँदा मेरो खुसीको सीमा नै रहेन’, देबुले भनिन्, ‘मेरो विद्यार्थीले गुरुलाई निराश बनाउँदैन जस्तो लाग्छ ।’

प्रशिक्षक थापाका अनुसार मनिताले आफ्ना कमजोरीमा निकै सुधार गरेकी छन् । त्यसैले ओलम्पिकमा पनि जुनियर स्तरमा जस्तै राम्रो नतिजा ल्याउने अपेक्षा गरेको सुनाइन् ।

‘फाइटका दौरान रोटेसनमा समस्या भइरहेको थियो । पछिल्लो २ महिनामा धेरै सुधार भएको छ’, उनले भनिन्, ‘उनको डिफेन्स राम्रो छ । टेक्निकल पार्टहरु राम्रो छ । प्राविधिक पक्षमा राम्रो भएकाले मनिताले राम्रै नतिजा दिन्छ भन्ने आश छ ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

टुर्नामेन्ट

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -